Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

देशभरीका शैक्षिक संस्था बन्द, सबै प्रकारका परीक्षा स्थगित

सोमबार, १३ बैशाख २०७८

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९)  को नयाँ भेरियण्ट जोखिमका कारण सरकारले देशभरका शैक्षिक संस्था बन्द र सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र सीसीएमसीको सिफारिस अनुसार उक्त निर्णय गरेको हो । 

सीसीएमसीको आईतबारको बैठकले परीक्षा स्थगित गर्न गरेको सिफारिस पारित गरेको मन्त्रीपरिषद् श्रोतले जनाएको छ । बैठकले सीसीएमसीको अन्य सिफारिसलाई परिमार्जन सहित पारित गरेको उक्त श्रोतले जनायो । उक्त निर्णय मंगलबार औपचारिक रुपमा सरकारका प्रवक्ताले सार्वजनिक गर्ने छन् । सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि मन्त्रीपरिषद्ले तत्काल नरोक्ने निर्णय गरेको जनाईएको छ । 

पहाडी क्षेत्रमा दुई सय र शहरी क्षेत्रमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनु पर्ने सीसीएमसीको सिफारिस भने मन्त्रिपरिषद्ले पारित गरेको छ । संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने मन्त्रीपरिषद्को निर्णय छ । यस अघि सोमबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १६ गते विहान देखि २२ गते सम्म उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया