Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शैक्षिक संस्था बन्द हुन सक्छन् : स्वास्थ्य प्रवक्ता

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं - कोरोना भाईरस कोभिड १९ को नयाँ भेरियण्टका कारण बढ्दै गएको संक्रमण जोखिमलाई ध्यान दिदैं स्वास्थ्य मन्त्रालयले अनावश्यक भिडभाडमा रोक लगाउन सिफारिस गरेको छ । २५ जना भन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । यो सिफारिस सँगै शैक्षिक संस्था बन्द हुन सक्ने उनको भनाई छ । शुरु देखि नै आफूहरुले जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे पनि शैक्षिक संस्थाहरुमा त्यो कुरालाई गम्भिरता पूर्वक नलिएको देखिएको उनले बताए । 

'जनस्वास्थ्यका मापदण्ड पालना प्रति मान्छेहरुले हेलचेक्र्याई गर्दै आएको देखिन्छ, त्यसैले भिडभाड हुने ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरिएको हो' उनले भने 'विद्यालयका सन्दर्भमा पनि कुरा त्यही हो, कतिपय विद्यालयहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको देखिएको छ, विद्यालय भन्दैमा महामारीले छुट दिदैंन क्यारे, त्यसैले गम्भिर त हुनै पर्यो ।'

आफूहरुले सिफारिस गरेको र यसको निर्णय कोभिड–१९ संकट व्यवस्थापन सेण्टर (सीसीएमसी) ले गर्ने उनले बताए । 

शिक्षा मन्त्रालयले पाँच महिना अघि जारी गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचामा विद्यालय खोल्ने नखोल्ने कुरा जोखिमको अवस्था विश्लेषण गरेर स्थानीय सरकारले गर्न सक्ने व्यवस्था छ । कोरोना संक्रमणको शुरुको अवस्थामा गत बर्ष, जोखिमको विश्लेषण हेरी विद्यालय खोल्ने नखोल्ने निर्णय स्थानीय सरकारलाई छाडिदिनु पर्ने सुझावलाई शिक्षा मन्त्रालयले वेवास्ता गर्दै आएको थियो । कोरोनाको ७ महिना पछि जारी ढाँचामा स्थानीय सरकार र विद्यालयको भूमिकालाई आत्मसात गरिएको छ । 

प्रतिक्रिया