Edukhabar
शनिबार, १६ फागुन २०८२
गतिविधि

भावी प्रधानमन्त्रीका उम्मेद्वारलाई शिक्षाका प्रश्न  [भिडियो सहित]

भोट माग्न आएका उम्मेद्वारलाई न मतदाताले शिक्षाका कुरा गरेका छन्, न त नेताले नै !

शनिबार, १६ फागुन २०८२

काठमाडौ - सार्वजनिक शिक्षा प्रवर्द्धन अभियानका अभियन्ताको एक टोलीले भावी प्रधानमन्त्रीको घोषणा गरेर चुनावमा  होमिएका उम्मेद्वाहरुलाई भेटेर शिक्षालाई चुनावी एजेण्डा बनाउन ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा प्रतिस्पर्धा गरेका मध्ये केही दल प्रधानमन्त्री तोकेरै चुनावी प्रचार प्रसारमा छन् । प्रधानमन्त्रीका दावेदार बनेका पाँच दलका पाँच उम्मेदवारहरुलाई अभियन्ताहरुले स्थलगत रुपमै भेटेर ऐन नियम निर्माण गर्दा सार्वजनिक शिक्षाका सवाललाई समेट्न ध्यानाकर्षण गराएका हुन् । 

धरानबाट शुरु गरिएको उक्त अभियानका क्रममा अभियन्ताहरुले श्रम संस्कृती पार्टिका अध्यक्ष हर्क साम्पाङ्लाई उनकै पार्टि कार्यालय अघिल्तिरको चिया पसलमा भेटेका थिए ।

साम्पाङ्संग अभियन्ताको टोली
साम्पाङ्संग अभियन्ताको टोली

उज्यालो नेपाल पार्टिका अध्यक्ष कुलमान घिसिङ्लाई धरानको भानुचोकमा आयोजित सभाको मञ्चमै भेटेका थिए ।

घिसिङ्संग मञ्चमै छलफल गर्दै अभियन्ताका तर्फबाट टीका भट्टराई
घिसिङ्संग मञ्चमै छलफल गर्दै अभियन्ताका तर्फबाट टीका भट्टराई

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई झापा दमक स्थित प्रचार प्रसारका लागि तोकिएकोे घरको बैठक कोठामा र नेपाली कांग्रेसका सभापति गगन थापालाई चुनावी अभियानमा घर दैलो गर्दै गर्दा सर्लाही स्थित बलाराको सडकमै भेटेर ध्यानाकर्षण गराएका छन् ।

चुनावी प्रचारका क्रममा कार्यकर्तासँगै घर दैलो गर्दै थापा
चुनावी प्रचारका क्रममा कार्यकर्तासँगै घर दैलो गर्दै थापा

प्रधानमन्त्रीका अर्का उम्मेद्वार राष्ट्रिय स्वतन्त्र पार्टिका बरिष्ठ नेता बालेन्द्र शाह बालेन झापामै भए पनि उनीसँग भने टोलीले प्रत्यक्ष भेटघाट गर्न सकेन । टोलीले उनको सचिवालयका सदस्यहरुसँग पार्टिको सम्पर्क कार्यालयको प्रेक्षालयमा लामो छलफल गरेको छ । 

सामाजिक सामानताको आधार शिक्षा भएको र सार्वजनिक शिक्षा प्रणाली बलियो भए पछि मात्रै त्यो सम्भव हुने भन्दै हुने खाने र हुँदा खानेका लागि विद्यमान फरक शिक्षा प्रणालीको अभ्यास अन्त्य गर्ने गरी ऐन निर्माण गर्न टोलीले ध्यानाकर्षण गरेको छ । संविधानले शिक्षा अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै शिक्षालाई नाफा मूलक ब्यापारको क्षेत्र यथावत राख्ने  प्रवन्ध सच्याउने गरी ऐन निर्माण गर्न टोलीले ध्यानाकर्षण गराएको हो । अधिकाँश उम्मेद्वारले सार्वजनिक शिक्षाका सवालमा प्रतिवद्धता व्यक्त गरेका छन् । बालेनको सचिवालयका सदस्यहरुले पनि आवश्यकता अनुसार विज्ञहरुको राय लिने र तदनुरुप नै शैक्षिक विषयलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । उक्त भेटघाटमा बालेनको सचिवालयका सञ्जिव पाण्डे, सुवास बस्नेत र विवेक वास्तोला सहभागी थिए । उनीहरुले अभियन्ताहरुको अवधारणा र सुझाव टिपोट गरेका छन् । 

बालेनको सचिवालयका सदस्यसँग छलफल गर्दै अभियन्ताहरु
बालेनको सचिवालयका सदस्यसँग छलफल गर्दै अभियन्ताहरु

भोट हाल्नु अघि पार्टिका घोषणापत्र पढ्न, उम्मेद्वारका विचार र योजना सोध्न टोलीले आम मतदातालाई पनि आग्रह गरेको छ । उम्मेद्वारलाई आफ्ना क्षेत्रको शैक्षिक सुधार गर्ने विचार, सार्वजनिक विद्यालय सुधारका नीति र व्यवस्थाका बारेमा प्रश्न सोध्न उनीहरुले मतदातालाई आग्रह गरेका छन् । 

आफ्ना उम्मेदवारलाई जीवनका आधारभूत सरोकारका सवालसँग सम्बन्धित सार्वजनिक शिक्षा, विष रहित खाद्य, दिगो र पर्यावरण मैत्री खेतिपाती आम मानिसको स्वास्थ्य सुरक्षासँग सम्बन्धित प्रश्न गर्नु आवश्यक रहेको भन्दै टोलीका सदस्यहरुले मतदातालाई समेत आग्रह गरेका छन् ।

सार्वजनिक शिक्षाका सवालमा मतदातालाई सूसुचित गर्दै अभियन्ता
सार्वजनिक शिक्षाका सवालमा मतदातालाई सूसुचित गर्दै अभियन्ता

सार्वजनिक शिक्षा, कृषि र जनस्वास्थ्य क्षेत्रका अभियन्ताहरुको उक्त टोलीमा राष्ट्रिय शिक्षा आयोग २०७५ का सदस्य समेत रहेका कृषि विज्ञ डा. कृष्ण पौडेल, अभियानका तर्फबाट शिक्षाकर्मी टीका भट्टराई, जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती संलग्न थिए । यस्तै खाद्यका लागि कृषि अभियानका उद्धव अधिकारी, शिक्षा नीति तथा अभ्यास केन्द्रका अनुप सुवेदी र उषा तितिक्षु, प्राकृतिक कृषि प्रणालीमा अभ्यास गरिरहेका माधव ढुङ्गेल, एडुखबरका सम्पादक श्रीधर पौडेल लगायतका अभियन्ता उक्त टोलीमा सहभागी थिए । 

खाद्य उत्पादन, आम मानिसको स्वास्थ्य तथा वातावण र पर्यावरणमा आएको संकट समाधानको उपाय खोज्न मद्दत गर्ने काम शिक्षाले गर्ने भन्दै टोलीले सार्वजनिक शिक्षाको गुणस्तर प्रति आम मतदातालाई सचेत हुन पनि आह्वान गरेको छ ।  

उक्त अभियानका क्रममा भेट्न सम्भव भएका अन्य क्षेत्रका उम्मेदवारसंग पनि अभियन्ताहरुले जनसरोकारका सवाल प्रस्तुत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेद्वार गोमा तामाङ् र स्वतन्त्र उम्मेद्वार देउमान बुढालाई धरानमा, श्रम संस्कृती पार्टिका उम्मेद्वार समीर तामाङ् र नेकपाका रञ्जित तामाङ्लाई झापाको दमकमा भेटेको थियो । यस्तै नेकपाका उम्मेद्वार गिरिराजमणि पोखरेललाई बर्दिबासको गौरीडाडाँमा, नारायणकाजी श्रेष्ठलाई सर्लाहीको राजघाटमा र नेपाली कांग्रेसकी मीना खरेललाई चितवनको मुङ्लिनमा टोलीले भेटेर जनजीविकाका साझा सवालबारे ध्यानाकर्षण गर्दै प्रश्न र छलफल गरेका थिए । यी सबै उम्मेद्वारहरुले आआफ्ना तर्फबाट प्रतिवद्धता जनाएका छन् । 

प्रतिक्रिया