शिक्षकको कार्यकक्षमा व्यवस्थापन समितिका अध्यक्षले प्रअ माथि हातपात गरेको, विद्यार्थी नियमित बनाउन शिक्षक घरदैलोमा गएको र त्रिविको शैक्षिक क्यालेण्डर सार्वजनिक भएको समाचार गत दुई साता प्राथमिकतामा रहे ।
काठमाडौं - सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाको भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अञ्जना भण्डारीलाई व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङले विद्यालय व्यवस्थापन समितिको बैठक बोलाउन काटेको पत्रमा मिति नमिलेको आरोपमा कुटपिट गर्दा आँखामा लागेको चोटको फोटो सहितको समाचारले गत साता प्राथमिकता पायो ।
प्रअ भण्डारीमाथि कुटपिट भएको भन्दै नेपाल शिक्षक महासंघ पालिका कार्यसमितिले दोषीलाई कारबाही गर्न माग गरेको छ । समाचार अनुसार प्रअले अध्यक्ष बिरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् ।
विद्यालयको सिकाइ सुधार लगायत सबै सुधारमा प्रधानाध्यापकको महत्वपूर्ण भूमिका हुन्छ । प्रधानाध्यापक र व्यवस्थापन समितिको बीचको समझदारी, आपसी सहयोग र समन्वयमा नै विद्यालय सहज तरिकाले सञ्चालन हुने र सुधारका कार्य हुनसक्ने हो । प्रधानाध्यापक र अध्यक्ष मिलेर विद्यालय सुधार भएका प्रसस्त उदाहरण छन् । सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा शिक्षकको आत्मबलको भूमिका महत्वपूर्ण हुन्छ । स्वार्थ नमिल्दा आपसमा खटपट पनि हुनसक्छ । तर प्रअलाई हातपात गर्ने कार्य कुनै हिसाबले पनि उपयुक्त हुन सक्दैन । प्रअले बद्मासी नै गरेको भए त्यसको छिनोफानो गर्ने र कारबाही गर्ने वैधानिक प्रकृया छन् । विव्यस हिंसामा उत्रनु कदापि सह्य विषय होइन । प्रअले आफु माथि भएको घटना नलुकाई बाहिर ल्याउने र प्रहरीमा जाहेरी दिने आँट गरेकी छिन् ।
अझ शैक्षिक दृष्टिले यो विव्यस अध्यक्ष सुहाउँदो व्यवहार हैन । यसले विव्यसहरुको स्वीकार्यतामा आँच आउँछ । त्यसै पनि अरु सरोकारवाला विद्यालय व्यवस्थापन समितिका समर्थक नरहेका बेला यस्ता घटनाले विव्यसको आवश्यकता प्रति नकारात्मक सन्देश दिन्छन् । विव्यस महासँघ सक्रिय र जिम्मेवार हुने हो भने तथ्य जाँच गरी प्रअसँग माफी माग्नु र अध्यक्षका हर्कतको भर्त्सना गर्नु पर्दछ ।
बाजुराको हिमाली गाउँपालिकाका विद्यालयमा शिक्षक नियमित आउने भए पनि चिसो र जडिबुटी संकलन गर्न गएकै करण विद्यार्थी आउन छाडेको समाचार छ । कोही जडीबुटी सङ्कलन तथा कोही भेडाबाख्रा लिएर बेसी जाने गरेकाले पछिल्लो समय अधिकांश विद्यालय खाली हुने गरेको समाचारमा उल्लेख छ ।
विद्यालय खोल्ने र विदा दिने क्यालेण्डर स्थानीय परिवेश अनुरुप बनाउनु पर्ने यस्तै अवस्थाको व्यवस्थापनका लागि हो । बाजुराका लेकमा जडुबुटी संकलन गर्ने मौसममा (जुन उनीहरुको पारिवारिक आम्दानीको मुख्य स्रोत हुनसक्छ) उनीहरुको तत्कालको पारिवारिक आवश्यकताले प्राथमिकता पाउनु स्वभाविक हो । विद्यार्थीले परम्परागत पेशागत ज्ञान सिक्नु पनि महत्वपूर्ण सिकाइ हो । यी ज्ञान विद्यालयले सिकाउँदैन तर उनीहरुले अभ्यासबाट सिक्ने अवसर आउने अवस्थामा विद्यालयले त्यो अवसर दिन विचार गर्नु राम्रो हुन्छ । जडिबुटी चिन्ने, संकलनको सीप र भेडी गोठ सार्ने सीप सिक्ने अवसरलाई विचार नगरी यस्ता अवसरलाई विद्यार्थी विद्यालयमा भएनन् भनेर नकारत्मक अर्थ लाग्ने गरी समाचार बनाउनु सञ्चारमाध्यमले पनि सिकाइका विविध अवसरलाई नबुझेर कक्षाकोठा र शिक्षकको प्रवचनलाई महत्व दिएको देखिन्छ ।
लहानको पिडरबोनी माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षक दलित बस्तीको घरदैलोमा पुगेर विद्यार्थीलाई नियमित विद्यालय पठाउन आग्रह गर्न थालेको छन् । सामुदायिक विद्यालयमा पढ्ने अधिकांश दलित विपन्न समुदायका बालबालिका विद्यालयमा नियमित नहुने गरेकाले शिक्षकले यस्तो अभियान गरेको समाचारमा उल्लेख छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीको उपस्थिति न्यून भएपछि विद्यालयको सुधार गर्न कठिनाइ हुँदा घरघरै पुगेर नियमित विद्यालय पठाउन अभिभावकसँग आग्रह गर्न थालेका हुन् ।
गुल्मीको सत्यवती गाउँपालिकाको भार्से जनसहयोग माविमा विद्यार्थी टिकाउन प्रविधिमैत्री शिक्षा अभियान सफल भएको समाचार छ । बसाइँसराइले विद्यार्थी सङ्ख्या घट्दै गएपछि प्रविधिमैत्री शिक्षा अभियान सञ्चालन गरिएको समाचारमा उल्लेख छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि १५ दिनको समय दिएर दरखास्त आह्वान गरिएको समाचार छ ।
मध्यपश्चिम विश्वविद्यालय र भारतको भुवनेश्वरस्थित बिरला ग्लोबल विश्वविद्यालयबिच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि दुई पक्षीय समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको समाचारमा छ ।
अध्ययन बिदा लिएर शिक्षक तथा कर्मचारी सेवामा नफर्किंदा दुई अर्ब बढी नोक्सान भए पछि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले अध्ययन बिदा लिएर नफर्किएका शिक्षक कर्मचारीलाई सम्पर्कमा आउन ३५ दिने सूचना निकालेको समाचार छ ।
यस अघि त्रिविले अध्ययन विदामा गएर नफर्केका शिक्षक कर्मचारीले विदाको अवधिमा लिएको तलबभत्ता फिर्ता गराउने अभियान चालेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको पहलमा त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर परिसरको जग्गामा फैलिएको करिब तीन सय रोपनी झाडी फाँडिएको गोरखापत्रमा समाचार छ । झाडी फाँडिएको क्षेत्र तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा बगैँचा बनाइएकोमा बगैँचा स्याहार नहुँदा अहिले ठुलो झाडीका रूपमा परिणत भएको थियो ।
त्रिवि केन्द्रीय कार्यालयले बनाउन लागेको क्याफ्टेरियाको विद्यार्थीले विरोध गरेपछि ठेकेदार पक्षले विद्यार्थी नेताहरूमाथि कुटपिट गरेपछि निर्माण नै रोकिएको समाचार छ ।
त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक भएपछि अन्य निकायले हडपेका र अतिक्रमण भएका जग्गा फिर्ता ल्याउन त्रिविले आन्तरिक तयारी सुरु गरेको छ । प्रतिवेदनले औँल्याए अनुसार हरेक जग्गाको एक एक कित्ता हिसाब गरेर फिर्ता ल्याउने त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्यालले गोरखापत्रलाई बताएको समाचार छ ।
त्यस्तै त्रिविले यस शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । समाचार अनुसार त्रिविका ६४ आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पस र ४४ केन्द्रीय निकायलाई ‘शैक्षिक क्यालेण्डर’ अनुसार कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्न निर्देशन समेत दिइसकेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि होम सेण्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको समाचार छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सीटीइभीटीको १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेको थियो । परीक्षार्थीको सम्बन्धित शिक्षण संस्थामा परीक्षा केन्द्र (होम सेण्टर) कायम गरेर ४ मंसिरबाट परीक्षा लिन लागेको हो ।
प्रमोद आचार्यले गोरखापत्रमा सीटीईभीटीले विद्यार्थीलाई प्राविधिक शिक्षामा आकर्षण गर्न नसकेको लेखेका छन् । समयमै भर्ना प्रव्रिmया सकी पढाइ सुरु नहुनु र तोकिएका कोर्स समाप्त नहुनु, समयमै परीक्षा लिने र नतिजा प्रकाशन गर्ने तथा प्रमाणपत्र दिने काम गर्न नसक्दा प्राविधिक शिक्षामा समस्या भएको लेखमा औल्याइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम हाल सिंहदरबार र केशरमहल दुबै ठाउँबाट भइरहेको छ । जेनजी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगजनी भएपछि अस्थायी रूपमा मन्त्रालय केशरमहलमा सारिएको थियो । असोज ६ गते मन्त्री भएपछि केशरमहलमै बसेका महावीर पुन मन्त्रालयको मूल काम सिंहदरबारबाट हुन थालेपछि उनको बास पनि सिंहदरबार सरेको समाचारमा उल्लेख छ ।
शिक्षक सरुवाका विषयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्थानीय ऐनका आधारमा शिक्षकको सरुवा, प्रधानाध्यापक व्यवस्थापन, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन गरेपछि शिक्षकहरुले त्यसको विरोध गर्दै खारेजीको माग छन् । नगरपालिकाले कात्तिक १२ गते शिक्षक सरुवा गरेको थियो ।
इनरुवा नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा आन्तरिक प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने प्रक्रिया नौ महिनासम्म पनि नभएको भन्दै शिक्षा अभियन्ताले ध्यानाकर्षण गराएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन अनुसार शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंले काठमाडौं महानगरपालिका बाहेक काठमाडौं जिल्लाका सबै नगरपालिकामा रहेका सार्वजनिक विद्यालयमा अविलम्ब प्रधानाध्यापक नियुक्त गर्न निर्देशन गरेको समाचार छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का पूर्णदृष्टिविहीन शिक्षक टीकाराम घिमिरे हरेक बिहान अँध्यारोमै उठेर एक सय किलोमिटर टाढाको बगौली माध्यमिक विद्यालय पुग्ने गरेका छन् । यसले दृष्टिविहीन शिक्षकलाई सहज स्थानमा राख्ने नीति कागजमा मात्र सीमित भएको देखाउने समाचारमा उल्लेख छ ।
कानुनमा स्नातकोत्तर तह निःशुल्क पढ्न पाउनु पर्ने माग राखेर ७० वर्षीया शान्ति चौधरीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई भेटेको समाचार छ । कानुनमा स्नातक गरेकी चौधरीले संविधानले ज्येष्ठ नागरिकलाई संरक्षण गर्ने भनिए पनि सेवा सुविधा नपाएपछि निवेदन दिन मन्त्रालय गएको समाचारमा उल्लेख छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत ५० जनाको कोटा भएको रोल्पाको कृषि कलेजमा कोही पनि विद्यार्थी भर्ना नै नभएको र बाँकेको खजुरा कलेजमा सात जनाले मात्रै भर्ना भएको समाचारमा छ ।
त्यस्तै रमेशप्रसाद गौतमले गोरखापत्रमा सार्वजनिक विद्यालय सुधारबिना बालबालिकाको भविष्य सुनिश्चित नहुने लेखेका छन् ।
रमेशप्रसाद अधिकारीले कान्तिपुरमा जेनजी आन्दोलन पछि कस्तो शिक्षा भन्ने शीर्षकमा लेख लेखेका छन् । शिक्षालाई ज्ञान हस्तान्तरणको विधि मात्र ठान्दा शिक्षाको उद्देश्य पूरा नहुने ठोकुवा गर्दै विद्यार्थीलाई भविष्यका लागि सक्षम, जागरुक र जिम्मेवार नागरिक बनाउन सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक शिक्षा पढाउनु आवश्यक रहेको लेखमा उल्लेख छ ।
रविप्रसाद बरालले गोरखापत्रमा जीवनसंग जोड्ने शिक्षा शीर्षकमा असल शिक्षाको लागि मानिसलाई केवल ज्ञान मात्र नभई विवेक, करुणा र सामाजिक उत्तरदायित्व प्रदान गर्नुपर्ने र शिक्षा प्रणालीमा यी गुणहरू आत्मसात हुनुपर्ने लेखेका छन् ।
चार वर्षभन्दा कम उमेरका बालबालिकालाई घोकाउने, कण्ठ गराउने र यस्तै प्रकृतिका गृहकार्य दिने विद्यमान अभ्यासले बालबालिकाको सिर्जनशीलता, अन्तरनिहित प्रतिभा र सम्भावनालाई कुण्ठित गर्ने भएकोले मनोरञ्जनात्मक क्रियाकलाप, खेलका माध्यमबाट सिकाइ र विकासको अवसर दिनु पर्ने धनसुदन चौलागाईको गोरखापत्रमा लेख छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दुलेखर्कमा अवस्थित रितुङ्ग माध्यमिक विद्यालयमा देविप्रसाद छन्त्यालको स्मृतिमा उनका घरपरिवार र आफन्तजनले स्मार्ट बोर्ड खरिद गर्न आर्थिक सहयोग प्रदान गरेको समाचार छ ।
इन्द्र बिलास घिमिरेले गोरखापत्रमा विद्यालयको भौतिक सुविधा जुटाउनु भन्दा कार्यरत अधिकांश शिक्षकलाई विद्यार्थी शिक्षण गर्न, मूल्याङ्कन गर्न कुशल र दक्ष बनाउनुपर्ने र शिक्षकलाई शिक्षण र मूल्याङ्कन गर्न दक्ष तुल्याउन सके अरू तपसिलका विषय आफैँ सुधार हुने उनको तर्क छ ।
बेलायती राजदूत रोब फेनल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटवार्ता गरेर नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) मा बेलायतको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको समाचार छ ।
साताभरिका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई यसमा समेटिन्छ । यस पटक २०८२ कात्तिक ८ देखि २१ गते सम्म दुई साताका विषयवस्तु समेटेका छौं – सम्पादक ।
गत साताका सामग्री पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया