Edukhabar
विहीबार, १५ चैत्र २०८०
विचार / विमर्श

बदलिंदो बाटो

बुधबार, ११ असार २०७१

- अनमोलमणि पौडेल

एसएलसी पास हुन् वा फेल, प्लस टु भर्नाको तयारी गरिरहेका हुन् वा मौका परीक्षाको प्रतीक्षा, उनीहरुको दैनिकी अब एकाएक बदलिने छ । १५/१६ वर्षे किशोर उमेरका झण्डै पौने ६ लाखको हुलले देशका भिन्न पाटाहरुमा एकसाथ आफ्नो उपस्थिति फरक तरिकाले दर्शाउने छन् । यो उमेर समूह भविष्यको एउटा फरक पुस्ता भएर निस्कने छ ।

अहिलेसम्म त्यस्तो केही थिएन । एका विहानै उठ्थे वा परिवारले कर गरेर उठाउँथ्यो । पाकेको खान्थे । हतार हतार ड्रेस लाउँथे । कापी किताबले भरिएको एउटा पुन्टे झोला बोक्थे र हस्यांगफस्यांग गर्दै स्कुल जान्थे । विहान ९/१० बजेदेखि अपरान्ह ४/५ बजेसम्म उनीहरुको दैनिकी यसैगरी चल्थ्यो । घर आउँथे । फेरि पाकेको खान्थे । होम वर्क गर्थे । परिवारलाई दंग्याउँथे । मस्ताराम निदाउँथे । बस् यसैगरी दिन चल्थ्यो । उद्देश्य एउटै थियो पढ्ने, पढ्ने र फेरि पढ्ने । परिवार भन्थ्यो एसएलसी पास गर ।

आफ्टर एसएलसी यसरी चल्ने वाला छैन । दश वर्षसम्मको एउटा नियमित अभ्यासबाट उनीहरुले नयाँ अभ्यास थाल्नु पर्नेछ । पढ्ने कक्षामा नयाँ साथीसंगी हुनेछन् । विद्यालय तहमा भन्दा केही भिन्न विषय समूहको अध्ययन हुनेछ । पाइलै पिच्छे नयाँ अवसर, नयाँ परिवेश, नयाँ सम्भावना र चुनौतिहरुको सामना गर्नु पर्नेछ । विद्यालयमा जस्तो नम्बरसित जोडेरमात्रै सिकाइ हुनेछैन, सिकाइको नयाँ पाटो सुरु हुनेछ, जीवन बोधको सिकाइ । जिम्मेवारीको सिकाइ ।
त्यसैले पास हुनेले हौसिएर बुरुक्क हुनु पर्र्नेे वा फेल हुनेले संसारनै अध्यारो भयो भनेर हुरुक्क हुदैँ विरक्तिनु पर्र्ने केही छैन । फरक क्षेत्रमा अवसर, सम्भावना र चुनौति दुवैका लागि समान हिसबाले आउने छन् ।

समाजशास्त्रीहरु भन्छन् व्यक्तिको सर्कल सानोबाट ठूलो हुदै जान्छ । प्ले ग्रेुप नर्सरीको सर्कल कक्षा १० पुग्दा फराकिलो हुन्छ । त्यहाँ फरक परिवारबाट आएका फरक फरक गुण भएका साथीभाइ भेटिन्छ । सामाजिकीकरणको एउटा परवेश त्यहींबाट सुरु हुन्छ । प्लस टु पुग्दा त्यहाँ फरक परिवारका त आउछन् नै फरक फरक स्कुलका विद्यार्थी साथी भेट हुन्छन् । यसले परिवारमात्रै होइन कस्तो अनुशासन र सिकाइबाट आएको हो पनि देखाउछ । प्लस टु सकेपछि उच्च शिक्षा पढ्दा फरक प्लस टुका विद्यार्थी भेट हुन्छन् । र जागिरे जीवनमा प्रवेश गर्दा फरक फरक कलेजका विद्यार्थी भेट हुन्छन् । यसले व्यक्तिको सर्कललाई ठूलो र झन् ठूलो बनाउँछ । अनि व्यक्ति मिश्रित समाजमा उभिन्छ । त्यसकारण पनि एसएलसीपछि व्यक्तिको दैनिकी फरक पर्दै जान्छ । स्कुल भन्दा कति फरक फरक !

एसएलसीपछि आफ्नो केयर आफैले धेरै गर्नु पर्छ । स्कुल तहमा अभिाभावक र शिक्षकले धेरै केयर गरेका हुन्छन् । किताबी ज्ञानकै कुरा गर्ने हो भने पनि सिक्नु र जान्नु पर्ने कुरा पनि प्लस टु पछि धेरै हुन्छ । स्कुलमा त्यो बोझ हुँदैन । पढ्ने काम मात्रै हुन्छ । प्लस टु पुगेपछि जिम्मेवारी थपिन्छ । एसएलसी पास हुन् वा फेल धेरैलाई लाग्दो हो अब फुक्का फाल भइयो । जिन्दगी विन्दास सित चल्छ । होइन अब धेरै जिम्मेवारीहरु सहित झन् व्यस्त भइने छ । धेरै पढ्ने र सोच्ने गर्नु पर्नेछ ।

अध्ययनमै पनि स्कुलमा भन्दा ११ मा धेरै मेहेनत गर्नु पर्छ । एसएलसी पछि सिक्नु पर्ने कुरा धेरै छ । स्कुल रहुन्जेल सबैले केटाकेटीनै ठान्छन् । गल्ती गर्दा पनि माफी पाइन्छ । आफ्टर एसएलुसी सबैले परिपक्व हुदैं गएको ठान्छन् । गल्तीमा पनि माफी हुदैंन । आफूमा पनि म्याच्युरिटी आएको फिल हुदैं जानेछ ।

एसएलसी पछि नागरिकता बन्छ । नेपालको कानुनले १६ वर्ष पुगेपछि दिने नागरिकता कागजको चिरकट्टोमात्रै होइन । नागरिकतामात्रै व्यक्तिको यस्तो प्रमाण हो जसले उसलाई कहाँको भनेरमात्रै चिनाउँदैन परिपक्वको जिम्मेवारी पनि देखाउँछ । सम्पती जोड्ने अधिकार दिन्छ । व्यवसाय गर्न र जागिर खान योग्य ठहरिन्छ । बालकबाट ऊ बालिग हुन्छ र भोट हालेर आफूलाई मन परेको दल, नेतालाई देशको नेतृत्वमा पुर्याउने हैसियतको बन्छ । जब व्यक्ति बालिग बन्छ उसले गर्ने गल्तीहरु कानुनी दायराभित्र समेटिन्छन् र आफ्टर एसएलसी हुने गल्ती माफी भन्दा पनि सजायँको पाटोबाट धेरै हेरिन्छ ।

व्यक्तिको विचार पनि विस्तारै बदलिन्छ । सामाजिकरणमा घुलमिल हुदै गएपछि व्यक्तिको विचार बदलिनु स्वभाविक हो । मनोविज्ञहरुको भनाइमा १५/१६ वर्ष पछिको उमेर कलर फुल उमेर हो । लाउने, खाने, हिंड्ने, विपरित लिंगीप्रतिको आकर्षण बढ्ने, मनोरञ्जनको लत बस्ने । यो उमेरमा व्यक्तिको विचार बदलिन्छ । भावना बदलिन्छ । सोचको स्पिड तेज गतिमा छिन छिनमा फेरिन्छ । यो संक्रमणकालीन उमेर हो । एकै छिनमा त्यही कुरा ठीक र त्यही कुरा बेठीक लाग्ने । त्यही भएर यो उमेरमा व्यक्तिको बाहिरी (देखाउने) र भित्री (नदेखिने) परिवर्तनहरु तीब्र गतिमा हुन्छन् । यसो भनौ. सफ्टवयर र हार्डवयर दुवै परिवर्तन भइरहन्छन् ।

हिंड्नु पर्ने जीवनको बाटो अत्यन्त लामो छ । त्यो हिंडाइको अनुभव आफ्टर एसएलसीनै सुरु हुन्छ । अबको समय बेफुर्सदी समय हो ।  समग्रमा पढाइ एउटा माध्यम हो । लाइफ सेट गर्ने माध्यम । सिकाइ कहिल्यै नसकिने प्रकृया हो । व्यक्ति मृत्यु अघिसम्म पनि सिकिरहेको हुन्छ । तर कहिल्यै पूर्ण हुदैन ।

जीवनको यो अवधीमा संघर्ष गरेर उक्लिनु पर्ने पहाड र टेक्नु पर्ने सफलताको शिखर अग्लो न अग्लो छ । जीवनमा गर्नुपर्ने चुनौतिपूर्ण निर्णय अंक गणित वा बिज गणितको हिसाब भन्दा धेरै कठिन खालको हुन्छ । त्यसको सुत्र घोकेर सफलता प्राप्त हुदैन, मिल्दैन । एसएलसी वा प्लस टु वा त्यसभन्दा माथिको औपचारिक शिक्षामा भन्दा अप्ठेरा अहम् प्रश्नहरुको उत्तर जीवनभर हरेक पाइलामा दिइराख्नु पर्छ । एसएलसी पास वा फेल दुवैले त्यसमा सँधै सफल, अब्बल र उत्तीर्ण हुनु छ ।

खुसी र सुखी जीवनका लागि शुभकामना !

प्रतिक्रिया