काठमाडौं - विदेशबाट अध्ययनका लागि नेपाल आउने विद्यार्थीबाट गएको चार महिना (साउन–कात्तिक)मा एक अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको समाचार छ । यो रकम नेपाली विद्यार्थीले खर्च गरेको रकमको दुइ प्रतिशत भन्दा कम हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेको बेला यस्तो समाचार आएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशमा अध्ययनका लागि बाहिरिने रकम करिब २८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझीले चिकित्सा शिक्षा (एमबीबीएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । तराई मधेशको सबैभन्दा पिछडिएको मुसहर समुदायबाट सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाउने २२ वर्षीय पवनदेव सम्भवतः पहिलो व्यक्ति भएको समाचार छ । आर्थिक अभावका कारण कोचिङ पढ्न सक्ने अवस्था नहुँदा युट्युबबाट स्वअध्ययन गरी पहिलो पटकको परीक्षामा नाम निकाल्न सफल भएको समाचारमा उल्लेख छ । एमबीबीएसमा नाम निस्किए पनि भर्ना प्रक्रियाकै लागि ७५ हजार रुपैयाँ जुटाउन मुसहर समुदायका अगुवा पच्चु माझीको पहलमा सामाजिक सञ्जाल मार्फत आर्थिक संकलन सुरु भएको समाचार छ । \
त्यस्तै सिरहा बरियारपट्टी गाउँपालिका–२ का सत्यनारायण साफीले एमबीबीएसको पूर्ण छात्रबृतिमा नाम निकालेपछि यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । फुसको झुपडीबाट गरेको संघर्ष र लगनले विपन्न दलित परिवारका सत्यनारायण एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भएको समाचारमा उल्लेख छ ।
यी दुई विपन्न समुदायका विद्यार्थीले आफूले रोजेको विषयमा लगनका साथ मेहनत गरेर सफलता हासिल गरेका छन् । सिकाइका लागि ईच्छाशक्ति हुने हो भने भौतिक सुख सुविधा गौण हुन्छ भन्ने कुरा पुनः एक पटक चरितार्थ भएको छ । व्यक्तिगत रुपमा उनीहरुको सफलताको हकदार उनीहरु स्वयं हुन् । तर चिकित्सा शिक्षाको नीतिगत प्रवन्धका सवालमा भने प्रा.डा. गोविन्द केसीको अभियान यहाँनेर स्मरणीय छ । केही वर्ष अघि सम्म सामाजिक रुपमा पिछडिएका वर्गका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गर्न ईच्छा गर्नु भनेको अकल्पनीय विषय बन्दै आएको थियो । ‘पैसा भए डाक्टर बन, छैन भने नबन’ शैलीमा चिकित्सा शिक्षालाई चरम व्यापारिक बनाईएको थियो । चिकित्सा शिक्षामा रहेको बेथिति विरुद्ध लामो समय संघर्ष गरेका के.सी.को सत्याग्रहले चिकित्सा शिक्षाको प्रवेश परीक्षालाई मात्रै हैन सामाजिक, आर्थिक रुपमा पिछडिएको समुदायलाई पनि पहुँचको प्रत्याभूति गरेको थियो । यस पटकको घटना त एक उदाहरण मात्रै हो, के.सी.को त्यही संघर्षको नतिजाले थुप्रै साफी र माझीहरु चिकित्सा शिक्षाको पहुँचमा पुग्ने आजको यो अवस्था आएको हो । तर जनसङ्ख्याको अनुपातमा अरु सबै सामाजिक समूह सरह समाजमा उपेक्षित समूह सहभागी नभए सम्म यो प्रक्रिया भने जारी राख्नु नै पर्दछ ।
खुला प्रतिस्पर्धालाई निषेध गर्दै आन्तरिक प्रतिस्पर्धाका नाममा करारका शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रियाले गण्डकी विश्वविद्यालय फेरि विवादमा तानिएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालय ऐनको व्यवस्था विपरीत नियमावली बनाएर सबै करारका कर्मचारीलाई स्थायी पदपूर्ति गर्न लागिएको समाचारमा उल्लेख छ ।
लण्डनमा बेघर बनेका नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइएको समाचार छ । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सण्डरल्याण्डमा बीए अनर्स पढ्न पुगेका पनौती काभ्रेपलाञ्चोकका एक विद्यार्थीलाई बेलायती प्रवासी नेपाली सँघको सहयोगमा नेपाल पठाइएको छ । समाचार अनुसार युनिभर्सिटीले शुल्क नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय) लाई अवगत गराएर उनको भिसा रद्द भएर आंशिक काम समेत गुमेपछि संकटमा परेका ती विद्यार्थीलाई घरबेटीले कोठाबाट निकालिदिका थिए । त्यसको एक साता घरविहीन भएर रेल स्टेशनमा बसिरहेका बेला प्रवासी नेपाली सँघले सहयोग गरेको समाचारमा उल्लेख छ ।
कम्प्युटर साइन्स अल्मुनाइ र कम्प्युटर साइन्स विद्यार्थी एसोसियनले त्रिवि सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा तालाबन्दी गरेका छन् । आगामी पुस १५ गते हुन गइरहेको कम्प्युटर विज्ञान पदको प्रथम पत्रको परीक्षा स्थगित गर्नुपर्ने माग राखेर तालाबन्दी गरिएको समाचारमा उल्लेख छ ।
उच्च शिक्षा अध्यननका नाममा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर ठगिएका विद्यार्थीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन सुरु गरेको समाचार छ । सिआइबीले अहिले नेपालबाट विद्यार्थी पठाएको परामर्श दातृ संस्था, ती संस्थाबाट दुबई पुगेका विद्यार्थीको विवरण तथा दुबईमा पढ्न भनेर गएका शिक्षण संस्थाको कानुनी हैसियत लगायतका विषयमा अध्ययन गरिरहेको छ । मन्त्रालयले परराष्ट्र मन्त्रालयको पत्र र विद्यार्थीका उजुरीलाई समेत सङ्कलन गरेर थप अनुसन्धान गर्न सिआइबीमा पठाएको समाचारमा उल्लेख छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले यही पुस १४ गतेको निर्णय अनुसार ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०५९’ बमोजिम अनुमति प्राप्त संस्थाहरूका लागि १० बुँदे निर्देशन दिएका थिए । मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित उच्च शिक्षा तहका शिक्षण संस्थाहरूलाई दिइएको निर्देशन कार्यान्वयन भए÷नभएको विषयमा अनुगमन जारी राखेको समाचार छ । निर्देशनमा विद्यार्थीबाट लिइने कार्यक्रमगत सबै प्रकारका शुल्कको विवरण पारदर्शी रूपमा सबैले देख्ने गरी राख्ने र सोको प्रमाणित प्रति मन्त्रालयमा अनिवार्य रूपमा १५ दिनभित्र पेश गर्न तथा शिक्षण संस्थालाई अनुमति दिइएका विषय, तह र अवधिका कार्यक्रम निर्धारित स्थानमा मात्र सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको हो । तर विदेशी डिग्री प्रदान गर्ने नाममा ती संस्थाले विद्यार्थीलाई ठग्ने तथा प्रचलित नीतिगत व्यवस्था समेत उल्लङ्घन गर्ने र निर्देशिका विपरीत गतिविधि गरेको, विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको, शुल्क र छात्रवृत्तिमा पारदर्शिता नदेखिएको लगायतका गुनासोहरू मन्त्रालयमा प्राप्त भएको समाचारमा उल्लेख छ ।
नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको समाचार छ । इच्छुक र योग्य व्यक्तिहरूले २०८२ पुस ३० गते कार्यालय समयभित्र आवेदन दिन सकिने व्यवस्था गरेको समाचारमा उल्लेख छ ।
नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि पीएचडी उपाधि हासिल गर्ने व्यक्ति बाबुराम भुल बनेको समाचार छ । भुलले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत डक्टर अफ फिलोसफी इन डेभलपमेण्ट म्यानेजमेण्ट विषयमा विद्यावारिधि पूरा गरेको समाचारमा उल्लेख छ । सुदुूर तथा कर्णाली प्रदेशमा बसोबास गर्ने भुल दलित समूहमा पर्छन् ।
महँगीको वर्तमान समयमा पोखरा महानगरपालिकाको माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आएको छ । विद्यालयले शैक्षिक गुणस्तर सुधार्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीका लागि यस्तो सुविधा मिलाएको समाचारमा उल्लेख छ । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन विद्यालयले बिहान साढे सात बजेदेखि नै कक्षा सञ्चालन गर्दै आएपछि टाढाबाट आउने विद्यार्थीलाई पढाइमा सहज बनाउन र अभिभावकलाई पनि आर्थिक भार कम पार्न सस्तोमा खाना खुवाएको विद्यालयले जनाएको समाचारमा उल्लेख छ ।
स्याङ्जाको भीरकोट नगरपालिका उजेली डाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् । सरकारले बाल कक्षा देखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेको समाचारमा उल्लेख छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका फुरुम्बुमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अल्लोको झोला वितरण गरिएको समाचार छ । वडाभित्र रहेका आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत दुई सय ४० जना विद्यार्थीलाई अल्लोको झोला वितरण गरिएको हो । नगरपालिकाबाट विनियोजित पाँच लाख रुपियाँ बजेटबाट झोला खरिद गरी विद्यार्थीलाई वितरण गरेको समाचारमा उल्लेख छ ।
यी माथिका तीन कार्य भलै साना होलान् तर स्थानीय तहले ल्याएका नवप्रवर्तनका सूचक हुन् । यस्ता जुगाडहरु सङ्घीय तहले विचार र कार्यान्वयन दुवै गर्न नसक्ने विषय हुन् । यस्ता विषय किन विद्यालय स्थानीय तहले व्यवस्थापन गर्नु वाञ्छनीय हुन्छ भन्ने कुराका प्रमाण हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका गोङ्गबुस्थित मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक प्राचार्य वासुदेव अधिकारी र शिक्षक कल्पना पनेरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको समाचार छ । गलत लिखत तयार गरी तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको समाचारमा उल्लेख छ ।
सूर्यप्रसाद पाण्डेले गोरखापत्रमा ‘दीक्षित विद्यार्थीको उपाधि राष्ट्र निर्माणको हतियार’ शीर्षकमा दीक्षित विद्यार्थीले आफूले प्राप्त गरेको उपाधिलाई व्यक्तिगत उपलब्धि मात्रै नठानेर सामाजिक, नैतिकता, इमानदारिता र राष्ट्र निर्माणको हतियारको रूपमा प्रयोग गर्नु आवश्यक रहेको लेखेका छन् ।
त्यस्तै कान्तिपुरमा विशाल लम्सालले विश्वविद्यालय ‘ज्ञान कि प्रमाणपत्रको कारखाना ?’ शीर्षकमा लेख लेखेका छन् । लेखमा नेपालका विश्वविद्यालयहरु शिक्षाका केन्द्र भन्दा, राजनीतिक अखडा, दलगत सत्ता संरचना र प्रभावको प्रयोगशाला बनेका, दलकाहरूले आफ्नो प्रभाव विस्तार गर्न प्रोफेसरको नियुक्ति, विभागीय नेतृत्व र बजेट वितरणमा हस्तक्षेप गरेका विषय उल्लेख छन् ।
साताभरिका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई यसमा समेटिन्छ । यस पटक २०८२ पुस १२ देखि १८ गते सम्मका विषयवस्तु समेटेका छौं – सम्पादक ।
गत साताका सामग्री पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया