शिक्षकको सृजना : सुधारको सन्देश


गत माघ ६ गते बिहान, घरमै बसेर पत्रपत्रिका पढ्दै थिएँ, छिमेकी होमनाथ ढुङ्गेल आउनु भयो । माघको चिसो बिहान विना काम त  पक्कै आउनु भएन !

सामाजिक काममा संलग्न हुन रुचाउने ढुङ्गेलजीका आफ्नै विशेषता छन् । बिहानदेखि बेलुकासम्म सकृय रहनुहुन्छ । आफ्नै कर्मबाट उहाँ कति सन्तुष्ट हुनुहोला त्यो त उहाँलाई नै सोध्नुपर्छ । तर दैनिकी व्यस्त जस्तै देखिन्छ ।

चिया लिउँ हजुर ?

आम रूपमा घरमा आउने व्यक्तिलाई गरिने सत्कार जस्तै मेरो जीवन संगिनी जिज्ञासा राख्छिन् । तर ढुङ्गेलजीले चिया नलिने भनेर पन्छिनु भयो ।

तातोपानी लिनुहुन्छ त ? दोस्रो अनुरोध नकार्न असजिलो मानेर हो कि के हो, उहाँले हुन्छ भन्नु भयो ।

त्यस पछि मैले ढुङ्गेलजीलाई चिसो विहान भेट्न खोज्नुको कारण सोधेँ । उहाँले एउटा पुस्तक समीक्षा गरिदिनका लागि अनुरोध गर्नुभयो !

मेरा अघिल्तिर आश्चर्य मिश्रित दुई वटा प्रश्न एकै पटक आए !

कस्तो पुस्तक हो ?!

ढुङ्गेलजीकै पुस्तक हो ?!

'महाकाव्य मेरो हैन सिन्धुलीका एक पूर्व शिक्षकको' ढुङ्गेलजीले भन्नु भयो 'सर प्रति उहाँको दृष्टिकोण एकदम सकारात्मक रहेकोले महाकाव्यको समीक्षा गर्नका लागि विशेष अनुरोध गर्नु भएको  छ ।'

जसको पुस्तक हो, उहाँ आउनु भएको छैन तर म प्रति धेरै आशावादी एक जना शिक्षकको आग्रह कसरी टारौँ ।

फेरि महाकाव्यको कसरी समीक्षा गर्ने ! जुन विधामा आफू त्यति जानकार पनि छैन ।

दोधारमा परेँ !

केही बेरको गफगाफ पछि पुस्तक पढ्ने लोभले हुन्छ भनेँ ।

बेलुका अफिसबाट फर्केको केही समय पश्चात ढुङ्गेलजी, कसैले यस अघि नै गरेको समीक्षा र पुस्तक सहित आइपुग्नु भयो ।

ढुङ्गेलजीले समीक्षा गर्न दिएको पुस्तक सिन्धुलीका शिक्षाकर्मी चेतप्रसाद उपाध्याय ढकालद्वारा लिखित सम्झना महाकाव्य रहेछ । पुस्तककै अन्तिम पातोमा छापिएको विवरण अनुसार पनि ढकालका धेरै कृति सार्वजनिक भइसकेका रहेछन् । सिन्धुली वाङ्मय प्रतिष्ठानका अध्यक्ष अञ्जुल, डा.राजेन्द्र विमल, फाल्गुणी शर्मा तिमल्सिना, गोविन्द गजुरेल जस्ता विद्वानहरूले विभिन्न शीर्षकमा भूमिका प्रदान गर्नु भएको रहेछ । केही पृष्ठ शुभकामना पनि पुस्तकको सुरुवाती खण्डमा समाविष्ट छन् ।

वास्तवमा भन्ने हो भने महाकाव्य अध्ययन गर्ने र त्यसका बारेमा लेख्ने कार्य मेरो दखल भएको विधामा पर्दैन । मेरो क्षमता यसको समीक्षा गर्ने त हुँदै होइन । म प्रतिको विश्वास डगमगाउन नदिन र पढेर केही जानकारी लिने दिने हुटहुटीका कारण पुस्तक परिचय शीर्षकमा केही लेख्न जमर्को गरेको हुँ ।

संस्कृतको ‘महत् काव्यम्’ बाट बनेको  ‘महाकाव्य’ को शाब्दिक अर्थ ठुलो वा महान् काव्य हुन्छ । महाकाव्य कस्तो हुन्छ भन्ने बारेमा पूर्व र पश्चिममा आआफ्ना मान्यता रहेको पाइन्छन् । पूर्वीयले सुखान्त काव्यका रूपमा र पश्चिमाले वीर काव्य र दुखान्त केन्द्रित काव्यका रूपमा लिएको पाइन्छ । महाकाव्यमा कथा वस्तु, पात्र, परिवेश, उद्देश्य, रस, भाषा शैली जस्ता तत्व अपेक्षित हुन्छन् । यसमा सिंगो जीवन र जगतको चित्रण हुने, नाटकीय पञ्चसन्धिमा जीवनका विविध रूप र कार्यहरूको वर्णन, आख्यानात्मकता, काव्यात्मक  भाषा शैली प्रयुक्त हुने गर्दछ । इतिहास प्रसिद्ध वा कवि कल्पित कथावस्तुमा सर्गवद्धता, उक्तिवैचित्र्यता, काव्यात्मकता महाकाव्यका विशेषता  हुन् ।

म आफैँ साहित्यको विद्यार्थी नभए पनि मेरो मानसपटलमा के छ भने महाकाव्य सिर्जना गर्ने कार्य सरल छैन । यसका लागि दृष्टिकोण स्पष्ट हुनुपर्छ, साधना आवश्यक हुन्छ । दीर्घ साधना र विराट दृष्टि चाहिन्छ महाकाव्य सिर्जना गर्नमा ।

प्रस्तुत सम्झना महाकाव्य मूलत पूर्वीय महाकाव्यात्मक मान्यतामा आधारित भएर रचित छ । यसमा संस्कृत र पूर्वीय संस्कृति प्रति अगाध आस्था दर्शाइएको छ । भाषालाई सामान्य अर्थमा सञ्चारको माध्यम हो भन्ने गरिन्छ । भाषा मानिसको जीवन पद्धतिसँग जोडिएको हुन्छ, संस्कारसँग जोडिएको हुन्छ, संस्कृतिसँग जोडिएको हुन्छ । मानव जीवनसँग अभिन्न रूपमा जोडिएको भाषा पछिल्लो समय बाह्य पक्षको अतिक्रमणमा परेको छ । यस्तो अतिक्रमणले कुनै भाषालाई विस्तार हुने अवसर पाएको छ भने कति भाषाका लागि यस्तो प्रवाह आँधीबेहरी बन्न पुगेको छ । यस्तै आँधबेहरीमा परेका भाषा मध्ये संस्कृत एउटा गहन र समृद्ध भाषा हो । यसलाई लेखकले पनि आत्मानुभूति गर्नु भएको देखिन्छ । लेखकको बुझाइमा संस्कृत भाषालाई सीमान्तकृत बनाउने कार्य हामी आफैँबाट भयो । यो वास्तविक सत्य हो । तर यस्ता कार्य कति जानेर गरियो, कति नजानेर गरियो यो छुट्टै अनुसन्धानको विषय हुन सक्छ । यसरी संस्कृत, संस्कृति, आध्यत्मिक आस्था र विश्वासको प्रतिनिधि मूलक कृति बन्ने प्रयास गरेको देखिन्छ “सम्झना” महाकाव्य ।

लेखकका अनुसार यो सामाजिक महाकाव्य हो । नायिकाको सेरोफेरोमा महाकाव्य केन्द्रित छ । प्रकृति, वातावरण खुसी छन्, खुसी देखिन्छन् तर मानिस मात्र किन दुःखी ? मैलिक सांस्कृतिक विचलन आएको हुनाले मानिस दुःखी भएका हुन् । मानिसको यही स्वभावकै कारण महाकाव्य सिर्जनाको स्रोत भएको लेखकको स्वीकारोक्ति छ । नेपाली समाजमा देखिएको अव्यवस्था, विकृति, भ्रष्ट आचरण जस्ता पक्षहरुले लेखकलाई महाकाव्य सिर्जना गर्न उर्जा प्रदान गरेको देखिन्छ ।

महाकाव्यको कथा सरल छ । पात्रहरूमा नायक वामदेव र नायिका सम्झना छन् । यिनै नायिकाको नाम नै महाकाव्यको शीर्षक रहेको छ । मातृविहीन सम्झनाको कथा वास्तवमै संवेदनायुक्त देखिन्छ । कथामा खलनायक खलनायिका आदिको उपस्थिति पनि छ । नायक नायिकाको प्रणयगाथामा रचित यस महाकाव्यमा खलनायिका चमेली र रोशनको परम्परागत संस्कारको समानान्तरमा युग चेतना र निरन्तर परिवर्तनशील जीवन सन्दर्भ कोट्याइएको छ । महाकाव्यमा रहेका पात्रहरूको माध्यमवाट लेखकले नेपाली समाज प्रति दह्रो व्यंग प्रहार गरेका छन् । कतिपय ठाउँमा पात्रपात्राको भूमिका कवि स्वयंले व्यक्त गरिदिँदा सजीव चरित्र चित्रणमा  वाधा पर्न गएको हो कि भन्ने महसुस हुन्छ ।

संवेदनशील अनुभूति, सम्प्रेष्य अभिव्यक्ति, कल्पनाशीलता, सौन्दर्य चेतना, प्रकृति प्रेम, काव्यात्मक दृश्य विधान, सर्गवद्धता, छन्दोवद्धता आदि यस महाकाव्यका विशेषता हुन् । महाकाव्यले फितलो शिक्षा नीतिका कारण मातापिता, गुरु देवता, वृद्धवृद्धा र नारी धर्म प्रति भइरहेको अपमान, दुव्र्यवहारका साथै समाजमा व्याप्त विकृति र विसंगतिले पारेको प्रभाव कोट्याउन सफल भएको देखिन्छ । राष्ट्रवाद, प्रेमवादजस्ता विभिन्न दृष्टान्त प्रस्तुत गर्दै महाकाव्यले पूर्वीय मान्यताका सत्यम्, शिवं, सुन्दरम् भावना प्रति अगाध आस्था छाड्ने प्रयत्न गरेको देखिन्छ ।

स्थानीयता वा आञ्चलिकताबाट प्रभावित  भएर ६५ दिनमा तयार गरिएको भनिएको यस महाकाव्यमा ५३ वटा छन्दको  प्रयोग,  २७ सर्ग र २०८३ श्लोक संख्या रहेका छन् । यसमा  सरल सुवोध भाषा शैली प्रयोग गर्ने रहर भएर पनि तत्सम शब्द मोह पनि देखिन्छ ।  छन्द विधान मलाउन भाषिक दोष प्रशस्त भेटिन्छन् ।

सम्झना महाकाव्य नायिका प्रधान महाकाव्य हो । अझ भनौँ प्रेम कथामा उनिएको सामाजिक महाकाव्य हो । मोफसलमा रहेर छन्दमा आधारित भई सामाजिक विषयवस्तु टिपेर महाकाव्य लेख्नु पक्कै पनि सजिलो कार्य थिएन । लेखकको प्रतिवद्धता र निरन्तरको साधनाको नतिजा स्वरूप यो महाकाव्य आएको महशुस गर्न सकिन्छ ।

वास्तवमा गहिराइमा नपुगीकन महाकाव्य छिचोल्न सकिँदैन, यसलाई छिचोल्न पनि पाठकको विहंगम दृष्टिकोण चाहिन्छ नै । यसको अभावमा महाकाव्यको रसमा चुर्लुम्म डुब्न सकिँदैन । बाहिर सतहमा रहेर जे जति मात्रा वुझ्न सकियो, त्यसकै आधारमा पुस्तक परिचय लेख्ने काम भयो ।

महाकाव्यमा रहेका सुधार गर्नु पर्ने विषयहरु भूमिका लेख्ने विद्वानहरुबाट आइनै सकेको छ । महाकाव्यका विविध पाटोका सम्बन्धमा पुस्तक समीक्षा गर्ने समीक्षकहरूबाट हुने नै छ । महाकाव्यका असली पाठकहरू बिचमा समीक्षा एवम् संवाद हुने नै छ ।
वि.सं. २००६ सालमा सिन्धुलीको कमलामाई नगरपालिकामा जन्मिएका चेतप्रसाद उपाध्याय ढकालले शास्त्री सम्मको अध्ययन गर्नु भएको छ । शिक्षण पेशामा ३१ वर्ष व्यतित गर्नु भएका ढकालले साहित्यिक कृति प्रकाशन गरी २०७५ सालमा महाकवि देवकोटा स्मृति पुरस्कार र प्रेमगंगा काव्य पुरस्कार प्राप्त गर्नु भएको देखिन्छ ।

सिर्जना गर्न गाह्रो छ । सर्जक हुने कठिन काम हो । अर्काले सिर्जना गरेका कामका बारेमा बाहिरबाट टिप्पणी गर्न सजिलो छ । तर बस्तुनिष्ठ टिप्पणी गर्ने कार्य आफैँमा चुनौती पूर्ण हुन्छ । ढकालको सम्झना महाकाव्य पुस्तकले धेरै पक्षका बारेमा सूक्ष्म परिचय दिएको छ । तर सतही आँखाबाट हेर्दा यो महाकाव्य पठनीय छ । यसबाट रसस्वादन गर्न सकिन्छ । कति लिने भन्ने विषय पाठकको रूचि र दृष्टिकोणमा भर  पर्छ ।  

अन्तमा, शिक्षा मार्फत समाज सुधारको सन्देश पस्कने जमर्को गरेका महाकाव्यकारको अन्तर्य पूरा होस् भन्ने अभिलाषाका साथ थप गुणस्तरीय साहित्यिक सिर्जना गर्न स्वस्थ, दीर्घ र सक्रीय जीवनको शुभकामना ।

  समीक्षक लम्साल, शिक्षा मन्त्रालयका सहसचिव हुन् । उनी हाल चिकित्सा शिक्षा आयोगमा सदस्य सचिवका रुपमा कार्यरत छन् ।