नागरिक शिक्षा, समाज परिवर्तनको संवाहक


नागरिक शिक्षा घर, परिवार, समुदाय, विद्यालय, शैक्षिक संस्था, राज्यका संघ संस्थाहरु लगायत सामाजिक जीवनमा आवश्यक शील स्वभाव, आचरण, व्यबहार एवं लोकतान्त्रिक चिन्तनको विकास गर्ने अध्ययनको क्षेत्र हो । यसले समाजलाई नियम, कानुन र मर्यदामा बाँधेर अनुशासनमा राखी परोपकारी कर्ममा चित्त शुद्घिकरण गराउन मद्दत गर्दछ । यसका साथै आपसी सद्भाव, प्रजातन्त्रिक आचरण र सामाजिक दायित्वको बोध भएका नागरिक उत्पादनमा सहयोग गर्दछ ।  समाजमा शान्ति, सद्भाव, सहयोग र परोपकारी भावनाको  विकास गरी सभ्य र सिर्जनशील समाजको निर्माण गर्न ठूलो भूमिका निर्वाह गर्दछ । 

नागरिक शिक्षाले समाजका विभिन्न तह, वर्ग र तप्काका नागरिकलाई आफ्नो काम, कर्तव्य, अधिकार एवं मानव जीवनका सभ्य शिष्ट र सुसंस्कृत, व्यबहार निर्माणका ज्ञान निर्माण गर्न मद्दत गर्दछ । गाउँ बस्तीका दुरदराज देखि शहरी क्षेत्रमा बसोबास गर्ने  शिक्षित, जागरुक, सुकिला–मुकिला, नागरिकलाई समाजमा बसोबास गर्दा पालना गर्नु पर्ने सामाजिक अनुशासनका व्यवहार, काम, कर्तव्य, अधिकार तथा दायित्वको बोधात्मक ज्ञानको स्रोत हो नागरिकशिक्षा । यस अर्थमा जसरी वनस्पति विज्ञानको नर्सरीमा मजजल गरेर हुर्काइएको विरुवाले फल, फुल र फाइदा दिन्छ त्यसरी नै नागरिक शिक्षाको बिषय बस्तुले प्रशिक्षित जनताले मात्र साँचो अर्थमा समाज र राष्ट्रलाई योगदान दिन सक्छन् । यसर्थ समाजका हरेक व्यक्ति नागरिक शिक्षाको ज्ञानले प्रशिक्षित हुन आवश्यक छ । 

अहिले नेपाली समाज सामाजिक रुपान्तरणको संघारमा छ । सामाजिक रुपान्तरणका लागि व्यक्ति, समाज र समाजसंग सम्बन्धित निकाय र संयन्त्रहरुको सोचान्तरणमा परिवर्तन आवश्यक हुन्छ । नागरिक शिक्षा व्यक्ति, समुदाय, समाज र संघसस्थाहरुको सोचान्तरणको संवाहक र सामाजिक सबन्धको साँघु पनि हो । यसले आपm्नो अधिकार र कर्तव्यको कुरा गर्दा अरुको अधिकारको सम्मान गर्ने अक्कलको बोध गराई दिन्छ । यस सन्दर्भमा नागरिक शिक्षाको आलोकले व्यक्तिमा प्रजातान्त्रिक आचरण, अनुशासित व्यबहार, देश प्रति प्रेम र मानवतावादी चिन्तनको विकास हुने भएकोले यसबाट प्रशिक्षित समाज निर्माण गर्नको लागि नागरिक शिक्षाको ज्ञान अनिवार्य हुन्छ । 

समाजमा नागरिक शिक्षाको अभाव खड्किएको छ । समाजमा आत्म केन्द्रित साेंच बढेको छ । सामाजिक सम्बन्ध र राष्ट्रिय एकता कमजोर भएको छ । आपसी मेलमिलापमा खलल पुगेको छ । भातृत्वभाव विखण्डित भएको छ । समाजमा मित्रहरु बढेका छन् तर मित्रता बढेको छैन । हाम्रो सामाजिक जीवन आत्मकेन्द्रित चारवाक् दर्शनमा आधारित उपभोगवादी चिन्तनले ग्रस्त छ । हाम्रा शिक्षालयहरुमा नैतिक शिक्षाको अभाव छ । पढे लेखेका नागरिकमा प्रजातान्त्रिक आचरण, स्वभाव, व्यबहार र उदारवादी चरीत्रको विकास हुन नसक्दा समाजमा जातीय, वर्गीय, क्षेत्रिय लगायतका विभेदहरुका मनोवैज्ञानिक तरङ्गहरु उव्जिएका छन् । समाजमा रहेका उल्लेखित परम्परावादी विचार र रुढी वा चिन्तन समाज रुपान्तरणका बाधक हुन् । यस प्रकारको समाज शास्त्रीय मनोविज्ञानले समाजलाई विभाजन गर्नुको अर्थ सामाजिक सद्भाव खल्बलिनु हो ।

अहिले समाजमा घर, परिवार, समाज हुँदै राष्ट्रिय जीवनका सामाजिक सम्बन्धहरु सद्भाव मैत्री बन्न नसकेको महसुस हुन्छ । समाजका आदर्शहरु भत्किएका छन् । हाम्रा विद्यालयहरुमा आजका विद्यार्थी नागरिक शास्त्रका तत्व शास्त्रीय ज्ञानबाट शिक्षित,  दीक्षित र प्रशिक्षित हुन पाएका छैनन् । विद्यालयको पाठ्यक्रम र पाठ्यपस्तुकहरुमा नागरिक शास्त्रको पर्याप्त बिषयवस्तुलाई समावेश गरेको पाईंदैन । समाजमा नैतिकताको ठूलो खडेरी महसुस हुँदै आएको छ । आफ्ना छोराछोरीहरुको शिक्षाको लागि आमा वुवाले ठुलो लगानी गरिरहेका छन् । तर समाजमा आफ्नै सन्ततीहरुबाट आमा वुवाहरु अपहेलित हुने गरेका घटनाहरु बढ्दैछन् । आफ्ना आमावुवाहरुलाइ वृद्घाश्रममा राख्ने छोराछोरीहरुको संख्या पनि बढ्दो क्रममा रहेकोे तथ्याङ्क छ । पारिवारिक सम्बन्ध विच्छेदका घटना बढ्दैछन् । सामाजिक जीवनमा सहकार्य, सद्भाव, सहयोग जस्ता सुन्दर पक्षहरु कमजोर भएको अवस्था छ । 

हाम्रो देश, लामो समयसम्म गरिबी, अभाव, अशिक्षा, पछौटेपन र राजनितिक उतार चढावले थिल्थिलिएको छ । नागरिक स्वतन्त्रता संग्रामको लामो संघर्ष पछाडि एउटा राजनितिक कोर्सको अन्त्य भई लोकतान्त्रिक समाज निर्माणको अभ्यासमा मुलुक प्रबेश गरेको छ । संघीय गणतन्त्र राज्यको पुनसंरचनामा आधारित नेपालको लोकतान्त्रिक संविधान बनेको छ । नेपालको संविधानले समाजवाद उन्मुख समावेशी समाजको परिकल्पना गरेको छ । सिद्घान्तत ः समावेशी राजनितिक प्रणाली एक्काइसौं सताब्दिको ईगालिटेरियन समाजको परिकल्पना हो, जहाँ विभेदहरुको शुन्यता रहन्छ । यस सन्दर्भमा समाजमा रहेका विभिन्न विभेदहरुको अन्त्यका लागि चेतनशील, सुसुचित, नैतिकवान, कर्तव्यनिष्ठ एवं सचेत समाजको आवश्यकता पर्दछ । 

नागरिक शिक्षा राजनिति शास्त्रको पनि अध्ययनको क्षेत्र हो । नागरिक शिक्षा अन्तरगत देशको संविधान, नीति, नियम, विधान, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका लगायत देशका संवैधानिक निकायहरुको समेत ज्ञानको अध्ययनको क्षेत्र पर्दछन् । लोकतान्त्रिक मुलुकका हरेक नागरिकले संविधानमा लेखिएका नियम, कानुन र यसले प्रदत्त गरेका मौलिक हक अधिकारहरुको जानकारी राख्न आवश्यक हुन्छ । नीति, नियम र कानुहरुको जानकारी नभएसम्म नागरिकले सामाजिक न्याय पाउन सहज हुँदैन । त्यसैले नागरिकले उल्लेखित बिषयबस्तुको जानकारी राख्न नागरिक शिक्षाको ज्ञान आवश्यक ठानिन्छ । 

नेपालको संविधान २०७२ मा व्यबस्था गरिएको राज्यको पुनसंरचना अन्तरगत राज्य शक्तिको बाँडफाँट र यससंग सम्बन्धित बिषयहरु नागरिकले जान्नु पर्दछ । बुभ्mनु पर्दछ । अहिले राज्यको पुनसंरचनामा केन्द्रीय सरकार, ७ वटा प्रदेश सरकार तथा ७५३ वटा स्थानीय सरकार गरी ७६१ वटा सरकारहरु छन् । संविधानले विभिन्न जात, जाति, समुदाय, दलित, महिला तथा फरक क्षमता भएका नागरिकका अधिकारहरुलाई सुनिश्चित गरेको छ । नागरिकलाई यी सरकारका काम, कर्तव्य र अधिकारका साथै संविधान प्रदत्त हक, अधिकार र सुविधाहरुको जानकारी आवश्यक हुन्छ । 

नागरिक शिक्षा सचेतना विकासको सशक्त माध्यम मात्र होइन समाज परिवर्तनको संवाहक पनि हो । नागरिक शिक्षाले मानवीय व्यबहार र मनावृत्तिमा परिवर्तन ल्याउन मद्दत गर्दछ । समाजमा विभिन्न आर्थिक, सामाजिक, राजनीतिक शैक्षिक स्तरका मानिसहरुको बसोबास हुन्छ । यी विविध स्तरको अवस्था र चेतनाको आधारमा सामाजिक व्यबहार निर्धारण हुन्छ । समाजको स्वरुप निर्धारण हुन्छ । यो विविधता पुर्ण संरचना भएको सामाजिक आयाम भित्र व्यक्तिका शील, स्वभाव, आचरण र सोचाईहरु पृथक–पृथक हुने भएकोले यी विविध विचारहरुको समायोजन गरी सामाजिक एकता र आपसी मेलमिलापमा उदारवादी चिन्तन र असल व्यबहारको आवश्यकता हुन्छ । व्यक्तिको सोचाईको दायरालाई फराकिलो बनाउँदै समाजमा रहेका वहुजातीय संस्कार, रितिरिवाज, मुूल्य मान्यताहरुका बीचमा समायोजनकारी उदारवादी आचरणको विकास गर्नको लागि नागरिक शास्त्रको चेतना महत्वपुर्ण हुन्छ । 

नेपाल अहिले लोकतान्त्रिक संघीय गणतन्त्रको नयाँ राजनीतिक अभ्यासमा प्रवेश गरेको छ । सबै संघीय राज्यहरुमा बसोवास गर्ने समुदायका बीचमा आपसी मेलमिलाप र सद्भाव मैत्री व्यबहार हुन आवश्यक हुन्छ । सामाजिक एकता र भातृत्वको भावनाले ओतप्रोत, अनुशासित, कर्तव्य निष्ठ, अधिकार र दायित्व बोध भएका प्रजातान्त्रिक चरित्रले सुसज्जित नागरिक भए मात्र समाजमा आपसी सद्भाव, सहिष्णुता व्यबहार र सद्भाव मैत्री सम्बन्ध जीवन्त हुनसक्छ । भौतिक सम्पन्नताले जीवन यापनमा सुविधा र सहजता ल्याउन त सक्ला, परन्तु सुख, शान्ति र अमन चयनको अनुभुति आपसी सद्भाव मैत्री मेलमिलापले हुने भएकोले समाजका मुल्य र मान्यताहरुलाई मानवीय व्यबहारमा जीवन्त बनाउन नागरिक शास्त्रको ज्ञान आर्जन अति आवश्यक छ । 

नेपाली समाज बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुभाषिक चरित्रको छ । हरेक समाजका आ–आफ्नै मुल्य, मान्यता, भाषा, संंस्कति र संस्कारहरु छन् । यही बहु आयामिक समाजका बालिबालिकाहरु नै विद्यालयहरुमा जाने हुन् । नागरिक शिक्षाले आपसमा सकारात्मक सोचको विकास गराउन, संगै बस्न, काम गर्न, एकले अर्काको सम्मान गर्न र  सबैका सांस्कृतिक र सामाजिक मुल्य एवं मान्यताहरुलाई सामाजिक दवाव विना नै स्वत स्फुर्त रुपमा स्विकार गर्न सक्ने क्षमताको विकास गराउँछ ।  यस सन्दर्भमा राज्यले एकातिर औपचारिक शिक्षा प्रणाली अन्तरगत विद्यालय तह देखि नै नागरिक शिक्षाको बिषयबस्तुलाई पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेश गर्न आवश्यक ठानिन्छ भने अर्कोतिर समाजका हरेक उमेर समूहका नागरिकहरुलाई नागरिक शिक्षाको बिषयबस्तुमा आधारित प्रशिक्षण केन्द्रहरु सञ्चालन गर्न आवश्यक छ ।