शिक्षा दिवस : नारा थप्नेमा सिमित नहोस्


बर्षौ देखि शिक्षा दिवस मनाउने क्रम जारी छ । शिक्षा दिवसको अवसरमा शिक्षाको एक थान नारा थपिन्थ्यो । यस बर्ष पनि थपियो । कुनै बर्षको पनि नारा नराम्रो हुदैन । यो बर्षको नारा पनि कम राम्रो छैन । हामी सबैको प्रण, सार्वजनिक शिक्षाको सवलिकरण । नारा तयारी गर्ने क्रममा शिक्षा मन्त्रालयमा छलफल हुन्छ, नारा तयार गरिन्छ, हरेक बर्ष एक नारा थपिन्छ । थपिएको नाराले शिक्षा दिवसको दिन हुने कार्यक्रमको व्यानरमा सिरानको ठाउँ पाउँछ, दिवसको दिन वितरण हुने प्रमाण पत्रमा पनि राखिन्छ । त्यस पछि नाराको काम सकिन्छ । त्यस पछिका दिनमा हाम्रो यो बर्षको नारा यो हो, नारा सकार पार्न के गर्न सकिएला ? भन्ने विषयमा छलफल, कुराकानी केहि पनि हुदैन । नारा पुरा गर्नको लागि कुनै कार्यक्रम पनि राखिँदैन, बजेट पनि छुट्याइदैँन, कुनै काम पनि नाराको भाव पुरा गर्न गरिँदैन ।  अबका दिनमा भयो भने नौलो होला विगत बर्षमा भएन । 

शिक्षा दिवसको दिनमा अरु पनि हुन्छ, केहि शिक्षक, कर्मचारी पुरस्कृत हुन्छन् । गत दुइ तीन बर्ष त्यो पनि छुट्यो । यो बर्ष भने पुन विगतमा झै पुरस्कृत गर्ने क्रमले निरन्तरता पाउने छ । यो बर्षको हेर्न बाँकि नै छ । विगत बर्षको पुरस्कारको अवस्था हेर्दा राम्रो काम गर्नेले होइन, पहुँच भएकाले, भनसुन गर्नेले पुरस्कार पाए भन्दा फरक पर्दैनथ्यो । विद्यावारिधि गर्नेलाई राष्ट्रप्रमुखबाट विद्याभुषण वितरण गरिन्छ । भन्नेहरुले विद्याबारिधि हुन अध्ययन अनुसन्धान गर्नै पर्छ भन्ने छैन, त्यो बाहेक अन्य तथा फरक तरिकाले पनि विद्याबारिधिको प्रमाण पत्र ल्याउने तरिका पनि छन् भन्छन् । एकाध भए पनि भन्नेहरुले भने जस्तै  विना मेहनत, झुक्याएर प्रमाण पत्र प्राप्त गरेकाले विद्याभुषण पाउने हो भने त्यसको पनि के सार्थकता रह्यो र ? 

काठमाडांैमा आयोजना हुने मुल समारोहमा  केही भाषण, उपत्यकाका नाम चलेका विद्यालयहरुले बबिनाउ नाच, त्यसले कार्यक्रममा आउनेलाई रमाइलो बनाउँछ, त्यसको कुनै शैक्षिक महत्व छैन भनेर कसैले भन्यो भने पनि त्यसको उपयुक्त जबाफ आयोजकले दिन सक्ने अवस्था छैन । वेलुकि स्वप्न बगैचामा चियापान कार्यक्रम हुन्छ, केन्द्रमा शिक्षा तथा साक्षरता दिवस सकिन्छ ।  

केहि जिल्लाको सदरमुकाममा विद्यार्थी र शिक्षक कर्मचारीको ¥याली सहितको औपचारिक कार्यक्रम, केहि जिल्लामा सामान्य हलमा सामान्य कार्यक्रम, केहि ब्यक्तिबाट शिक्षाको बारेमा चिन्ता र उपदेश । यहि होे शिक्षा दिवसको निरन्तरता, शिक्षा दिवस सकियो । 

यस बर्षको शिक्षा दिवसको अवसरमा हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने एक नारा थपिएको छ । यो नारा आफैमा निकै उत्साहप्रद छ । सार्वजनिक शिक्षा सुधार र सवलीकरण गर्न सबै मिलेर लागौं, प्रण गरौं । हुन पनि आम नागरिककले प्राप्त गर्ने सार्वजनिक शिक्षाको सवलीकरण विना न त देशको विकास सम्भव छ न समृद्धि नै ।  शिक्षा दिवसले शिक्षा क्षेत्रमा एक उत्साह थप्नु पर्ने हो, शिक्षा क्षेत्रमा काम गर्नेलाई हौसला र उत्प्रेरणा जगाउनु पर्ने हो, शिक्षाका विविध विषयमा छलफल, अन्तक्रिया र बहस गरी अलमलिएका कुराहरुमा स्पष्टता ल्याउनु पर्ने हो र शैक्षिक परिवर्तनको लागि दवाव श्रृजना गर्नु पर्ने हो, तर हुन सकेको छैन । 

धेरै वालवालिका विद्यालयमा आए पनि अझै कठिनाइमा परेका समुदायका, विशेष समस्या भएका बालबालिका विद्यालयमा ल्याउन सकिएको छैन । नेपालको संविधानले आधारभुत तहसम्मको शिक्षा सवैलाई अनिवार्य र निशुल्क हुने भनि किटानी साथ भनेको छ । बास्तविकता भने फरक छ ।  शुल्क तिर्न नसकेर कति बालबालिका विद्यालयमा भित्रिन सकेका छैनन । सामुदायिक विद्यालयमा पनि भर्ना शुल्क, परीक्षा शुल्क र अन्य समय समयमा तिर्नु पर्ने शुल्कले गर्दा काम गरेर खानु पर्ने अभिभावकका बालबालिकाहरु शिक्षा लिनबाट बञ्चित भएका छन् । विद्यालयमा भर्ना भएका पनि परीक्षा शुल्क नै तिर्न नसकेर विद्यालय छाड्ने गरेका छन् । विद्यालयको शिक्षा लिन आप्mना बालबालिकालाई सामुदायिक विद्यायमा भर्ना गरेका अभिभावक पनि विद्यालयको पढाइ जीवनमा कामलाग्ने कुरामा विश्वस्त हुन सकेका छैनन् ।  

केहि अभिभावक भन्छन्, घरमा काम सिक्यो भने ज्याला मजदुरी गरेर पनि ज्यान पाल्ला, विद्यालयमा पठाए पछि न यता न उता हुन्छ । आमाबाबु श्रमको खोजिमा विभिन्न स्थानमा सरिरहनु पर्ने बाध्यता भएका, भाइबैनी हेर्नु पर्ने, , गाइबस्तु पशुको संरक्षण गर्नु पर्ने, कृषिकार्यमा सहयोग गर्नु पर्ने जस्ता कारणले धेरै बालबालिका  विद्यालय नियमित हुन नसकेर विद्यालय बीचैमा छाड्ने गरेका छन् ।

सार्वजनिक तथा सामुदायिक विद्यालय र शिक्षा सुधारको कुरा पनि एक किसिमले नारा, दस्ताबेज र भाषणमा मात्र सिमित छ भन्नेहरुको तर्क गलत छ भन्न सकिने अवस्था छैन । सिमित सामुदायिक विद्यालयहरुले पनि निजी विद्यालयको सिको गरी निजी विद्यालयकै हाराहारिमा मासिक शुल्क, निजीस्रोतमा शिक्षक, अंग्रेजी माध्यममा पठन पाठन गरी विद्यार्थी संख्या बढाउन सफल भएका हुन् । 

सामुदायिक विद्यालयको छानामा सञ्चालन भएका अंगे्रजी माध्यमका निजी विद्यालय बाहेकका प्राय सामुदायिक विद्यालयहरुकोे शैक्षिक अवस्था निकै नाजुक छ । अन्य विकल्प नभएका विद्यार्थी र सरकारी काम कहिले जाला घाम भन्ने खालका शिक्षक, बालबालिकालाई शिक्षा दिएर जीबनमा काम लाग्छ भन्ने कुरामा विश्वस्त नभएका, निरक्षर, बिपन्न, बालबालिकाको शिक्षामा चासो नै नभएका अभिभाबक, झारटार्ने र देखाउने खालका सरकारी कार्यक्रम जस्ता कारणले सामुदायिक विद्यालयहरु नाजुक अवस्थामा पुगेका हुन  । 

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरको कुरा गर्दा दयनीय अवस्था छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेका परीक्षणहरुले विद्यार्थीमा आधारभूत ज्ञान समेत छैन भन्ने देखाएका छन् । तल्लो तहमा आधाभुत ज्ञान सीप नभए पछि माथिल्लो तहमा नियमित हुने, विद्यालय शिक्षालाई निरन्तता दिने तथा राम्रो सिक्ने भन्ने कुरा सम्भव हुने कुरै भएन । 

हाम्रो शिक्षा दिवस नेपाली मिति अनुसार निश्चित दिनमा पर्दैन । विगतको निश्चित दिन हटाइयो, नयाँ निश्चित गते तय गर्न सकिएन । आठ सेप्टेम्वरमा मनाइने अन्तराष्ट्रिय साक्षरता दिवस अनुसार शिक्षा दिवस पनि पछि लागेर यता र उता दौडने गर्दछ । 

साक्षरताको लागि जति बजेट खर्च भएको छ, त्यसको तुलनामा उपलब्धि निकै कम भएको छ । जनसंख्याको चाप रहेको मधेश र पिछडिएको समुदायमा साक्षरता अभियानले प्रभाव पर्न सकेको छैन  । राज्यले साक्षरता कक्षाबाट साक्षर भएकालाई निरन्तर शिक्षा दिने, साक्षरता कक्षामा सिकेका कुुराहरुलाई दरिलो बनाउने, यसकै माध्ययमबाट जीवन प्रयन्त शिक्षा अगाडि बढाउने कार्य गर्न सकेको अवस्था छैन । 

साक्षरता, निरन्तर शिक्षा र सामाजिक चेतनाकोलागि भनेर खुलेका सामुदायिक सिकाइ केन्द्रहरु एकाद बाहेक आप्mनो कार्य प्रभावकारी पार्न सकेका देखिदैनन् । राम्रो गरेका सामुदायिक सिकाइ केन्दका्र अभ्यासहरु अन्य सामुदायिक सिकाइ केन्द्रलाई समेत बाँढ्न, सिकाइ केन्द्रको अवधारणा अनुसार कार्य गर्न प्रयत्न गरेका सफल हुन नसकेका सिकाइ केन्द्रहरुलाई पृष्ठपोषण  र प्राविधिक सहयोग पु¥याउन अति आवश्यक छ ।

नियमित अनुदान लिने उद्देश्यले मात्र खोलिएका, व्यक्तिको खल्तिमा भएका सामुदायिक सिकाइ केन्द्रहरुलाई कारवाहि गरी हालसम्म गएको अनुदान समेत राज्य कोशमा फर्काउनु पर्ने आवश्यकता रहेको छ । यस तर्पm कसैको ध्यान जान सकेको छैन । 

सामाजिक चेतनाको लागि गाँउ गाउँमा र टोलटोलमा साना देखि ठुला सम्म पुुस्तकालय स्थापना हुनु आवश्यक छ । समुदायमा बालबालिका, युवक र प्रौढहरु सबैले पुस्तक पढ्ने, पढेको पुस्तकले उठाएका विषयमा छलफल, अन्तरक्रिया हुनु  सचेत र जीवन्त समाजको परिचय हो । यसकालागि पनि खासै पहल र  प्रयास हुन सकेको छैन । 

उच्च शिक्षाको अवस्था नाजुक छ । प्रध्यापकहरुले नै नपढ्ने, बर्षौ पहिला लेखेका नोट कक्षामा लेखाउने, विद्यार्थीलाई  परीक्षामा आउने प्रश्नहरु दुइचार दिन पहिला टिपाइ दिने र विद्यार्थीको नजिक हुने कार्य  विश्वविद्यालयका कक्षाकोठामा भइरहेको छ ।  विद्यार्थीलाई प्रश्न गर्न र खोज्न उत्प्रेरित गर्नु भन्दा मुख थुन्ने परिपाटि हाम्रा उच्च शिक्षा दिने सस्थाहरुमा विद्यमान छ । विश्वविद्यालयहरु ज्ञान उत्पादनको केन्द्र बनाउन, शिक्षकहरु खोज अनुसन्धानमा लाग्न, विद्यार्थीमा  अध्ययन गर्ने खोज्ने सीपको विकास गराउन, देश र समाजको आवश्यकतामा आधारित शिक्षा दिन कहिले कहाँबाट थालनी गर्ने हो अत्तोपत्तो छैन । समय विश्वविद्यालयको सुधार गर्न भन्दा राजनीति नियुक्ति, स्वार्थ समुहको बीचको झगडामा ब्यतित भएको छ । 

एक्काइसौ शताब्दि,  डिजिटल संसारले जतासुकै प्रभाव पारिरहेको अवस्थामा हाम्रा कक्षाकोठामा शिक्षण सिकाइ उहि पुरानै कालोपाटी, चक डष्टरमा सीमित छ । हाम्रा बालबालिका देखि शिक्षा आर्जन गर्दै गरेका युवा सम्मलाई कसरी आधुनिक सूचना प्रविधिको पहुँच स्थापित गर्ने भन्ने चुनौति छ । यसतर्फ हाम्रा गतिविधिहरु निकै धिमा छन् ।  

संविधानले शिक्षाको महत्वपुर्ण अधिकार स्थानीय सरकारलाई सुम्पिएको छ । एकाध बाहेक स्थानीय सरकार शिक्षा क्षेत्रको कार्य गर्न अलमलको अवस्थामा छन् । संघीय शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय सरकारलाई समस्याको गाँठो फुकाउन सहयोग गर्ला भन्दा समस्याका गाँठाहरु थप्ने कार्य गरेको छ भनेर स्थानीय सरकारका जनप्रतिनिधिले भनेको  सुनिन्छ । यी र यस्तै परिवेशमा मनाइने साक्षरता र शिक्षा दिवसको सार्थकता के कति रहेने हो भविष्यले बताउने छ । 

शिक्षा मन्त्रालयका उपसचिव शर्मा हाल शिक्षा विकास तथा समन्वय इकाइ तनहुँमा प्रमुखका रुपमा कार्यरत छन् ।