Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

कविताबाट गणित पढाउने शिक्षक उत्कृष्ट पाँचमा

मंगलबार, १२ मंसिर २०७४

काठमाडौं - इन्ट्याग्रीटी आइडल को चौथो संस्करणका उत्कृष्ट पाँचमा कालिकोटका शिक्षक सबराज बम पनि परेका छन् । पञ्चदेव मावि मान्मका गणित शिक्षक बम फरक तरिकाले विद्यार्थीको सिकाइमा प्रभावकारि विधि अपनाएको आधारमा उक्त प्रतिस्पर्धामा छनौट हुन सफल भएका आयोजक संस्था एकाउन्टबिलिटी ल्याबले जनाएको छ ।  

सानो छँदा गणित विषय भन्ने वित्तिकै आफैंलाई लाग्ने झर्को आफू शिक्षक भएपछि कविता मार्फत् शुरु गरेको पढाइको विधिले विद्यार्थीको उक्त झर्को मेटाउन उनी सफल भएका छन् । उनले शुरु गरेको पढाउने कला  सृजनात्मक हुनुको अलावा उनी आफ्नो जिम्मेवारी प्रति पनि त्यतिकै प्रतिवद्ध भएका आधारमा आइडलका रुपमा छनौट भएको आयोजक संस्थाले जनाएको छ ।  

अनुतिर्ण हुने विद्यार्थी मध्ये आधाभन्दा बढी गणित विषयमा अनुतिर्ण भईरहेको अवस्थामा बमले गणित साहित्य मार्फत् पढाई शुरु गरेका थिए । उनले लेखेका कवितालाई विद्यार्थी लयवद्ध सहित रमाइलो मानेर पढ्न थाले पछि कठिन सूत्रहरु कण्ठ गर्न सजिलो भएको छ ।  

उनले ६१ ओटा कविता राखेर गणित साहित्य नामक किताव प्रकाशित गरेका छन् । उनले लेखेको पुस्तक कालिकोटकै प्राय विद्यालयले प्रयोग गरिरहेका छन् । हाल उनि कविताहरुलाई श्रव्यदृश्य सामाग्रीमा रुपान्तरण गर्ने र अंग्रेजीमा उल्था गर्ने प्रकृयामा छन् ।

नेपाल सरकारका निजामति कर्मचारीले गरेका सृजनात्मक अभ्यास र उनिहरूले अवलम्बन गरेका सकारात्मक आचरणको कदर गर्दै, नयाँ पुस्तालाई पनि त्यसको अनुशरण गर्न पे्ररीत गर्न आईडलको शुरुवात गरिएको आयोजक संस्थाका प्रमुख नारायण अधिकारी बताउँछन् ।

‘इन्ट्याग्रीटी आइडल नेपाल २०१७’ का उत्कृष्ट पाँचमा बम सहित जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, बन विभाग बबरमहलमा सहायक बन अधिकृतको रुपमा कार्यरत सबनम पाठक, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी रहेका छन् ।

जनताप्रति सरकारी कर्मचारीलाई जवाफदेही बनाउने उद्धेश्यले सन् २०१४ देखि इन्ट्याग्रिटि आइडलको शुरुवात गरिएको थियो ।

यस बर्ष १५ जनवरी २०१७  बाट चार महिनाका लागि मनोनयन खुला गरिएको थियो । जस अन्र्तगत देशका ७१ जिल्लाबाट १ हजार २० वटा मनोनयन प्राप्त भएका थिए । देशभरबाट अनलाई, सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आव्हान गरिएको थियो । इन्ट्याग्रिटी आइडलले तय गरेको पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलले उत्कृष्ट पाँचको छनोट गरेको आयोजक संस्थाले जनाएको छ ।  

मनोनयमा परेका मध्ये उत्कृष्ट पाँच जनाको नाम चयन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समिति गठन गरिएको छ । जसमा पूर्व सचिव जिवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह छन् ।

अन्तिम पाँचको छनोट पछि एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रीटी आइडल २०१७ को छनोट गरिने छ । एसएमएस र वेभसाईटबाट भोटिङका लागि उत्कृष्ट पाँचजनालाई बेग्ला बेग्लै भोटिङ कोड निर्धारण गरिएको छ ।

बमका लागि ०३, धितालका लागि ०१, पाठकका लागि ०२, पौडेलका लागि ०४ र तिवारीका लागि ०५ भोटिङ कोड निर्धारण गरिएको छ । भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गएर IIN टाइप गरी स्पेस दिएर आफुलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखि ३४००१ मा पठाउन सकिने आयोजक संस्थाले जनाएको छ ।

त्यसैगरी भोटिङ ईन्टरनेटबाट बाट पनि गर्न सकिने छ त्यसका लागि www.integrityidol.org/countries/nepal/ मा गएर भोट गर्न सकिने छ । भोट गर्ने अवधि मंसिर ११ गते सोमबार देखि सुरु भएको छ जुन मंसिर २४ गते आईतबार राति १२ बजे सम्म खुल्ला रहने छ ।

प्रतिक्रिया