Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

विद्यार्थी र ईण्टरनेट : कस्ता कुरामा केन्द्रित हुने ?

मंगलबार, २० जेठ २०७७

यो समय सूचना प्रविधिको विकासको अलिले सम्मको उच्चतम् विन्दु हो । यो यत्तिकै रोकिनेवाला पनि छैन ।  सूचना प्रविधिको विकासले एका तर्फ अनेकौँ आयामहरूमा मानिसको जीवन सहज र सरल भइरहेको छ भने यसको प्रयोग सही तरिकाले हुन नसक्दा वा दुरुपयोग हुँदा मानिसको जीवनमा अनेकौँ समस्याहरू पनि आइरहेका छन् । यसका राम्रा र नराम्रा पक्षहरूबारे जानकारी राखेर मात्र यसको प्रयोग गर्न सक्नु नै मानिसको बुद्धिमानी ठहर्छ ।  हाम्रो समाजमा बालबालिकाहरूमा यसको प्रयोगलाई हेर्ने हो भने यसबाट लिने फाइदाहरू भन्दा यसले ल्याउन सक्ने समस्याहरूको जोखिम नै बढी पाइन्छ । स्मार्ट फोन, अन्य ग्याजेटहरू, ईण्टरनेट, टेलिभिजन, कम्प्युटर आदिको सचेततापूर्वक प्रयोग गर्न सकेमा यसबाट पर्न सक्ने नराम्रा असरहरूबाट बच्न नै नसकिने भने होइन ।

अभिभावकहरूले थोरै मात्र भए पनि ध्यान दिने र बालबालिकालाई सही प्रयोगमा उत्प्रेरित गर्ने हो भने बालबालिकालाई  स्क्रीनको नसा (screen addiction) को सट्टा स्क्रीनबाट फाइदा (screen benefits) तर्फ मोड्न सकिन्छ । यस आलेखमा बालबालिकालाई ईण्टरनेटको सही प्रयोगतर्फ मोड्नका लागि के के गर्न सकिन्छ भन्ने बारे सामान्य चर्चा गर्ने कोसिस गरिएको छ । बालबालिकाको व्यक्तित्व विकासका लागि ईण्टरनेटको प्रयोगमार्फत निम्न कार्यहरूमा उनीहरूलाई केन्द्रित गराउन सकिन्छ :

१. पढाइ लेखाइ सम्बन्धी अधिक ज्ञानका लागि:

बालबालिकाको नियमित पढाइका लागि ईण्टरनेट राम्रो सहयोगी बन्न सक्दछ । यसको प्रयोग अनेकौँ किसिमले गर्न सकिन्छ । पढाइमा ईण्टरनेटको प्रयोगका केही नमुनाहरू यहाँ प्रस्तुत गरिएको छ:

युट्युब वा ईण्टरनेट ब्राउजर (जस्तै chrome, opera, internet explorer आदि) मा कक्षा/स्तर अनुसारका विषयगत सामग्रीहरू खोज्ने । जस्तै: नेपालमा गरिबीको अवस्था (employment in Nepal), संसारका प्रेरणादायी व्यक्तित्वहरू (World's inspirational figures) मानिसलाई फाइदा गर्ने ब्याक्टेरियाहरू (examples of beneficial bacteria) पोषण समूह अनुसार खानेकुराका प्रकार (types of food based on nutrition group), बल र चाप- कक्षा ८ का लागि (Force and pressure for class 8),   नेपालको हावापानीबारे विस्तृत जानकारी(details of climetic conditions in nepal), मानव शरीरमा रक्तसञ्चार प्रक्रिया (blood circulation process in human body), पानीको कडापन(hardness of water), खानेकुरामा पाइने उपयोगी यौगिकहरू (important compounds found in foods items) आदि ।

नेपालमा प्रचलित पाठ्यक्रममा आधारित अनलाइन पठनपाठन सामग्रीहरू निन्न अनुसार खोज्न सकिन्छ:

अ. नियमित परीक्षामा सोधिने धेरैजसो विषयका पुराना प्रश्नपत्रहरूका लागि  www.exampapersnepal.com

आ. नेपालमा पढाइ हुने कक्षा ८ देखि माथिका धेरैजसो विषयका पाठ्य नोटहरूका लागि www.khullakitab.com

इ. कक्षा ६ देखि ८ सम्मको विज्ञान र गणित (नेपाली भाषामा) तथा अङ्ग्रेजीको लागि www.moest.himalayantechies.com (शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको अनलाइन पोर्टल)

ई. कक्षा १ देखि १० सम्मका अनलाइन सामग्रीको लागि ‘सिकाइ चौतारी' www.learning.cehrd.gov.np (शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षाको पठनपाठनका लागि तयार गरेको अनलाइन पोर्टल )

उ. शिक्षक तथा विद्यार्थीका लागि काम लाग्ने पाठ्य तथा अन्य उपयोगी सामग्रीको लागि pustakalaya.org/en/ 

साना कक्षाका विद्यार्थीलाई पढाइ र दैनिक जीवनका प्रक्रियारूलाई जोड्ने खालका सामग्रीहरू खोज्न सहयोग गर्दा राम्रो हुन्छ । जस्तै, वर्षा कसरी हुन्छ ? दिन र रात कसरी हुन्छ ? इन्द्रेणी कसरी देखिन्छ ? रोगहरू कसरी सर्छन् ? झुसिलकीराबाट पुतली कसरी बन्छ ? बिरुवाले कसरी खाना तयार गर्छ ? स्वस्थकर जीवनयापनका लागि केके गर्ने/ केके नगर्ने ? आदि ।

२. रचनात्मक सीप विकासका लागि:

फुर्सदको समयमा विद्यार्थीको रचनात्मक सीप विकासका लागि पनि ईण्टरनेट राम्रो साथी बन्न सक्छ । आफ्नो रुचिका सीपहरू विकासका लागि अनेकौँ सामग्रीहरू इन्टरनेटमा पाइन्छ । उदाहरणका लागि चित्रकला, वाद्यवादन, गायन, नृत्य, नाटक, वक्तृत्वकला, सामान्यज्ञान, लेखन सीप, खेलकुद, फोटोग्राफी, कम्प्युटर प्रोग्राम, प्राविधिक सीप आदि सम्बन्धी आधारभूत ज्ञान तथा त्यससँग सम्बन्धित विविध पक्षहरूको खोजी गर्नका लागि पनि ईण्टरनेट महत्वपूर्ण बन्न सक्दछ । त्यसैगरी अनलाइनमा वा डाउनलोड गरी पढ्न/सुन्न मिल्ने इ-बुकहरू, अडियो बुकहरू तथा पोडकास्टहरू (जस्तै ujyaaloonline.com मा विभिन्न रेडियो कार्यक्रमका पोडकास्टहरू पाइन्छन् ) पनि इन्टरनेटमा उपलब्ध हुन्छन् । अझै फराकिलो रुपमा हेर्ने हो भने इन्टरनेटमा नै अनलाइन लर्निङ/ट्रेनिङ/स्टडीको पनि व्य्वस्था गरिएको हुन्छ । यी कुराहरू चाहिँ प्रायजसो तोकिएको शुल्क तिरेर प्राप्त गर्न सकिन्छ । यसबाहेक प्रतिभा विकास गरी सफल भएका मानिसहरूको अनुभव, आत्मकथा तथा जीवनीहरू अध्ययन गरी आफ्नो कर्ममा उरत्प्रेरित हुनको लागि समेत ईण्टरनेटले सघाउ पुर्याउन सक्दछ ।

३. देश, समाज र वर्तमान परिस्थितिबारे अधिकतम् ज्ञानका लागि:

मानिसले कुनै पनि कामबाट सफलता प्राप्त गर्नका लागि समय र परिस्थितिबारे राम्रो ज्ञान लिनु जरुरी हुन्छ । यसका लागि पनि ईण्टरनेट सहयोगी बन्न सक्दछ । उदाहरणका लागि निम्न किसिमले प्रयोग  गरेर ईण्टरनेटलाई फलदायी बनाउन सकिन्छ :

- देशका ठूला समस्याहरू, देशमा सोचेजस्तो विकास/परिवर्तन नहुनुका कारणहरू आदि थाहा पाउन ।

- देशको विभिन्न स्थानमा बस्ने मानिसहरूको जनजीवनबारे जानकारी लिन ।

- देशका महत्त्वपूर्ण व्यक्ति, स्थान तथा विशेषताहरूबारे जाकारी लिन ।

- विविध महत्वका स्थानीय सामग्रीहरू जस्तै,  जडीबुटीहरू, खानेकुराहरू, प्राचीन/ऐतिहासिक  सामग्रीहरू आदिबारे जानकारी लिन ।

- देशको इतिहास, भूगोल, संस्कृति, राजनीति, आदि बारेको विश्लेषण(पाठ्यपुस्तकमा भएका भन्दा अधिक जानकारीका लागि )

- समाज परिवर्तनका लागि भए गरेका प्रयासहरूबारे जानकारी लिनका लागि आदि ।

- पत्र पत्रिकाहरूको इपेपर, अनलाइन न्युज पोर्टल, अनलाइन रेडियो, अनलाइन टिभी, तथा नियमित तयार हुने अनलाइन सामग्रीका अर्काइभ आदिका माध्यमबाट पनि धेरै समसामयिक विषयका धेरै कुराहरूबारे जानकारी हासिल गर्न ।

- संसारले विभिन्न क्षेत्रमा हासिल गरेका उपलव्धिबारे जानकारी लिन र त्यसबाट उत्प्रेरित हुन ।

- मानवीय गतिविधिका कारण वातावरणमा उत्पन्न समस्याहरू, त्यसले पार्ने प्रभावहरू, त्यसबाट बच्ने उपायहरू, वातावरण संरक्षणका लागि गर्नुपर्ने कामहरू आदिका बारेमा जानकारी लिनको लागि ।

४. मनोरञ्जन र स्फूर्तिका लागि:

धेरै मानिसले ईण्टरनेटलाई मनोरञ्जनको साधनका रुपमा लिने गरेका छन् । कतिपयले अनलाइन गेम खेलेर, कसैले सामाजिक सञ्जालको माध्यमबाट, कसैले गीतसङ्गीत, कसैले भिडियो/चलचित्र आदिका माध्यमबाट मनोरञ्जन लिइरहेका हुन्छन् । किशोरावस्थामा कतिपय बालबालिकाहरूले मनोरञ्जनका लागि नग्न सामग्रीहरूलाई नियमित रुपमा हेर्ने कुरालाई अध्ययनहरूले पनि देखाएका छन् । तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने बालबालिकाले  ईण्टरनेटका माध्यमबाट मनोरञ्जन र स्फूर्ति प्राप्त गर्ने कुरालाई पनि व्यवस्थित बनाउन सकिन्छ । उदाहरणका लागि बालबालिकालाई निम्न कुरामा केन्द्रित गरेर सार्थक मनोरञ्जन प्रदान गर्न सकिन्छ :

- सकेसम्म आफ्नो जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका गीतसङ्गीत, चलचित्र, वृत्तचित्र, भिडियो, नाटक आदि ।

- स्तर अनुसारका हास्य/व्यङ्ग्य सामग्रीहरू

- संसारका अनौठा, अद्भूत र रहस्यमयी कुराहरूसम्बन्धी सामग्री ।

- बालबालिकालाई उत्प्रेरणा जगाउने खालका(motivational) सामग्रीहरू आदि ।

- व्यायाम तथा योगअभ्यास सम्बन्धी ज्ञान ।

- आत्मिक विज्ञान, आत्माको बारेमा विभिन्न योगी, दार्शनिक तथा चिन्तकहरूको विश्लेषण

- ध्यान साधना सम्बन्धी आधारभूत ज्ञान आदि ।

बालबालिकालाई ईण्टरनेट बरदान कि अभिषाप भन्ने सन्दर्भमा धेरै बहस, व्याख्या र विश्लेषणहरू भइरहेका हुन्छन् । ईण्टरनेटलाई कस्तो बनाउने भन्ने कुरा यसको प्रयोगमा निर्भर रहन्छ । ईण्टरनेटको प्रयोगका सन्दर्भमा अभिभावकले पनि आवश्यकता अनुसार आफ्ना बालबालिकालाई सही मार्गनिर्देश गर्न सकेमा ईण्टरनेट बरदान बन्न सक्दछ ।

लामिछाने मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा प्राध्यापनरत छन् ।

प्रतिक्रिया