Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
शिक्षामा यो साता

बढ्दै कोभिडको त्रास !

आइतबार, ०५ बैशाख २०७८

काठमाडौं - गत साताभरी प्रकाशित शिक्षा सम्बन्धि अधिकांश खबरमा बढ्दो कोभिड सङक्रमण र रोकथामका लागि गर्नुपर्ने आवश्यक क्रियाकलापको बारेमा उल्लेख गरिएको छ । यस्तै अन्य शैक्षिक समाचारमा शारीरिक सजायका विषयहरु रहेका छन् । 

समाचार अनुसार बैतडीको सिगास गाउँपालिकाका निजी स्रोतमा कार्यरत शिक्षकहरूले आन्दोलन गरेका छन् । स्वयंसेवक शिक्षक संघर्ष समितिका शिक्षकहरूले बिगत नौ महिना देखि आफूहरूले तलब नपाएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताएका छन् । 

ई–लर्निडको लागि टेक स्याभिसँगको सहकार्यकमा इनोभेट टेक्नोलोजीले ’माइ सेकेण्ड टिचर’ नामको सिकाइ पल्याटफर्म सार्वजनिक गरेको छ । यो अनलाइनमा आधारित पल्याटफर्ममा कक्षा १० का मुख्य तीन विषय गणित, विज्ञान र अङ्ग्रेजी तथा अतिरिक्त अर्थशास्त्रका भिडियो सामग्रीहरू उपलब्ध छन् । समाचार अनुसार सिकाइको यो प्रविधि अप्रिल ९ बाट उपलब्ध हुनेछ र यसको सुविधा लिन ग्राहकले डिजिटल कारोबार एप्सबाट पैसा तिर्न सक्नेछन् । 

यसैगरी समाचारमा उल्लेख भए अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको मुसिकोटमा माथिल्लो तहको विद्यालय नभएर अध्ययन गर्न वञ्चित भएपछि बालबिवाहको दरमा वृद्धि भएको छ । गाउँ आफैमा गरिबीको परिचायक जस्तो छ । बालबालिकाहरूले कक्षा १० सम्मको अध्ययन पछि पढाइ छोड्ने गरेका छन् । समाचारमा उल्लेख भए अनुसार स्थानीय बासिन्दाले कक्षा १० को पढाइ पछि उनीहरूको पहिलो प्राथमिकता नै बिहे गर्ने हुने गरेको बताएका छन । 

एक सम्पादकीयमा उल्लेख भए अनुसार कानुनबाट मात्र बालबिवाहमा रोक लगाएर समस्या समाधान हुन सक्दैन । गाउँमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई सँगसँगै सञ्चालन गरेर दीर्घकालीन रुपमा बालबिवाहलाई निरुत्साहित गर्न सकिन्छ । 

गत साता पनि शारिरीक सजायसँग सम्बन्धित समाचार नेपाली सञ्चार माध्यममा निरन्तर रुपमा प्रकाशन भए । समाचारमा काठमाडौं र अछाममा भएका शारीरिक सजायसँग सम्बन्धित विषयहरू उल्लेख गरिएका थिए । 
रौतहटको वृन्दावन नगरपालिकाको सरस्वती माध्यमिक विद्यालयका शिक्षकलाई कुटपिट गरेको आरोपमा विद्यालय प्रशासनले नौ जना विद्यार्थीलाई निष्कासन गरेको छ । शिक्षकलाई आक्रमण भएकाले विद्यालयले अभिभावकका विरुद्ध कानुनी कारवाहीको प्रकृया शुरु गर्दै विद्यार्थीलाई निष्कासन गरेको समाचारमा उल्लेख छ । शिक्षकले कक्षामा हल्ला गरेको भन्दै उनीहरूलाई सजाय दिएको र उनीहरूले आक्रमण गरेको समाचारमा उल्लेख गरिएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका स्थित श्री बाल मन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले थप ४ करोड भन्दा बढी अनुदान दिने भएको छ । 

विद्यालयमा पर्याप्त शिक्षकको व्यवस्था नगरी विद्यालयले सामुदायिक कोषको दुरुपयोग गरेको भन्दै समुदाय र विद्यालयका बीच द्वन्द भएको अर्को एक समाचारमा उल्लेख गरिएको छ । 

पाठक पत्रमा उल्लेख गरिए अनुसार विद्यार्थीको विभिन्नतालाई बुझ्ने र सम्मान गर्ने तथा सिकाइमा बालबालिकाको सिर्जनात्मक क्षमतालाई उजागर गर्न शिक्षकहरू नै प्रतिवद्ध नहुदासम्म बालबालिकाको पूर्ण विकास कठिन हुन्छ भनिएको छ । 

विज्ञहरुका अनुसार ठूला शहरका विद्यालयमा कोभिड संक्रमणको जोखिम बढिरहेको समाचारमा उल्लेख गरिएको छ । 

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले देशभरका शैक्षिक संस्था बन्द गर्न नहुने तर्क गरेको छ । स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको छ । प्याब्सनले भने देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णयले शैक्षिक क्षेत्रमा धेरै नै असर पर्ने जनाएको छ । प्याब्सनले एक विज्ञप्ती जारी गर्दै सरकारले विद्यालय सञ्चालनका लागि उपर्युक्त वातावरण सिर्जना गर्नुपर्ने जनाएको छ । प्याव्सनले शिक्षक, कर्मचारी र विद्यार्थी सबैका लागि खोप लगाउने र स्वास्थ्य मापदण्ड पालना गर्ने तर विद्यालय बन्द नगर्ने जनाएको छ ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा चैत २५ देखि ३१ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Threat of COVID return !

 

प्रतिक्रिया