शिक्षकः पढाउने कि सिकाउने ?


शिक्षक के हो ?
 
शिक्षक समाजको बौद्धिक व्यक्ति हो । हरेक समाजको पथ प्रदर्शक हो ।  समाज र राष्ट्र निर्माता हो । बालबालिकालाई उचित शिक्षा दीक्षा दिई अनुशासित, लगनशील र इमान्दार नागरिक बन्न प्रेरित गर्ने व्यक्ति हो । आदर्श र प्रेरणाको स्रोत हो । परिवर्तनको संवाहक हो । स्तरीय सिकाइको सबैभन्दा महत्वपूर्ण औजार हो । संस्कृतमा उल्लेख गरिएको छः
 
‘गुरुःब्रहृमा गुरु विष्णु गुरु देवो महेश्वर । गुरु साक्षात् परंब्रहृम तस्मै श्री गुरुवे नमः ’
 
विभिन्न दर्शनमा शिक्षक अर्थात गुरुको भूमिकाको फरक फरक व्याख्या गरेको पाइन्छ । आदर्शवादमा शिक्षकलाई अध्यात्मिक ज्ञानको संसारसम्म विद्यार्थीलाई पुर्या उन सक्ने ज्ञानी, दार्शनिक र आध्यात्मिक विचारको सम्वाहकको रूपमा लिइन्छ । प्रकृतिवादले शिक्षकलाई सामान्य निरीक्षक र पथप्रदर्शकको रूपमा लिएको छ । यथार्थवादीहरूले शिक्षकलाई नैतिक र बौद्धिक रूपबाट परिपूर्ण एक मानव जसले निर्देशक र सहयोगीको भूमिका खेल्छ भनी व्याख्या गरिएको छ । यसरी नै प्रयोजनवादी जोन डिवेले शिक्षकलाई एक हाकिमको भूमिकामा नभई शिक्षार्थीहरूको सामूहिक क्रियाकलापको टोली नेताको रूपमा प्रष्ट्याएका छन् ।
 
शिक्षकले पढाउने कि सिकाउने ?
 
शिक्षकले पढाउने कि सिकाउने ? विद्यार्थी पढ्न आउछन् कि सिक्न ? शिक्षकले पढाउने होइन सिकाउने हो । विद्यार्थी पढ्न होइन सिक्न आउछन् । जवाफ त सजिलैसँग पाइन्छ तर, यही कुरो हाम्रा विद्यालयका कक्षा कोठासम्म पुर्याउन ज्यादै मुस्किल भइरहेको छ ।
 
जब्बर खालको भ्रम पनि छ हामीसँग । कक्षा कोठाभित्र पुस्तकको लिखत पढाउने मै हुँ नि ! पढाउनुअघि मैले पढेर आएकै हो । सरकारले पढाउनकै लागि भनेर पुस्तक छापेर दिएकै छ । पुस्तकमा भएको पाठ पढाएकै छु । कक्षामा सबै विद्यार्थीलाई एउटै मुखले पढाएकै हो । जो राम्रो पढ्छ ऊ सफल भएको छ । जो पढ्दैन त दोष उसकै हो । १० – ४ बाहेकको समयमा हामीले के गर्यौँ, कहाँ गयौँ, के खायौँ, के लायौँ, के भन्यौँ, कस्तो झोला बोक्यौँ, कुन झन्डा उचाल्यौँ ? यो हाम्रो निजी मामिला हो । जागिर त १० – ४ का लागि न खाएको हो !
 
पढ्ने र पढाउने मामिला नदीका दुई किनारा जत्तिकै भिन्न हुने कुरा बताइरहनु पर्दैन । कक्षा कोठामा काम्दै उभिने र पुस्तकको लिखत वाचन गर्ने तरिका त हाम्रो पढाउने आमशैली नै हो । पुस्तक त सन्दर्भ सामग्री मात्र हो, पुस्तकलाई आधार मानेर सिकाइका ढोका खोल्ने कोसिस कति गरेका छौँ ? योग्यता बनाउन पढ्ने र सिकाउन पढ्ने विषय र तरिका पनि दुई किनारा जत्तिकै मिलन हुन नसक्ने क्षेत्र हुन् । एकै मुखले पढाएको कोही अब्बल हुने, कोही गोबर हुने कुरो गर्न त सकिन्छ, पढाउने कुरो पनि मुखले नै होला तर, सिकाउने नै हो भनेचाहिँ मुखले मात्रै सम्भव हुन्न । पढाउने कि सिकाउने भन्ने भेद यहीँ खुल्छ । सिकाउने कुरोको आयाम पल्टाउने हो भने पाटो निकै चौडा फेला पर्छ । यही सपाट मैदानमा हामी कति खेल्न र रमाउन सक्छौँ त्यति नै शिक्षकको गुण देख्न सकिन्छ । शिक्षकको असल गुण देख्न पाउनु भनको विद्यालय र विद्यार्थीको चम्किलो भविष्य देख्न पाउनु हो ।
 
हामीले सोच्छौं कि विद्यार्थीहरू पुस्तकको पानाका लिखत हुबहु पढ्न र मुखको अर्ती मान्न आएका प्राणी हुन् । तर, कुरो यति सिधा र सरल छैन । बालबालिकासँग नजिकिएर बुझ्ने हो भने विद्यार्थीहरूले किताबको पानाका लिखतभन्दा नौ खण्ड बढी सिक्ने कुरा अरू नै छन् । पढ्ने कुरा पनि अरू नै छन् । किताबका पानाभन्दा बाहिरका सिक्ने कुरा के के होलान् ? शिक्षकले नसिकाइकन सिक्ने र नपढाइकन पढ्ने कुरा कति होलान् ?
 
शिक्षकले विद्यार्थीलाई पाठ्यपुस्तक मात्रै रटाउनु भनेको शिक्षण पेशाप्रतिकै वेइमानी हो । विद्यार्थी प्रति गरेको अपराध हो । पाठ्यपुस्तक शिक्षकहरुका लागि होइन, विद्यार्थीका निम्ति हो । शिक्षकले विद्यार्थीलाई दुनियाँ पढाउनु पर्छ । भौतिक, आध्यात्मिक, राजनीति, सामाजिक मूल्य–मान्यता, नैतिकता, सीप, संस्कार, भूगोल आदिबारे ज्ञान दिन आवश्यक छ ।
 
ज्ञान एउटा पुस्तकमा मात्र अटाउने कुरा होइन । त्यसैले धेरै पुस्तक पढेर धेरै थरिकै ज्ञान दिने गर्नु पर्छ । शिक्षक आफूले पढ्दाको र पास हुँदाको ज्ञान धेरै पुरानो र बोधो भइसकेको हुन्छ, पहिल्यै सिकेका कुराहरु भुलिसकिएको र सम्झे पनि खिया लागिसकेको हुन्छ । सोको अध्यावधिक र ज्ञानलाई समयानुकुल नवीकरण गर्न पनि नियमित पढ्न आवश्यक छ । 
 
तसर्थ शिक्षक विद्यार्थीका लागि एक कुशल सहजकर्ता हो । एक मार्गदशक हो । एक परामर्शदाता हो । एक महत्वपूर्ण श्रोत हो । एक महत्वपूर्ण अभिभावक हो । जीवनको मुख्य आधार हो । बालबालिकाको सिकाइका लागि उपयुक्त वातावरण निर्माण गर्ने कुशल व्यवस्थापक बन्न सक्नुपर्दछ । बालबालिकाको चौतर्फी विकासका लागि उनिहरुको माग र आवश्यकतामा आधारित सिकाइ गराउन सक्नु हाम्रो उपलब्धि हो । शिक्षकबाट बालबालिका, अभिभावक एवम् समाज सबैको यहि अपेक्षा रहन्छ र रहनुपर्दछ । 
 
शिक्षकको प्रवृत्ति र सोंच कस्तो बन्नुपर्दछ ?
 
प्रवृतिगत रुपमा विश्लेषण गर्दा शिक्षक तीन प्रकारका देखिन्छन् । 
 
• हेलमेट शिक्षकः एक समयका अब्बल दर्जाका शिक्षकहरू जो आफ्नो मेहनत र शैक्षिक योग्यताको बलमा स्थापित भएर विभिन्न संस्थामा स्थायित्व प्राप्त गरी एक विद्यालय वा क्याम्पसबाट अर्को विद्यालय वा क्याम्पसस्तरको कक्षासम्म टिपनटापन गर्दै ट्युसन सेन्टरका कक्षासम्म लिन भ्याउने प्रकारका शिक्षक । यस्ता शिक्षकहरु पेशागत विकासभन्दा पनि सेवा सुविधाप्रति बढि जिम्मेवार देखिन्छन् ।
 
• जागिरदार शिक्षकः दश बजे आउने, चार बजे जाने । बच्चाले बुझ्यो बुझेन, बच्चाको के भयो ? कसो भयो ? नतिजा कस्तो भो उसलाई मतलब छैन । बालबालिकाको सिकाइ र सिंगो विद्यालयको शैक्षिक गतिविधिप्रति कुनै प्रकारको जिम्मेवारीपना र उत्तरदायित्व बोध नभएको । उ, दश बजे आउँछ, कक्षा लिन्छ, कक्षा सकिएपछि खुरुक्क जान्छ । त्यो उसको पेशा भयो । यस्ता प्रकारका शिक्षकहरु जागिर प्रति बढी जिम्मेवार बन्ने गर्दछन् ।
 
• पेशागत शिक्षकः पेशागत रुपमा शिक्षक हुँ  भन्ने । कमसेकम आफूले पढाएको बच्चाले बुझ्यो कि बुझेन ? भन्ने कुरा शिक्षकले ख्याल गर्दछ । बालबालिकाको सिकाइप्रति जिम्मेवार र उत्तरदायी बनेको हुन्छ । आफ्नो क्षमताको विकास गर्न चाहन्छ । सूचना र सञ्चार प्रविधिलाई कक्षामा लिएर आफ्नो बच्चालाई युगानुसारको बनाउन चाहन्छ ।
 
समाजमा शिक्षक कसरी जिएको छ । त्यहाँ उसको बारेमा चर्चा हुँदा कस्तो र कसरी गरिन्छ । यसबाट पनि विद्यार्थीले आफ्ना गुरुप्रति धारणा बनाउछन् र सिक्ने गर्दछन् । उ कसरी हिँड्छ, कसरी बोल्छ, कार्यालय भित्र बाहिर कसरी गर्छ, पोसाक कसरी लगाउँछ, लगाइमा पनि जुत्तादेखि टोपीसम्म वा कुर्तादेखि कपाल कोराइसम्म हेर्छन्, सिक्छन् र त्यसैअनुसार पढ्छन् ।
 
अम्मलीका कुरा त झन् बेग्लै हुन्छन् । व्यक्तिगत सफाइप्रति कत्तिको चासो राख्छ, विद्यार्थीहरूमा पनि साना विद्यार्थीहरूप्रति बोली, व्यवहार कस्तो गर्छ, कसरी प्रस्तुत हुन्छ, कालोपाटीको प्रयोग, लेख्ने अक्षरका बान्की र सिकाइका सामग्री कति, कस्तो र कसरी गर्छ, पुस्तकालय बनाउने र पुस्तक पढ्ने चासो र अग्रसरता कतिको लिन्छ, कक्षाकोठा, कार्यालय र विद्यालय परिसरको सफाइप्रति कस्तो चासो लिन्छ र व्यवहारमा देखाउँछ, विद्यालयको चर्पीको अवस्था कस्तो छ र यसको प्रयोग र सफाइप्रतिको चासो र तत्परता कस्तो राख्छ, अभिभावकसँग बोल्ने शैली र गर्ने व्यवहार कस्तो हुन्छ आदि कुराहरू जो शिक्षकहरूले कमै ख्याल गरेका हुन्छन् र विद्यार्थीले आफूबाट यी कुरा पनि सिकिरहेका होलान् र ? भन्ने लागेको हुन्छ तर, उनीहरूले यिनै कुराहरूबाट मनग्गे सिकिरहेका, अधिकतम् अुनशरण गरिरहेका र नबिर्सिने गरी पढिरहेका हुन्छन् । हामीले यतातिर ख्यालै गरेका हुन्नौँ । शिक्षकलाई पढाउन र विद्यार्थीलाई पढ्न सरकारले दिएको पुस्तक त पाठको सानो अंश मात्र हो । बृहत् पाठ सिकाउनतिर चासो दियौँ भने विद्यार्थीले पनि बृहत् किसिमले नै सिक्छन् ।
 
पुस्तकबाट भन्दा गुरुको प्रवृत्तिबाट विद्यार्थीले धेरै सिकिरहेका र पढिरहेका हुन्छन् । हाम्रा प्रवृत्ति बारे हामीले कति हेक्का राख्छौँ ? र, सच्याउनु पर्ने भए कति प्रयत्न गर्छौँ ? आफ्नो खराब प्रवृत्तिको ख्याल नगरी विद्यार्थीको असल प्रवृत्तिको आश गर्न त पाइन्छ तर प्राप्त गर्न सकिन्न ! शिक्षकले राम्रोसँग नसिकाई विद्यार्थीले सिक्न सक्तैनन् ।  विद्यार्थीमा पठनपाठन गरिने विषयवस्तु सिक्ने उत्सुकता नहुनुमा दोषी शिक्षक ठहर्छ ।  शिक्षकको मनो सामाजिक रुचिअनुसार सिकाउने नयाँ नयाँ प्रविधि र विधि खोज्ने उत्साह र इच्छा रुचि चाहिन्छ ।  केटाकेटीमा नयाँ सोच र चाहनाको खोजी भएको अवस्थामा शिक्षक भने उही पुरानो परम्परागत प्रविधि र विधिमै अलमल्याउन खोज्ने भए भने केटाकेटीमा त्यस्तो सिकाइप्रति उत्सुकता हुँदैन ।  कतिपय नजान्ने विद्यार्थी जान्न कोसिस गर्दैनन् । 
 
अध्ययनमा ध्यान दिएर पनि नजानेका हुन कि जान्न नखोजेको हो वा शिक्षकले पढाउन नजानेर हो ।  आखिरमा कक्षाकोठामा शिक्षकभन्दा विद्यार्थी क्रियाशील हुनु जरुरी छ ।  विद्यार्थीका मनका कुरा शिक्षकले सुन्नुपर्छ ।  उनीहरूको समस्या के हो ? राम्रोसँग नबुझी समाधानको खोजी हुन सक्तैन ।   
 
विद्यार्थीका स–साना दोष केलाएर गलत साबित गराउने प्रवृत्तिमा सुधार आउनु जरुरी छ ।  अबका विद्यार्थीमा कमजोर पक्ष कोट्याएर होइन सबल पक्ष देखाएर कुरा गर्नुपर्छ ।  तिमी ज्ञानी छौँ, बुद्धिमान छौँ, तिमीलाई पढनु छ भनेर हौसाएर पढाउनुपर्छ ।  शिक्षकले आफूलाई साथीका रूपमा सहजकर्ताका रूपमा कक्षा कोठामा प्रस्तुत हुन सक्नुपर्छ ।  कक्षा कोठाभित्र  समान सिकाइ क्षमताका विद्यार्थी हुँदैनन् ।  त्यहाँ सुनेर सिक्ने, पढेर सिक्ने हेरेर सिक्ने, छोएर, गरेर सिक्ने आदि क्षमताका विद्यार्थी हुन्छन् ।  जुन विद्यार्थी जुन विधिद्वारा सिक्छन् सोही विधिको प्रयोग गरेर रमाइलो वातावरणमा सिकाउने सक्ने शिक्षक नै आजको आवश्यकता हो ।  
 
पाठ्यक्रम विद्यालयमा हेरिँदैन, पाठ्यपुस्तक विद्यार्थीले पाउन सक्तैनन, कतिपय शिक्षक दलका झोले बनेको गुनासो सुन्न पाइन्छ ।  शिक्षकले राजनीतिमा लाग्न नमिल्ने नियम बनाइएको छ ।  त्यो व्यवहारमा लागू हुन सक्तैन ।  समग्रमा विद्यालयमा राम्रो गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था छैन ।  राजनीतिक नेतालाई राम्रो शिक्षक होइन, हाम्रो शिक्षक चाहिएको छ ।  शिक्षकमा सकारात्मक सोंचको विकास हुन जरुरी छ । सबै शिक्षकको प्रवृत्ति पेशागत बन्न जरुरी छ । बालबालिकाको सिकाइप्रति पूर्ण रुपमा प्रतिबद्ध हुने सोंचको विकास शिक्षकमा हुन आवश्यक छ ।   
 
शिक्षकले ध्यान दिनुपर्ने पाटो 
 
पूर्वीय दर्शनहरूमा पौराणिक शिक्षा प्रणालीमा गुरु–शिष्य परम्परा र गुरुकुलहरूमा अति नै उच्चकोटीको र समान शिक्षाको व्यवस्था थियो भन्ने कुराहरूको वर्णन प्रशस्त पाइन्छ । त्रेता युगमा मर्यादा पुरूषोत्तम रामसहित उनका भाइ र द्वापर युगमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेको शास्त्रमा उल्लेख छ । पहिले गुरुहरू विद्वान्  हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए । शिक्षकको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन छ । शिक्षकहरु  सत्यवादी, असल आचरण भएका, नैतिकवान र अभिभावकत्व ग्रहण गर्न सक्षम हुनु पर्छ भने शिष्यहरु पनि जिज्ञासु, मेहनती र अनुसाशित हुनुपर्छ ।
 
विद्वानहरुले शिक्षार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाका रूपमा उपमा दिएका छन् । एक प्रकृतिवादी शिक्षाशास्त्रीले बालक स्वतन्त्र जन्मिन्छ र उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भनेका थिए । शिक्षकले पथप्रदर्शकको रूपमा कार्य गर्नुपर्छ । भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरता मात्रले पनि शिक्षण सिकाइमा उल्लेखनीय परिर्वतन ल्याउन सकिँदैन जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णले भनेका छन्, ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ ।’ पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा, ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ । एउटा असल शिक्षकमा व्यक्तिगत गुणमा राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि । सामाजिक गुण्मा पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव, क्रियाशील, विनोदप्रिय, नेतृत्व गर्ने क्षमता र समुदायको ज्ञान आदि ।
 
शिक्षकमा हुनैपर्ने सबभन्दा प्रमुख पेसागत गुण हो । विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान,  उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि ।
 
सारांशमा हाम्रा स्थापित मूल्य मान्यता र आदर्शलाई शतप्रतिशत रूपमा स्वीकार गरी यो समाज र देशलाई उन्नतिका दिशामा अगाडि बढाउन सक्षम नागरिकको निर्माणमा शिक्षकको ठुलो भुमिका रहेको हुन्छ । कुशल भान्छेको अभावमा भान्सामा सामानको प्रचरताले पनि सुस्वाद परिकार सम्भव नभएजस्तै असल र योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन । शिक्षकहरुमा इच्छामा बाँच्ने प्रवृत्तिको विकास हुनु भएन, आवश्यकतामा बाँच्ने प्रवृत्तिको विकास हुन जरुरी छ । 
 
आचार संहिता पालना गर्नुपर्यो कि !
 
शिक्षा नियमावली २०५९ को नियम १३३ बमोजिम शिक्षकले देहाय बमोजिमको आचार संहिता पालन गर्नु पर्दछ ।
 
(क) आफूलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नु पर्ने,
 
(ख) निर्धारित समयमा नियमित रुपले विद्यालयमा आए गएको समय जनाई हाजिर हुनु पर्ने र पहिले बिदाको अनुमति नलिई विद्यालयमा अनुपस्थित हुनु नहुने,
 
(ग) आफ्नो सेवा सम्बन्धी कुरामा मतलव साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्नु नहुने,
 
(घ) नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै लेख प्रकाशित गर्न वा प्रेसलाई कुनै खबर दिन वा रेडियो वा टेलिभिजन आदि जस्ता सूचना माध्यमद्वारा भाषण प्रसारित गर्न वा कुनै सार्वजनिक भाषण दिन वा वक्तव्य प्रकाशित गर्न नहुने,
 
(ङ) विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनु पर्ने,
 
(च) आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सच्चरित्रतालाई प्रोत्साहन दिनु पर्ने,
 
(छ) कुनै भाषा, सम्प्रदाय तथा धर्म विरोधी भावना शिक्षक तथा विद्यार्थी वर्गमा फैलाउन नहुने,
 
(ज) सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिई आफू वहाल रहेको विद्यालय बाहिर काम गर्न नहुने,
 
(झ) विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नु पर्ने,
 
(ञ) नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी देशको शान्ति, सुरक्षा, वैदेशिक सम्बन्ध र सार्वजनिक मर्यादा तथा अदालतको अवहेलना हुने वा कुनै पनि कार्यालय वा अधिकृतको कानूनद्वारा निर्धारित कर्तव्य पूरा गर्नमा बाधा विरोध हुने गरी प्रदर्शन, हड्ताल, थुनछेक तथा घेराउ गर्न नहुने ।
 
(ट) विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने ।
 
निचोडमा शिक्षक
 
शिक्षकले काम गरेर देखाउनु पर्थ्यो तर पढायो । आजको संसारको समस्या नै यही हो । ऊ EDUCATOR  हुनुपर्थ्यो, INSTRUCTOR भइदियो । ऊ कर्ता हुनुपर्थ्यो, वक्ता भइदियो । ऊ स्वतन्त्र हुनुपर्थ्यो, झोले भइदियो । ऊ पुस्तकको सहजकर्ता हुनुपर्थ्यो, सुँगा भइदियो । संसारमा पढाउनेहरू धेरै छन् । आस्तिक र नास्तिक सबैले पढाउँछन् । विद्वान र पाखण्डी सबैले पढाउँछन् । कम्युनिष्ट र गैरकम्युनिष्ट सबैले पढाउँछन् । युरोपेली र एसियाली सबैले पढाउँछन् । पढाएरै यो दुनियाँ परिवर्तन हुने भए उहिल्यै संसार दीक्षित भइसक्थ्यो । हो, आजको संसार हिलाम्य छ । संसारमा टिक्नु र बिक्नु छ भने त्यो हिलोमा नपसी हुँदैन । शब्दजाल र व्याकरण नबुझी हुँदैन । विज्ञान र गणित नबुझी हुँदैन । तर हामी शिक्षकहरूले विद्यार्थीलाई त्यही हिलोमा छाडिदियौँ । त्यसैले हरेक पुस्ता चक्रब्युहबाट निस्कनै जानेन ।
 
हामीलाई पनि कसैले त्यसैगरी छाडिदियो ।  हामीले त्यही अतीत ऐनामा हेर्दै वर्तमानमा उतार्यौँ । हामीले विद्यार्थीलाई सुत्र र सिद्धान्तबाहेक केही दिनै सकेनौ । भाषा पढाउनेहरू व्याकरण र वाक्य संरचनामै अल्झियौँ । कला पढाउनेहरू अतितका सिद्धान्त र वादमै अड्कियौँ । गणित र विज्ञान पढाउनेहरू पुराना प्रयोग र नियममै जेलियौं । हो पढाउने शैली बदलियो । पहिले गुरुकुलमा वेद र पुराणहरू पढाइयो । श्लोकको रटानसँगै संस्कार र नीति सिकाइयो । व्यावहारिक सीपको पनि परीक्षा लिइयो । बिस्तारै पश्चिमको हावा चलेर फिजिक्स, केमिष्ट्री, गणित भित्रियो । नैतिक ज्ञानलाई तथ्यांकगत बनाउने सुरले अंकको परीक्षामा जोख्न थालियो । तत्पश्चात अंकको होडबाजी चल्न थाल्यो । अनि खैराँती मास्टरहरू बाँसका भाटा बोकेर पढाउन थाले । फेरि पश्चिमको अर्को हावा चल्यो । बालमैत्री सिकाइको कुरा आयो । हामी अहिले त्यही आधुनिक सोचको युद्धमा छौँ । 
 
नेपालको शिक्षा क्षेत्रमा यो एक प्रकारको संक्रमण काल हो । खैँरातीहरू पनि पुरै बिलय भइसकेका छैनन् । बालमैत्रीका पक्षपातीहरू पनि पुरै फ्रन्टलाइनमा आइसकेका छैनन् । बालमैत्री शिक्षाले नयाँ आशा त ल्याएको छ । तर नयाँ र पुराना सबैले पढाए  शिक्षाको भाव बदलिएन ।  हामीले विद्यार्थीको क्षितिज खोल्नै सकेनौँ । हामीले विद्यालयमा केवल मेसिनहरू बनायौँ । हामीले आफ्नो शिक्षालाई भूगोलका धेरै कुनाबाट चोर्यौँ । कहिले प्लेटो र कान्टबाट आदर्शवाद भित्रायौँ । कहिले अरस्तु र रुसोबाट यथार्थवाद ल्यायौँ । कहिले ब्रुनर र पियागेटबाट प्रगतिवाद भित्रायौँ । कहिले मन्टेश्वरी र पाउलो फियरोलाई जस्ताको तस्तै सार्यौँ । हामी कठपुतली भयौँ र विद्यार्थीलाई पनि कठपुतली बनायौँ । हामीले विद्यार्थीलाई परनिर्भर बनायौँ । त्यसैले हाम्रो देश आजसम्म आत्मनिर्भर हुनै सकेन । त्यसैले आजसम्म हामी एउटा हेजिमोनी (सांस्कृतिक उपनिवेश) मा बाँचेका छौँ ।
 
यदि परिवर्तनको अपेक्षा गर्ने हो भने शिक्षाको भाव बदल्नैपर्छ । शिक्षक  Instructor भएर पुग्दैन । उसले विद्यार्थी, समाज, देश र विश्व बुझ्नुपर्छ । समाजको इतिहास बुझ्नुपर्छ । हरेक वर्तमान इतिहासबाटै बनेको हुन्छ । शिक्षक समाजको Opinion Leader  पनि हो ।
 
शिक्षक आफैमा जागिर होइन । यो त जिम्मेवारी हो ।  समाजको इतिहास बुझेर मात्र विद्यार्थी र समाजमा दीर्घकालिन हलचल पैदा हुनसक्छ । भुगोलका हरेक कुनाबाट सिकेर समाज सुहाउँदो शिक्षा आविष्कार हुनुपर्छ । यो आजको पुस्ताका शिक्षकको जिम्मेवारी हो ।  दुई दशकपछिको प्रगतिशील नेपाल कल्पना गर्ने हो भने आजको कक्षामा शिक्षकले सकारात्मक र अर्थपूर्ण हस्तक्षेप नगरी हुँदैन । विषयगत दक्षताभन्दा माथि उठेर सोच्नैपर्छ । हामी शिक्षक आज जे गर्छौँ,  भोलि देश त्यस्तै बन्छ । नैतिक आचरणका कुराहरू हामीले पढाउने होइन, गरेर देखाउने हो । कक्षाकोठामा हामीले असल संस्कारको बीउ रोप्ने हो ।  देशको भविष्य डिजाइन गर्ने इन्जिनियरहरू हामी हो । हामीले कसैको झोला बोक्ने होइन, स्वतन्त्र पनि हिँड्न सकिन्छ भनेर देखाउने हो । विद्यार्थीको लागि     हामी आफैँमा रोलमोडल बन्नैपर्छ । तसर्थ विद्यार्थीसँगै समाज र राष्ट्रको विकासमा पनि जिम्मेवारी भूमिका निर्बाह गर्न सक्ने खालको सोंच र प्रवृत्तिको विकास गरी शैक्षिक सुधारको एक महत्वपूर्ण अभियन्ता भएर लाग्न जरुरी छ । 
 
शिक्षा सेवाका उपसचिव शर्मा, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशमा कार्यरत छन्  ।