Edukhabar
मंगलबार, ०१ बैशाख २०८३
खबर/फिचर

शैक्षिक संस्था दलीय गतिविधिको अखडा हुनबाट मुक्त गर्ने

शिक्षक तथा प्राध्यापकहरुको राजनीतिक आवद्धतालाई पूर्णतः निषेध

विहीबार, ०७ फागुन २०८२

सुर्खेत - विश्वविद्यालय एवं विद्यालयहरुलाई दलीय राजनीतक गतिविधिको अखडा हुनबाट मुक्त गर्ने प्रतिवद्धता सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । देशका विभन्नि शहरमा चुनावी सभा गर्दै आएको उक्त दलले बिहीबार कर्णाली प्रदेशको राजधानीमा आयोजित कार्यक्रम मार्फत् वाचापत्र शिर्षकमा थिती बसाल्ने संकल्प सहितको आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । 

रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरुमा शिक्षाका विषय बुँदा नम्बर ६१ देखी ६७ सम्म उल्लेख गरिएको छ । पहिलो बुँदामै शैक्षिक संस्थाहरुमा जारी दलीय राजनीतिक गतिविधिको नियन्त्रण गर्ने विषय उल्लेख गरिएको छ । 

'शिक्षक तथा प्राध्यापकहरुको राजनीतिक आवद्धतालाई पूर्णतः निषेध गर्नेछौं' वाचा पत्रमा भनिएको छ 'विद्यार्थी संगठन मार्फत् हुने अराजकता, तोडफोड, जबरजस्ती बन्द र शैक्षिक वातावरणमा अवरोध सृजना गर्ने गतिविधिलाई नियन्त्रण गर्न शैक्षिक संस्था भित्र दलगत राजनीतिक कार्यक्रम पूर्ण रुपमा निषेध गर्ने छौं ।' 

गैर दलीय प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गर्ने भन्दै उक्त दलले आफ्नो वाचापत्रमा यो अभ्यासले लोकतान्त्रिक अभ्यासलाई संरक्षण गर्दै शैक्षिक वातावरणलाई अनुशासित र मर्यादित बनाउने दावी गरिएको छ ।  

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्ले लगायत नेताहरूले वाचापत्र सार्वजनिक गरेका हुन् । एउटा खाल्डो पर्न एउटा पुस्ताले नाती नातीनाको पुस्ता सम्म कुर्नु पर्ने युगलाई अन्त्य गर्न आफूहरु राजनीतिमा आएको बताउँदै सभापति रवि लामिछानेले शैक्षिक संस्थामा केवल पढाई हुने बताए । 

'रास्वपाले धेरै केही गर्न खोजको हैन, विद्यालय र विश्वविद्यालयमा दलका व्यानरहरुलाई निकालेर त्यहाँ शिक्षा मात्रै हुने काम गर्न खोजेको हो' उनले भने 'विश्वविद्यालयमा हुन्छ त केवल पढाई, बाँकी खेल चल्दैन बस् त्यत्ति गर्न खोजेको हो ।'

लामिछानेले आफूहरु नेता बन्न नभई जनतालाई जिताउन र बेथितीको विद्यमान अवस्थामा परिवर्तन गर्न आएको बताए । यतिका बर्ष सम्म दलहरुले पनि कुनै विकास नदिए पछि जनताले नै खोजे पछि आफूहरु राजनीतिमा आएको बताउँदै उनले यसका लागि बहुमतको स्थायी सरकारको खाँचो रहेको पनि बताए । 

'सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न आगामी दुई दशकसम्म उल्लेख्य लगानी थप्दै गुणस्तर वृद्धि गर्ने छौं' वाचा पत्रमा भनिएको छ 'निजी क्षेत्रबाट प्रदान गरिदैं आएको शिक्षालाई सार्वजनिक शिक्षाको पहुँच र गुणस्तरको परिपूरकका रुपमा स्वीकार गर्ने छौं ।' 

निजी विद्यालयको शुल्क संरचना, शिक्षक योग्यता, पुर्वाधार र शैक्षिक परिणामको आधारमा नियमन तथा अनुगमन प्रणाली सदृढ गर्ने उल्लेख गर्दै हरेक प्रदेशमा कम्तिमा एउटा अत्याधिुनिक नमूना समावेशी विद्यालय स्थापना गरी बालबालिकाको सिक्न पाउने अधिकारलाई अक्षुण राख्ने वाचा उक्त दलले गरेको छ । 

शिक्षकलाई शिक्षाको मेरुदण्डका रुपमा स्वीकार गर्दै योग्यता, क्षमता निरन्तर पेशागत विकास र स्पष्ट जवाफदेहीतामा आधारित प्रणाली लागू गर्ने, विदेशी विश्वविद्यालय र नेपाली विश्वविद्यालय बिच दीर्घकालिन साझेदारी कायम गर्ने र नेपालमा विदेशी विश्वविद्यालयहरुका आँगिक क्याम्पस र विदेशी डिग्री कार्यक्रमहरु सञ्चालन गर्न सरल बनाउने उसको वाचा छ ।   

आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व गरे सरकारमा आएको तीन महिनाभित्र संविधान संशोधनका लागि ‘बहस पत्र’ तयार गर्ने विषय पनि आफ्नो वाचापत्रमा उल्लेख गरेको छ । 

उसले प्रत्यक्ष निर्वाचित कार्यकारीसँगै पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैर–दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूपबारे छलफल चलाउने बाचापत्रमा लेखेको छ । 

रास्वपाले यसअघि आफ्नो प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा सहितको करार पत्र सार्वजनिक गरेको थियो । 
 

प्रतिक्रिया