Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

प्रधानमन्त्रीद्वारा नेपालकै दोस्रो विद्यालयको नयाँ भवन उद्घाटन

सोमबार, ०६ बैशाख २०७८

ललितपुर - २०७२ सालको भुकम्पले क्षती भएको पाटन माध्यमिक विद्यालयको नयाँ भवन बनेको छ । दरबार हाईस्कुल पछि यो विद्यालय नेपालकै दोस्रो विद्यालय हो । विद्यालयको पुर्ननिर्माण जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगबाट भएको हो ।

विद्यालयको मुख्य भवनको रेट्रोफिटिङ गरिएको छ भने अन्य भवन नयाँ बनाईएको छ । आधुनिक प्रविधियुक्त र अपांगमैत्री नयाँ भवनको सोमबार एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे ।

उद्घाटन मन्तव्य दिदैं ओलीले सरकार समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न प्रतिवद्ध रहेको बताउँदै शिक्षाका माध्यमबाट उक्त परिकल्पना पुरा हुने उल्लेख गरे । राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि.सं. १९८१ मा यो विद्यालय स्थापना गरेका थिए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले चन्द्र शमशेरका असल कामहरुको चर्चा गर्दै ऐतिहासिक पाटन माध्यमिक विद्यालयको पुनर्निर्माण हुनु गौरवको कुरा भएको बताए । 

कार्यक्रममा जाइकाकी प्रमुख आसाकुमा युनिकाले ऐतिहासिक भवनको पुनर्निर्माणमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । कार्यक्रममा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायतको उपस्थिति थियो । 

 

प्रतिक्रिया