Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

विद्यालय छिट्टै खुल्दैनन् त अब के गर्ने ?

बुधबार, १७ बैशाख २०७७

चीनको वुहानबाट शुरु भएर संसारभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउनको निर्णय गरेसँगै घरमै बसेको पनि एक महिना वितिसक्यो । संसार नै त्राहीमाम भएका बेला हाम्रो मात्रै हैन संसारका अधिकाँश देशका मान्छेहरुको दैनिकी बदलिएको छ । यो दैनिकीमा करोडौं विद्यार्थी पनि पर्ने ने भए ।

हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने, सामान्य अवस्था हुन्थ्यो त यो समय भनेको नयाँ शैक्षिक सत्रको पठन पाठन शुरु हुने समय हो । नयाँ उर्जा सहित शिक्षक विद्यार्थी कक्षा कोठामा हुनु पर्ने यो समयमा लाखौं बालबालिका घर भित्रै थुनिएर बस्नु परेको छ । यो अवस्था कति लम्बिन्छ यसै भन्न सकिने अवस्था पनि छैन । त्यसो भनेर बालबालिकाको सिकाइ, पढाईका बारेमा पनि चुप लागेर बस्ने त ? यतिखेरको गम्भिर र चुनौतीपूर्ण प्रश्न हो यो ।

परीक्षा र अँकसँग जोडिएको हाम्रो सिकाइ प्रणालीका कारण पनि हुन सक्छ – अभिल्लो बर्षको नतिजा नआईकन विद्यार्थीले नयाँ कक्षाको पठन पाठनका बारेमा रुची राख्दैनन् । रोगको जोखिम न्यूनिकरण गर्न भन्दै कक्षा १०, ११ र १२ को परीक्षा नै स्थगित गरिएको छ भने हतारमा लिईएको कक्षा ९ सम्मको परीक्षाको नतिजा प्रकाशन भएकै छैन ।

एकातिर विद्यालय कहिले खुल्ने भन्ने यकिन नहुनु र अर्कातिर परीक्षाफल केन्द्रित  मनोविज्ञानका कारण घरमा रहेका बालबालिका किताब छुँदैनन् ।

अधिकाँश अभिभावकको एउटै प्रश्न छ – अब के गर्ने ?

मेरो बच्चालाइ एकपटक तपाइले सम्झाइदिनुस् न सर !

विद्यार्थीलाइ विद्यालय बोलाएर नियमित पठनपाठन गर्ने गराउने अवस्था छैन । विद्यालय बन्द छ भनेर अभिभावकहरुबाट आफ्ना बालबालिकालाई त्यति ध्यान नदिइनु र विद्यालय बन्द छ भनेर शिक्षकहरुले आफ्ना विद्यार्थीप्रती त्यति चासो नराख्नुले चाहिँ विद्यार्थीको सिकाइमा प्रतिकुल अवस्था सृजना नगर्ला भन्न सकिन्न ।

त्यसो भए अब के गर्ने त ?

लामो समयसम्म विद्यालय बन्द भैरहेको यस अवस्थाले सृजना गरेको प्रतिकुलतालाइ केही हदसम्म चिर्न र उपयुक्त विकल्पको खोजी गर्न विद्यालय, शिक्षक र अभिभावकले गर्न सक्ने कामहरु के के हुन सक्छन् भन्ने विषयलाइ यस आलेखमा केलाउन खोजिएको छ ः

अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षाको नतिजा रोकिएको छ । सर्वप्रथम त भौतिक दुरी कायम गरि नतिजा प्रकाशन गरौँ र फोन मार्फत सम्पुर्ण अभिभावकहरुलाइ जानकारी गरौँ । यसका लागि आफ्नो विद्यालयमा अनलाइन सिष्टमको पहुँच छ र विद्यार्थी पनि यसको पहुँचमा छन् भने त्यसकै प्रयोग गर्न पनि सकिन्छ । पाठ्यपुस्तक छपाइ सम्बन्धी काम रोकिएको छ भने सम्बन्धित निकायबाट तत्काल सुरु गरौँ ।

त्यसपछी फोन मार्फत नै विद्यार्थी भर्ना गर्न आव्हान गरौँ र विद्यार्थी भर्ना गरौँ । भौतिक दुरी कायम गर्दै विद्यार्थी भर्ना गरिसके पछि एकातर्फ उनिहरुको मानसिकतामा परिवर्तन आउँछ भने अर्कोतर्फ पाठ्यपुस्तक वितरणमा सहजता हुन्छ । प्रत्येक दिन एउटा कक्षाको विद्यार्थी बोलाइ सुरक्षाका उपायहरु अपनाएरै विद्यार्थीलाइ पाठ्यपुस्तक वितरण गरौँ । हातमा किताब पाए पछी बालबालिकामा तुलनात्मक रुपमा केही न केही सिक्ने रुची बढ्ने छ ।

शिक्षक र अभिभावक दोहोरो सम्पर्क गरिराखौँ । अनलाइन शिक्षा सबै ठाउँमा र सबैका लागि प्रभावकारी हुने देखिँदैन, टेलि एजुकेसन पद्दतीलाई विकल्पको रुपमा प्रयोग गरौँ ।

विद्यार्थीका लागि पढाइ भन्दा पनि सिकाइ बढी आवश्यक हुन्छ र यो अपरिहार्य पनि हो । अभिभावकहरुले आफ्ना बालबालिकालाई सामाजिक बन्न प्रेरित गरौँ । आफ्नो काम आँफै गर्न लगाउँ । आफ्नो भाषा संस्कृतिको प्रयोगमा उत्प्रेरित गरौँ । आफ्नो संस्कृती र संस्कार सिकाउँ । यो लकडाउनको समयलाई उनिहरुको ‘संस्कार कक्षा’ नामाकरण गरिदिउँ । बाबा आमा र गुरु भगवान हुन् भन्ने सिकाउँ । साथी को महत्व बुझाउँ । आफन्त र नातागोताको आवश्यकता बुझाइदिउँ । समाज के हो बुझाइदिउँ र एक सामाजिक प्राणीको रुपमा मानवको जिम्मेवारी के के हुन्छ सिकाइदिउँ । गणितका दुइओटा हिसाब र विज्ञानका एकाध सिद्दान्त आफ्ना छोराछोरीले पढ्न पाएनन् भनेर उनिहरुकै अघि उनिहरुको मनोबल गिर्ने कुरा नगरौँ । त्यसको साटो घर व्यवहारमा प्रयोग हुने दर्जनौ ब्यवहारिक गणित सिकाउँ । ता कि अब लकडाउन खुले पछि विद्यालय आउने समयमा सबै बालबालिकाहरु व्यवहारिक परीक्षामा ’ए प्लस’ मा उतिर्ण हुन सकुन् ।

छोराछोरी घरमै बसे, पढ्न पाएनन् भनेर पिर गर्नुपर्ने आवश्यकता छैन । अब के गर्ने भनेर सोच्ने हो भने यी र यस्ता हजारौँ उपायहरु निस्कन्छन् जसको प्रयोगले हामी हाम्रा बालबच्चालाइ विश्वविद्यालय तहभन्दा पनि माथिल्लो तहको ज्ञान घरमै दिन सक्छौ । एउटा कुशल अभिभावक र ईमान्दार शिक्षक हुनुको नाताले हामी यति त गर्न सक्छौ नि हैन र ?

घिमिरे, त्रिभुवन शान्ति नमुना मा.वि., पोखराका शिक्षक हुन् ।

प्रतिक्रिया