काठमाडौं - अवकास पाएका उत्तरी गोरखाको धार्चे गाउँपालिका, रुन्चेतको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थी, पूर्वविद्यार्थी र स्थानीय अभिभावकहरूले हेलिकप्टर चढाएर बिदाइ गरेका छन् । ४० वर्ष शिक्षण गरेर भुइँका मान्छेलाई उड्न सिकाएको भन्दै अवकास पाएका इन्द्रबहादुरलाई आकाश मार्गबाट घरसम्म पुर्याउने व्यवस्था गरेर सम्मान दिएको समाचारमा उल्लेख छ । गोरखाको फिनाममा जन्मेर शिक्षणमा लागेका इन्द्रबहादुरलाई रुन्चेतबाट काठमाडौँसम्म हेलिकोप्टरमा र काठमाडौँबाट भरतपुरसम्म हवाइजहाज चढाएर घरमै पुर्याउने व्यवस्था पूर्वविद्यार्थी र अभिभावकले नै रकम जुटाएर मिलाएका हुन् ।
गुल्मीमा पछिल्ला केही वर्षयता शिक्षकले पेशा छोड्ने क्रम निरन्तर बढ्दै गएको केही समय पहिले प्रकाशित समाचार गत साता दोहोरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका अनुसार चालु आर्थिक वर्षको चार महिनामै आठ जनाले राजीनामा दिएका छन् । आव २०७९/८० देखि हालसम्म कुल एक सय ३२ जना शिक्षकले पद त्याग गरेको समाचरमा जनाइएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख थानेश्वर घिमिरेका अनुसार शिक्षण पेशाप्रति आकर्षण कम हुनु र वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिले राजीनामा दिनेको सङ्ख्या बढाएको समाचारमा उल्लेख छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । नगर क्षेत्रका ८६ वटा विद्यालयका शिक्षक तथा कर्मचारीका लागि बार्षिक एक करोड ७३ लाख व्ययभार थपिने गरी स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।
यी माथिका दुई घटना विरोधाभाषपूर्ण छन् तर विषय गम्भीर चिन्तन माग गर्ने किसिमको छ । शिक्षक पेशा मर्यादित भएन भन्नेहरुलाई बेलाबेलामा हुने यस्ता घटनाले सम्मानका दृष्टान्त प्रस्तुत गर्छन् । निरन्तर काममा लाग्ने भन्दा दण्ड र पुरस्कार भएन भन्ने कुरा गरि बस्ने शिक्षकहरुलाई कसरी शिक्षकका खास पुरस्कारदाता कर्मचारी वा अरु कोही भन्दा अभिभावक र विद्यार्थी हुन् भन्ने गहिरो सन्देश दिएको छ । तर अभैm यी एकाध दृष्टान्त अपवाद नै हुन् । शिक्षण पेशाले प्रतिस्पर्धी व्यक्तिहरु आकर्षित गर्न सकेको छैन । यसो हुनुमा केही राष्ट्रिय र केही वैश्विक प्रणालीहरु जिम्मेवार छन् ।
मुख्यतः बढ्दो उपाभोगवादले पैसा जीवनको अत्यधिक महत्वको विषय भयो । त्यसका अगाडि मानिसका अरु इच्छा, आकाङ्क्षा, मूल्य–मान्यता गौण रहे । शिक्षण व्यक्तिले दिने समय र मेहनतको तुलनामा पेशा फाइदाजनक भएन । मूलतः यसै कारणले तर शिक्षक आपैंmले परिणाम नदिएका कारणले समेत निजी विद्यालयहरु अभिभावकका आकर्षणका छनोट रहे । यसले पनि सार्वजनिक शिक्षकको सामाजिक प्रतिष्ठा बढाउन सकेन । लामो समय शिक्षकहरुलाई दलले उपयोग गरिरहे र शिक्षक पनि उपयोग हुन चाहि रहे किन भने शिक्षण भन्दा राजनीति धेरै आकर्षणको विषय भयो । अरु केही नभए पनि राजनीतिले अकर्मण्य हुँदा पनि संरक्षण दिइ रहे । किनभने सबैजसो प्रभावशाली नीति निर्माता वर्गका बालबालिका सार्वजनिक विद्यालयमा पढ्ने भएनन् ।
एकातिर चलनचल्तीको शिक्षाको माग बढ्दो छ भने प्रविधि र त्यसले ल्याएको सरलताका कारण संस्थागत सिकाइ अब अनिवार्य रहेन । निकै साना बालबालिका बाहेक शिक्षक र विद्यार्थीका बीच ज्ञानको दूरी धेरै रहेन । संस्थागत शिक्षणको काम अब क्रमिकता र सिकाइको ढाँचा मात्र रहन गयो जुन काम शिक्षणको भन्दा व्यवस्थापन विषयको हुने देखिँदैछ । यसले पनि शिक्षण चुनौतिपूर्ण भइरहेको छ । यस्तो अवस्थामा विश्वमा आएका र स्थानीय रुपमा आएका चुनौतिहरु सामना गर्न थप चुनौतिको विषय भएको छ । समग्रमा शिक्षा प्रति राज्यको निरपेक्षता रहे पनि स्थानीय तहमा विद्यालय शिक्षाको जिम्मेवारी आए पछि शिक्षकको निगरानी बढेको छ । शिक्षण सहित दुईटा पेशा गरिरहेका शिक्षकहरुले अर्को पेशा पैmलाउन सक्दै गए पछि शिक्षण पेशा छाडेको कुरा चर्चामा आउन थालेको छ । यद्यपि एकाध पालिकाहरुले भत्ता थप्ने वा मोटरसाइकल दिने जस्ता शिक्षण प्रोत्साहन गर्ने संघीय सरकारले नआँट्ने कामहरु थालेका उदाहरणहरु छन् ।
सँगसँगै औपचारिक प्रकृयाहरु बढी र बोझिला भएको विश्वभरि नै अनुभव गरिएको छ । अङ्कले शासन गर्ने प्रकृया बढे पछि शिक्षण गर्ने मात्र अभिलाषा भएका शिक्षकलाई पनि टाढा पारेको छ । कति विद्यालयमा सरकारले आवश्यक खर्च पनि नदिने र निशुल्क शिक्षाको नाउमा खर्च उठाउन पनि नदिने कर्मचारीतन्त्रीय झमेलाले पनि गर्ने शिक्षकलाई उल्झन र नगर्नेलाई निहुँ दिइ राखेको छ ।
केही गर्न र गरेको देखाउन चाहने मन्त्री र उनको टीमका लागि यस्तो विषय उनीहरुको कार्यसूचीमा पार्नु पर्ने हो । उनले कसरी शिक्षण पेशामा आकर्षण र मर्यादा बढाउन सकिएला भनेर एउटा मार्ग चित्र बनाउन् । नयाँ सोच राखुन् । पुरानो भारी धेरै नबोकुन् ।
नवलपुर सदरमुकाम कावासोती लौगाईस्थित नारायणी प्राथमिक विद्यालयमा हरेक वर्ष विद्यार्थी सङ्ख्या घट्दै जाँदा विद्यालय नै खारेज हुने अवस्थामा पुगेको समाचारमा छ । माझी, मुसहर लगायत समुदायका विपन्न परिवारका बालबालिका पढ्ने यो विद्यालयमा विगतमा एक सय ४५ जनासम्म विद्यार्थी रहेकोमा अहिले नौ जना मात्र अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापकले समेत राजीनामा दिएर राजनीतिमा सक्रिय भएका छन् ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका रानीचिउरा स्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा शौचालय नहुँदा विद्यार्थीले खेतबारी, जङ्गल र खोलामा दिसापिसाब गर्ने गरेको समाचार छ । जीर्ण अवस्थामा रहेको शौचालय २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दुको भूकम्पले पूर्ण रूपमा भत्किाएपछि यहाँका विद्यार्थी दिसापिसाब गर्ने स्थानको अभावमा रहेका छन् ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्राले अध्ययनसँगै डोको र चकटी बुनेर आम्दानी लिन थालेको समाचार छ । कक्षा १ देखि ८ सम्म एक सय आठ जना विद्यार्थीलाई हरेक शुक्रबार किताबी ज्ञानसँगै छात्रछात्रालाई डोको, चकटीबाहेक करेसाबारीमा तरकारी खेती, नगदेबाली र अन्य बाली लगाउन सिकाउने गरेको समाचारमा उल्लेख छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्था आएका विद्यार्थीको जन्मदर्ता सच्याउनका लागि राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको समाचार छ । शिक्षा नियमावली २०५९ को छैठौं संशोधन अनुसार एसईईमा सहभागी हुन चैत्र मसान्तसम्ममा १४ वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेकोमा कतिपय विद्यार्थीको जन्मदर्ता अनुसार उमेर नपुगेर परीक्षाबाट वञ्चित हुने अवस्था आएपछि समाधान खोजिएको समाचारमा उल्लेख छ । तर यो समाधान होइन झण्झट थपिएको अघिल्लो हप्ताको समाचारले देखाउँछ । २०७८ साल चैत्र २ गते मन्त्रीस्तरीय निर्णय मार्फत २०७८ सालदेखि कक्षा १० को एसईई परीक्षामा सहभागी हुन १४ वर्ष पुगेको हुनुपर्ने प्रावधान हटाउने निर्णय कार्यान्वयन नगर्न बोर्डले विद्यार्थी र अभिभावकलाई नयाँ झण्झट थपेको छ ।
डडेल्धुराको परशुराम नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न आर्थिक समस्या नहोस भन्ने उद्देश्यले सुरु गरेको ‘विनाब्याज शैक्षिक ऋण’ कार्यक्रम प्रभावकारी बन्दै गएको समाचार छ । नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्न चाहनेलाई शैक्षिक प्रमाणपत्र धितो राखेर पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने नीति लिएकोमा ३० जना विद्यार्थीले ऋण सुविधा लिएको समाचारमा उल्लेख छ ।
काठमाडौं विश्वविद्यालय (केयु) को ३१ औँ दीक्षान्तमा दुई हजार दुई सय नौ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये अष्ट्रेलिया, अष्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, संयुक्तराज्य अमेरिका र भियतनामका एक सय ९६ विदेशी विद्यार्थी रहेका छन् । विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताएको समाचार छ ।
हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल) को सचिवालय धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा स्थापना भएको समाचार छ । इण्टरनेसनल सेण्टर फर इण्टिग्रेटेड माउण्टेन डेभलपमेण्ट (इसिमोडमा रहँदै आएको सचिवालय संस्थाले औपचारिक रूपमा काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । समाचार अनुसार हिमाली विश्वविद्यालय कन्सोर्टियम हिन्दुकुश–हिमालय भित्र तथा बाहिर रहेका सय भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको सञ्जालमा परिणत भइसकेको छ ।
विद्यार्थी संगठनको शैली रचनात्मक र विद्यार्थीमैत्री बन्न नसक्दा दलनिकट विद्यार्थी नेताका विश्वसनीयतामा पनि प्रश्न उठेको अनलाइनखबरमा समाचार छ । पाठ्यक्रम, रोजगारीसँग जोडिएको शिक्षा, बजारको मागजस्ता प्राज्ञिक मुद्दा विद्यार्थी संगठनको प्राथकितामै नपर्ने गरेको समाचारमा उल्लेख छ ।
केबी बस्नेतले गोरखापत्रमा विकासको आधार शिक्षा शीर्षकमा शिक्षा प्रत्येक व्यक्तिको जीवनको आधार भए पनि यो सैद्धान्तिक मात्र भयो भने जीवनोपयोगी हुन नसक्ने लेखेका छन् । त्यस्तै सुजित सापकोटाले गुणस्तरीय कानुन शिक्षाको बारेमा लेख लेखेका छन् भने समिक्षा आचार्यले गल्ती त्रिविको, पीडा विद्यार्थीको शीर्षकमा कान्तिपुरमा लेखेको लेखमा उनले विश्वविद्यालयका कारण आफुले पाएको पीडालाई उल्लेख गरेकी छन् ।
साताभरिका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई यसमा समेटिन्छ । यस पटक २०८२ मंसिर २० देखि २६ गते सम्मका विषयवस्तु समेटेका छौं – सम्पादक ।
गत साताका सामग्री पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया