Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

कमजोर सिकाइ, शिक्षकको परीक्षामा समेत पास नहुने परिस्थिती

आइतबार, १५ माघ २०७९

काठमाडौं - बालकालिकाको कमजोर सिकाइका कारण शिक्षकको परीक्षामा समेत पास नहुने परिस्थिती आएको भन्दै शिक्षा मन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन् । कक्षा १ देखि नै दयनीय सिकाइबाट हुर्केका त्यस्ता बालबालिका शिक्षक बन्ने उमेर सम्म आईपुग्दा पास समेत नहुने परिस्थिती बनेको उनको निष्कर्ष छ । आईतबार भएको शिक्षा पत्रकार सञ्जाल ईजोनको आठौं साधारण सभामा प्रमुख अतिथीका रुपमा मन्तव्य दिदैं मन्त्री खनालले यस्ता गम्भिर विषयको कारण खोज्न आफू केन्द्रित हुने बताएका छन् । 

'८ कक्षा सम्म पनि विद्यार्थीले शुद्धसँग नेपाली अक्षर लेख्न सक्दैन अँग्रेजीको कुरा त कहाँ हो कहाँ' उनले भने 'विद्यार्थी कक्षा चढेको चढ्यै देखिन्छ तर सिकाइ दयनीय छ, शिक्षकको परीक्षामा समेत पास नहुने परिस्थिती आयो ।'

हालै शिक्षक सेवा आयोगले लिएको परीक्षामा आवश्यक पदमा परीक्षार्थीहरु उत्तीर्ण नभएको अवस्था प्रति संकेत गर्दै उनले विद्यार्थीको सिकाइको खास अवस्थाका बारेमा तलै देखि मिलाउन नसक्दा समस्या भएको बताए । 

आफ्नो १० - १२ बर्षको शिक्षा क्षेत्रमा काम गरेको अनुभवले शिक्षाका विषयमा ठूला ठूला कुरा भन्दा धरातल बुझेर सानातिना काम गर्न आफू केन्द्रित हुने उनले बताए । अहिले नै काम गर्न नसकेमा एकदमै ढिलो हुने भन्दै उनले आज सम्म शिक्षामा पहुँचको विषय प्रधान भए पनि अब गुणस्तरको विषयमा केन्द्रित हुन ढिलो भईसकेको बताए । शिक्षाका विषयमा दुई चरणका प्राथमिकता निर्धारण गरेर आफूले काम गर्ने उनको भनाई छ । 

'पहिलो सामान्य सुधारका विषयमा केन्द्रित हुन्छौं, जस्तै नो अब्जेक्सन लेटर लिन घण्टौं लाम बस्न बाध्य विद्यार्थीको हैरानीलाई कम गर्ने, समकक्षता, परीक्षा बोर्डमा सेवा लिने आउनेहरुलाई अनलाईन मार्फत् सेवा प्रवाह गर्ने जस्ता काममा केन्द्रित हुन्छौं, यसका लागि सम्बन्धित निकायसँग रिपोर्ट मागेको छु' उनले भने 'दोश्रो अलिक बृहत प्राथमिकता हो, जस्तै शिक्षा ऐन, उच्च शिक्षाको छाता ऐन, शिक्षकलाई मासिक रुपमै तलब दिन सक्छौं कि सक्दैनौं जस्ता विषयलाई हामी अलिक बृहत तरिकाले काम गर्ने योजनामा छौं ।'

यसका लागि शिक्षा मन्त्री मात्रै परिवर्तन भएर नहुने शिक्षा क्षेत्रका सबै लाग्नु पर्ने भन्दे उनले सरकारात्मक परिवर्तनका लागि सहयोग गर्न शिक्षाविद्, कर्मचारी र शैक्षिक सरोकारवालाहरुलाई आह्वान पनि गरे । 

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षा ऐनको अभावका काममा प्रभाव परेको बताए । ऐन नभएकै कारण कक्षा १० को अन्तिममा लिईने परीक्षा पुरानै ढाँचामा गर्नु परेको उनको दावि थियो । शिक्षा ऐनको आठौं शंसोधनले विद्यालयको संरचनामा परिवर्तन गरेको ६ बर्ष सम्म पनि बोर्डले पुरानै ढाँचामा परीक्षा लिएको भन्दै आलोचना भईरहेको छ । उक्त आलोचना प्रति संकेत गर्दै शर्माले ऐन नहुनुलाई दोष दिएका हुन् । 

तर, विद्यमान शिक्षा ऐनको दफा ४ ट को उपदफा १ मा माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा, बोर्डबाट सञ्चालन हुने र उपदफा २ मा कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीय स्तरमा सञ्चालन हुने उल्लेख छ । 

यस बर्ष कक्षा १० को अन्तिम परीक्षा चैत १७ गतेबाट हुने गरी बोर्डले शनिबार तालिका सार्वजनिक गरेको छ । 

यस अघि कार्यक्रममा सञ्जालका अध्यक्ष प्रकृती अधिकारीले शैक्षिक कार्यक्रमहरुमा सुधार गर्न जरुरी रहेको बारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, नमूना विद्यालयमा विनियोजन हुने रकम, दिवा खाजा र सेनीटरी प्याडका लागि भईरहेको खर्च जस्ता विषयमा मन्त्रालयले गम्भिरता पूर्वक अनुगमन गर्न जरुरी रहेको उनको भनाई छ । शिक्षा ऐन र कर्मचारी समायोजनमा पदको व्यवस्थापन गर्न जरुरी रहेको बताउँदै उनले शिक्षा दिवस मनाउन निश्चित दिन तोक्न सुझाव दिए । 

कार्यक्रममा शिक्षाविद्, मन्त्रालयका सहसचिव सहितका कर्मचारीहरु, शिक्षक, निजी विद्यालय सञ्चालक एवं शिक्षा क्षेत्रका सरोकारवालाहरुको उपस्थिती थियो । 

साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल टेलिभिजनका रवीचन्द्र पराजुलीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा गोरखापत्रका सूर्य पाण्डे, महासचिवमा दी काठमाण्डु पोष्टका विनोद घिमिरे, सचिवमा रेडियो कान्तिपुरकी पार्वता चौधरी, कोषाध्यक्षमा दि राईजिङ नेपालकी मञ्जिमा ढकाल चयन भएका छन् । सदस्यहरुमा विद्यालय पत्रिकाका रुपेश आचार्य, उज्यालो रेडियोका अर्जुन पोखरेल, बागमती टेलिभिजनका दीपक अर्याल, अनलाईनखबरकी नुनुता राई, बाह्रखरीकी सुनिता जोशी र शिलापत्रका दिनेश गौतम चयन भएका छन् । 

शिक्षा विटमा कार्यरत पत्रकारहरु आवद्ध उक्त संस्था १५ बर्ष अघि स्थापना भएको हो ।  

यो पनि पढ्नुहोस् : मैले कुनै हस्ताक्षर गरेको छैन : शिक्षा मन्त्री 

प्रतिक्रिया