Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

वैकल्पिक सिकाइ : शिक्षक र अभिभावक बिचको वार्ता

मंगलबार, ०२ असार २०७७

कोरोना भाईरस (कोभिड - १९) का कारण विद्यालयहरु बन्द छन्, बालबालिकाको सिकाइ प्रभावित भएको छ । यस्तो अवस्थामा सरकारले हिजोबाट (असार १) वैकल्पिक विधिबाट सिकाइ शुरु भएको घोषणा गरेको छ । प्रविधि पुहँचको आधारमा विद्यार्थीलाई ५ वर्गमा विभाजन गरी जारी गरिएको निर्देशिकाका आधारमा वैकल्पिक सिकाइ शुरु गरिएको छ ।

सरकारले निर्देशिका जारी गर्नु अघि नै कतिपय निजी विद्यालयहरुले अनलाईन विधिबाट पठनपाठन शुरु गरिसकेका थिए । सरकारले औपचारिक शुरुवातको घोषणा गरे पनि कतिपय सामुदायिक विद्यालयका विद्यार्थी अझै पनि सिकाइमा जोडिन कठिन देखिन्छ । औषतमा हेर्दा शहर केन्द्रित बालबालिका स्वभाविक रुपमा प्रविधि पहुँचमा देखिन्छन् । तर यसका जटिलता धेरै छन् ।

निजी विद्यालय शहर केन्द्रित छन्, उनीहरुलाई प्रविधि पहुँच असहज नहोला तर शहरमै भएका अधिकाँश सामुदायिक विद्यालयको हालत खराव छ, त्यहाँ पढ्ने बालबालिकाको पारिवारिक पृष्ठभूमि आँकलन नगरी प्रविधि पहुँचमा छन् भन्न थालियो भने यसले बालबालिकाको सिकाइमा ठूलो खाडल ल्याउने छ ।

अहिले नै धनिमानिले निजीमा र नहुनेका सन्तान सामुदायिकमा भन्ने मानक स्थापित भईसकेको छ । यस्तो अवस्थामा  अनलाईन कक्षाले विद्यार्थी प्रविधि सहित र प्रविधि रहितको दुई  वर्गमा विभाजन गरिदिने छ । तितो यथार्थ के छ भने प्रविधिको पहुँच नभएका विद्यार्थीलाई भन्दा उनका अभिभावकहरुलाई यस बिषयले सताईरहेको छ । शिक्षकहरु पनि यस्तै पहुँच भन्दा बाहिर हुन सक्छन् । यसको आँकलन जरुरी छ ।

अनलाईन तथा भर्चुअल  कक्षाहरु सञ्चालन भैइरहदा विद्यार्थी स्वयंमले आर्थिक विभेद भोग्नुपर्ने वातावरण सिर्जना भईरहेको छ । हाल सालै मात्र भारतको केरलामा १४ वर्षीय बालिकाले आफ्नो घरमा ईण्टरनेट र ल्यापटपको पहुँच नभएकै कारण आत्महत्या गरेको खबर सुन्न परेको थियो ।

काठमाडौ उपत्यका र मुख्य शहरलाई मात्रै हेरेर नीति नियम तर्जुमा गर्ने क्रमबाट माथि उठ्नु जरुरी छ । त्यस माथि सामुदायिक विद्यालयका ५६ लाख र निजीका २५ लाख बालबालिका प्रविधी पहुँच भन्दा बाहिर छन् भनिन्छ । झट्ट हेर्दा निजी विद्यालयहरु प्रविधिको पहुँचमा छन् भनिए पनि धरातलीय यथार्थ फरक छ । निजी विद्यालयमा पनि एक आपसमा ठूलो अन्तर छ । यस सन्दर्भमा एउटा निजी विद्यालयका शिक्षक र अभिभावक बिच भएको फोन वार्ताले हामलाई यसका जटिलता बुझ्न सघाउने छ ।

अभिभावक :  हेलो सर । नमस्कार ।

शिक्षक : नमस्कार,नमस्कार । आराम हुनुहुन्छ ?

अभिभावक : आरामै भनौं सर, अहिले सम्म, जताततै कोरोना भाईरसको कुरा चलिराछ, खै के पो हो सर !

शिक्षक : त्यही त, अवस्था जटिल देखिदैं छ, तै पनि होशियारी अपनाउने हो भने, त्ति आत्तिनु पर्ने अवस्था देखिएन । तर ध्यान चैं दिनु पर्छ है ।

अभिभावक :  हो त सर, एकातिर रोगको डर, अर्कातिर बच्चाहरु विग्रेने भए भन्ने पिर ! हैन, सर हाम्रा बच्चाहरुको लागि पनि अनलाईन क्लास चलाउनु प¥यो !

शिक्षक :  तपाईका नानीहरु त भर्खरै १ र २  कक्षामा पढ्ने होइन र ?

अभिभावक :  हो सर ! त्यै भएर त भनेको सर, बच्चाहरु फुर्सदमा भएर हैरान भयो ।

शिक्षक :  अँ..... साना साना नानिहरुको लागी यस्तो अनलाईन कक्षाहरु त उपयुुक्त देखिन्न त्यसैले हाम्रो स्कुलले यस्तो साना नानिहरुका लागी अनलाईन कक्षाहरु व्यवस्था गरेको छैन ।

अभिभावक : सर यता छिमेकिका छोराछोरी पढ्ने स्कुलले त प्ले ग्रुपदेखी नै अनलाईन क्लास चलाईरहेको छ । हाम्रो नि गर्नुप¥यो नी !

शिक्षक : त्यस्तो अनलाईन कक्षा चलाउने ठूलो कुरा होइन । साना नानिहरुको लागी उपयुुक्त देखिदैन के ! फलानोले चलायो भन्दैमा नगरौं, हतार नगरौं, कुनै न कुनै दिन स्कूल खुल्ला अनी त्यतिखेर राम्रैसंग पढाउँला नि !

अभिभावक :  तपाईहरु चलाउनुस् न सर ! हामी सकेको सहयोग गरौंला ! यहाँ बच्चाहरुले हैरान पारिसके ! चिनेका अक्षरहरु नि बिर्सिन लागे !

शिक्षक : बच्चाहरुको खेल्ने कुद्ने उमेर नै हो । खेलाउनुस् न । यस्तो संकटको बेला छ, अक्षरहरु त तपाईहरुले नै अलि अलि चिनाउदै गराउँदा हुन्थ्यो कि ?

अभिभावक : हामीलाई कहाँ टेर्छन् र बच्चाहरुले तपाईहरुले नै गर्नु पर्यो के पढाउने काम त !

शिक्षक :  तपाई करै गर्नुहुन्छ भने सल्लह गरौंला नी त ! है ।

अभिभावक : हस सर । सकेसम्म चाँडो चलाउनुस् ।धन्यवाद सर ! नमस्कार । ल राख्छु ।

शिक्षक :  हस त धन्यवाद तपाईलाई सुझावको लागि !

(अरु अभिभावकले पनि यस्तै अनुरोध गर्छन् विद्यालयले पनि अभिभावकको चाहना पुरा गर्ने निर्णय गर्छ, केही दिन पछि विद्यालयले अनलाईन कक्षा शुरु गर्ने समय तालिका सहित सूचना प्रकाशित गर्छ । कक्षाहरु शुरु पनि हुन्छ । कक्षा शुरु भएको ३ दिन पछी फेरि उहि अभिभावकको फोन आउँछ )

अभिभावक : हेलो सर नमस्कार !

शिक्षक : नमस्ते हजुर । भन्नुस !

अभिभावक :  सर हामिलाई त आपतै प¥यो ।

शिक्षक : के भयो ? मैले कुरा बुझिन त !

अभिभावक : त्यै त सर ! मेरा दुईटा बच्चाहरु अनलाईन कक्षामा बस्नै चाहेन । शुरु शुरुमा एक दुई दिन सजिलै बसे तर अहिले मान्दै मान्दैनन् । उनीहरुको लागी एउटै समयमा क्लास हुने रहेछ । हामिसंग मोावईल मात्रै छ, ल्यापटप नि छैन । फेरि सबै काम हामीले नै गरिदिनुपर्ने , क्लास नसकिञ्जेल कुरिरहरनु पर्ने रहेछ नि !  अनि क्लासको रुटिन पनि नमिल्ने हाम्रो लागी ! हामिलाई त गाह्रो भो । फेरि नेट पनि अर्काको घरबाट ल्याएको छिनछिनमा चल्ने नचल्ने भैरहन्छ । कतिखेर झ्याप्प बत्ति जान्छ, समस्या पो भयो सर !

शिक्षक : अब हामिले के गर्न सक्छौं त ?

अभिभावक : (लामो सास तान्दै) यस्तो समस्या आउने थाहा थिएन । सरले त अस्ति नै हुँदैन भन्नु भाकै थियो । मैले कुरै नबुझी भनेछु । (हाँस्दै) यो क्लास त   बच्चाहरुको लागि भन्दा हामी अभिभावकहरुको लागि हो कि जस्तो भान भयो । मेरा नानिहरुलाई चै नराखम् क्यारे भनेर फोन गरेको !

शिक्षक : अस्ति नचलाऔं भनेको थिएँ, तपाईहरुले नै फलानाले त चलायो, फलानाले यस्तो गर्यो भनेर भन्नुभयो । त्यसैले तपाईहरुकै सुझाव अनुसार चलाएको हो । ठूला कक्षाका विद्यार्थी र कलेजका विद्यार्थीलाई अनलाईन कक्षा  उपयुुक्त भए पनि साना नानिहरुको लागी सजिलो छैन ।

अब के गर्ने हामिले नि ? अनलाईन कक्षा नचलाए स्कूललाई नै नराम्रो सोच्ने देखियो । स्कूलको गुडविलको लागि भए पनि चलाउनु पर्यो । वाध्यताले भए नि चलाउनुपर्यो त ! तपाईका नानिहरुलाई अनलाईन कक्षामा राख्न नसके नराख्नुस् । अनलाईन कक्षामा नराख्नु भन्नुको अर्थ सिकाइ नै बन्द गर्नु भन्नु होइन नि ! घरकै काममा लगाउनु, समय मिलाएर उनीहरुलाई पनि आफूले गरेको काममा लगाउनु, सिकाउनु, ज्ञान गुनका कुरा गर्नु, व्यवहारिक कुरा सिकाउनुस् ! बालबालिकाको त घर नै पहिलो पाठशाला भनिन्छ नी हैन र ? तपाई नै पहिलो शिक्षक हो नी ।

अभिभावक : अब त्यसै गर्नु पर्ला, एक न एक दिन त स्कुल खुल्ने होला नी, अनी बच्चाहरु पठाम्ला !

शिक्षक : हुन्छ । तर तपाईहरुले यति बुझ्नुस् ! अनलाईन कक्षा वैकल्पिक शिक्षण माध्यम मात्रै हो दिगो सिकाइ माध्यम होइन । त्यसैले  अनिवार्य बसाउनु पर्छ भन्ने छैन । अनि फलानो स्कूलले चलायो  त्यो स्कूल राम्रो होला, फलानोले चलाएन नराम्रो स्कूल होला भनेर मूल्यांकन गर्ने बानी पनि त्याग्नु पर्छ है त । अनलाईन कक्षालाई फेशन जस्तो नठानौं है ।

अभिभावक : (हाँस्दै) हुन्छ सर, अहिलेलाई राख्छु । धन्यवाद छ सरलाई । नमस्कार ।

शिक्षक : हस हुन्छ । तपाईहरु सुरक्षित रहनुस है त । ल नमस्कार !

सुकुपायो, भक्तपुर स्थित एक सामुदायिक विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया