Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

बल्ल लाग्यो मन्त्रीको टुङ्गो, शिक्षा मन्त्रीमा पौडेल

शुक्रबार, २२ असोज २०७८

काठमाडौं - नयाँ सरकार गठन भएको ८८ दिनमा बल्ल मन्त्रीपरिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुक्रबार विस्तार गरिएको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।  

तत्कालिन प्रधानमन्त्री केपी ओलीले दोश्रो पटक गरेको संसद विघटनलाई पनि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेसँगै झण्डै दुई तिहाई बहुमत सहित सत्तारोहण गरेका ओलीको वर्हिगमन भएको थियो । ओलीद्वारा गरिएको पटक पटकको संसद विघटनलाई असंवैधानिक भन्दै संघर्षमा उत्रिएका विभिन्न दल आवद्ध गठबन्धनको समर्थनमा गत असार २९ गते देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । सरकार गठन भए पनि मन्त्रीमण्डलले पूर्णता नपाउँदा आलोचना भईरहेको थियो । उक्त आलोचनाका बिचमा सत्ता गठबन्धन दलका नेताहरुले बिहिबार मन्त्रालयको बाँडफाँट टुङ्ग्याएका थिए । 

सोही अनुसार माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालयको राजनीतिक नेतृत्वमा पौडेल आएका हुन् । सांसद भएको पहिलो पटकमै उनी मन्त्री भएका हुन् । २०७४ मंसिरमा सम्पन्न आम निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पौडेल वाम गठबन्धनको समर्थनमा निर्वाचित भएका हुन् । सशस्त्र विद्रोहमा १० वर्ष धेरै भूमिगत भएका उनी २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए । भट्टराईले नयाँ शक्ति गठन गरेसँगै उतै गएका पौडेल २०७४ भदौमा माओवादी केन्द्रमै फर्किएका थिए ।

२०२१ साल पुस २८ गते बाग्लुङको अमलाचौर, बड्डाडाँमा जन्मेका पौडेल २०३६ सालमा विद्यार्थी आन्दोलनसँगै राजनीतिमा प्रवेश गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पौडेलले तत्कालिन चौथो महाधिवेशनबाट राजनीति अघि बढाएका थिए । अखिल छैठौंको जिल्ला र केन्द्रको नेतृत्व गरेका उनलाई २०४२ सालमा विद्यार्थीको उपाध्यक्ष हुँदा तत्कालित पञ्चायती शासकले १८ महिना धनगढी जेलमा बन्दी बनाएको थियो । एकता केन्द्रसंगको एकता पछि अखिलको महासचिव बनेका उनी माओवादीले २०५१ सालबाट शुरु गरेको शसस्त्र संघर्षसँगै बाग्लुङको सेक्रेटरीका रुपमा जनयुद्धमा संलग्न भएका थिए । 

सोही समयमा १५ बर्ष सम्म उनले माओवादीले निर्माण गरेका विभिन्न राज्यको ईञ्चार्ज, ब्यूरो ईञ्चार्जको जिम्मेवारी वहन गरेका थिए । जनयुद्धकै क्रममा २०६० सालमा माओवादीका तत्कालिन नेता डा. बाबुराम भट्टराईसँगै उनी पनि ६ महिना पार्टिको आन्तरिक कारबाहिमा परेका थिए ।

पौडेलकी श्रीमती र एक छोरी छन् । उनकी श्रीमती बलावती शर्मा पनि माओवादीकै राजनीतिमा संलग्न छन् । उनी २०६३ सालमा संविधानसभा सदस्य थिईन् । अहिले उनी पार्टिको बाग्लुङ् जिल्ला ईञ्चार्जका रुपमा कार्यरत छन् । उनीहरुकी छोरी भने अमेरिकामा छन् ।  

शुक्रबार विस्तार भएको मन्त्रीमण्डलमा पौडेलसँगै शिक्षा राज्यमन्त्रीको जिम्मेवारी माओवादीकै धनुषाकी सांसद बोधमायाकुमारी यादवलाई दिईएको छ ।

यादव माओवादी आन्दोलनका शहीद स्व.राम वृक्ष यादवकी छोरी हुन् । उनलाई माओवादीले शहीद परिवार र मधेसी समुदायको कोटाबाट छनौट गरेको हो । २०३१ साल कात्तिक २८ गते जन्मिएकी यादवका श्रीमान, दुई छोरा र एक छोरी छन् । नेपाली विषयमा स्नातक तहको अध्ययन गरेकी यादव गत निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । २०४४ सालमा अखिल छैठौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आवद्ध उनी २०५८ सालमा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य थिइन् । जिल्ला तहका विभिन्न पदमा रहेर राजनीति गरेकी उनी २०७० सालमा एकीकृत माओवादीको पोलिटब्युरो सदस्य बनिन् ।*

माओवादी केन्द्रबाट शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री भएका छन् । यस अघि नै उक्त दलबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री भईसकेका छन् । 

यस्तै काँग्रेसबाट रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल, अहिले कानून मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्री र कानुन मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद बडुलाई तोकिएको छ । यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र उमाकान्त चौधरी खानेपानी मन्त्री भएका छन् भने उद्योग तथा आपूर्ति मन्त्रीमा गजेन्द्र हमाल नियुक्त भएका छन् । हमाल सांसद हैनन् । केही दिन अघि उनी प्रधानन्यायाधिसको कोटामा मन्त्री हुने लिष्टमा रहेको भन्दै समाचार सार्वजनिक भएको थियो । 

काँग्रेसबाट यस अघि नै कार्की सहित गृहमा बालकृष्ण खाँण र परराष्ट्रमा नारायण खड्का नियुक्त भईसकेका थिए । काँग्रेसबाटै नियुक्त भएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयको जिम्मेवारी तोकिएको छ ।  

श्रेष्ठले सम्हाल्दै आएको स्वास्थ्य राज्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका भवानी खापुङ नियुक्त भएका छन् । उक्त दलबाट विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या, रामकुमारी झाँक्रीलाई शहरी विकास , प्रेमबहादुर आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई श्रम मन्त्री बनाईएको छ । 

यस्तै जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेणू यादव भौतिक पूर्वाधार तथा यातायात, रामसहाय प्रसाद यादव वन तथा वातावरण र महिन्द्र राय यादव कृषि तथा पशुपंक्षी मन्त्री भएका छन् ।

* थप गरिएको - स. 

प्रतिक्रिया