Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तर्वार्ता

परीक्षामा अमर्यादित काम गर्नेलाई तत्काल कारबाही हुन्छ : नियंन्त्रक काप्री 

विहीबार, १८ चैत्र २०७२

नेपालका विभिन्न शैक्षिक तहमध्ये सबैभन्दा संवेदनशिल र ठुलो बोर्ड मानिने एसएलसी बोर्ड परीक्षा बिहीबारदेखि शुरु भएको छ । शैक्षिक प्रमाणपत्र र उपलब्धीका लागी फलामे ढोका ‘आइरन डोर’ भनेर चिनिने एसएलसी बोर्डमा विद्यार्थीले १० बर्षसम्म गरेको मेहनत ३ घण्टाको समयअवधिमा परीक्षाका माध्यमबाट देखाउनुपर्छ । बिहीबारबाट शुरु यस बर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५ सय ५० जना विद्यार्थी सहभागी छन् । परीक्षाका लागी देशभरका विभिन्न ठाउँमा तोकिएका १ हजार ९ सय ४३ केन्द्रमा प्रश्नपत्र पुर्याउनदेखि आवश्यक सबै सुरक्षा व्यवस्था गरिएको छ । परीक्षामा चिट चोराइएको, निरिक्षकहरु स्वंयम नै परीक्षार्थीलाई अमर्यादित काम गर्न गराउन उद्धत रहेका, सुरक्षा व्यवस्था नै कमजोर भएको, फर्म भरेर पनि कतिपय विद्यार्थीले परीक्षा दिन नपाएको भन्ने गुनासा परीक्षाका बेला बर्षेनी आइरहन्छन् । यस बर्षको एसएलसी परीक्षा समग्रमा कत्तिको व्यवस्थित, उत्कृष्ट र मर्यादित होला ? परीक्षा नियंन्त्रक कृष्णप्रसाद काप्रीसंग विष्णु विवेकले गरेको कुराकानी :

 एसएलसी परीक्षा शुरु भएको छ, तर यस बर्ष कत्तिको उत्कृष्ट हुन्छ ? 

हो । यस बर्षको एसएलसी परीक्षा शुरु भएको छ । सबै भाईबहिनीलाई शुभकामना भन्छु पहिला त । हामीले परीक्षाका लागी कुनै कसुर बाँकी नराखी आवश्यक तयारी पुरा गरेका छौँ । परीक्षालाई व्यवस्थित, उत्कृष्ट र मर्यादित बनाउन जिल्लाहरुमा पनि एसएलसी परीक्षा जिल्ला समन्वय समिती समेत बनाइएका छन् । उत्कृष्टताका विषयमा यस बर्ष त्यस्तो अमर्यादित र  भद्रगोल भन्ने हुदैन् । आशा छ परीक्षा उत्कृष्ट नै हुनेछ ।

 तर बर्षेनी आउने गुनासोँ भनेको एसएलसीमा अभिभावक नै चिट चोराउने, सुरक्षाका लागी खटिएका सुरक्षाकमीले नै परीक्षार्थीलाई चिट चोराउन सहयोग गर्ने, यहाँसम्मकी निरिक्षकहरु नै विद्यार्थीले चिट चोर्दा ‘लुकाएर हेर न’ भन्ने गरेका भेटिन्छ । यस बर्ष यो रोकिन्छ की रोकिन्न ?

परीक्षामा चिट चोर्ने, चोराउने यस्ता अमर्यादित काम त के, कुरा पनि नगरौँ । हामीले यस बर्ष सबैलाई पूर्ण रुपमा सचेत गराईसकेका छौँ । सबैलाई सहयोग गर्न आग्रह पनि गरेका छौँ । बर्षेनी यस्ता घटना केही रुपमा भएका छन् । घटना भए भन्नेवित्तिकै परीक्षा अमर्यादित भयो भन्ने होइन् । तर तपाईले भनेजस्तै अभिभावक, सुरक्षाकर्मी, निरिक्षकले नै जुन किसीमको अमर्यादित काम चिट चोराउन सहयोग गर्ने कुरा छ । यो बर्ष यस्तो हुन दिदैनौँ । यदि त्यस्तो गरिएको भेटिएमा तुरुन्त कारबाही हुन्छ । यसमा सबै परीक्षार्थी र शिक्षा सरोकारवालाहरु ढुक्क भए हुन्छ । अमर्यादित काम गर्नेलाई कुनै हालतमा छाडिदैन कारबाही गरिन्छ ।

 तपाईले ढुक्क भए हुन्छ त भन्नुभयो । तर परीक्षा केन्द्र बाहिर शान्त, व्यवस्थित र कडा सुरक्षा देखिएपनि परीक्षाकोठाभित्रै खुलेआम चिट चोर्न र चोराउन रोकिएको छैन् । यो नरोकिनु जिल्ला समन्वय समितीको कमजोर अनुगमन नै हो । यसलाई कत्तिको प्रभावकारी बनाइएको छ ?

बाहिर शान्त र भित्र खुलेआम चिट चोर्न लगाइने भन्ने विषय आफैमा गम्भिर विषय हो । मैले चाहेसम्म र सकेसम्म यस्तो कुनै पनि परीक्षा केन्द्रमा गर्न दिइने छैन् । यसको जिल्ला समन्वय समिती अन्तर्गतको एसएलसी परीक्षा अनुगमन समीतिले कडा अनुगमन गर्नेछ । यदि परीक्षामा खटिएका निरिक्षक, सुरक्षाकर्मीले नै यस्तो अयर्मादित काम गरेको भेटिए हामी तुरुन्तै कारबाही गछौँ । यस बर्ष हामीले एसएलसी परीक्षा अनुगमन समितीले जुन गल्ती, त्रुटि, कमजोरी अर्थात परीक्षार्थी वा निरिक्षकले अमर्यादित काम गरेको भेटियो भने त्यही अनुसार जिल्ला समन्वय समितीले काम कारबाही अगाडी बढाउने पनि भनेका छौँ । 

 अमर्यादित काम गर्ने परीक्षार्थी र निरीक्षकलाई जिम्मेवार बनाउन नसक्ने केन्द्राध्यक्षलाई नै परिवर्तन गर्नुुहुन्छ की एकपटकलाई भैगो भन्दै छाड्नुहुन्छ ? 

अमर्यादित काम गर्ने परीक्षार्थी र निरिक्षकलाई त कुनै हालतमा एकपटकलाई भैगो भन्दै छाड्दैनौँ । तर केन्द्राध्यक्षको कुरा जहाँसम्म छ । यो गहन विषय हो । यदि परीक्षा केन्द्रलाई व्यवस्थित गर्न नसक्ने, निरिक्षकलाई आवश्यक जिम्मेवार बनाउन पनि प्रयास नगर्ने केन्द्राध्यक्ष कोही छन् । त्यस्तो भेटियो भने हामी केन्द्राध्यक्ष नै परिवर्तन गर्नुपरे पनि गछौँ । त्यसको लागी जिल्ला समन्वय समितीलाई हामीले भनिसकेका छौँ ।

 अन्तिममा, अक्षराङ्कन पद्धतिबाट यस बर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरिदैछ । यसका केही अन्योल र भ्रम पनि छन् । विद्यार्थीलाई तपाईको सुझाव के रहन्छ ? 

हो । निश्चय पनि यस बर्ष अक्षराङ्कन पद्धतिबाट नतिजा सार्वजनिक गरिनेछ । तर अक्षराङ्कन बारे जुन अन्योल देखिएको भनिन्छ । त्यस्तो केही पनि होइन् । विद्यार्थीलाई प्रेरित गर्न र कसैलाई फेल नगरीकन उनीहरुको क्षमतालाई ग्रेडसिट मार्फत सार्वजनिक गरिन लागेको हो । कसैलाई फेल नगरिने भन्दैमा सबै पास भइन्छ भन्ने होइन । आफु कति सक्षम छ ? कुन विषय पढ्न कुन ग्रेडसम्म अंक ल्याउँदा आफुलाई सहज हुन्छ ? यसबारेमा विद्यार्थीले राम्रोसंग आफुलाई तयारीमा राखेर परीक्षा दिन मेरो विशेष आग्रह छ । सकेसम्म अमर्यादित काम नगर्न, परीक्षा व्यवस्थित बनाउन परीक्षार्थीको सबैभन्दा ठूलो भूमिका हुन्छ । त्यसैले राम्रोसं उत्कृष्ट ढंगले आफु पूर्ण अध्ययन गरी तयारी अवस्थामा रहेर परीक्षा दिन फेरी पनि सबै विद्यार्थीमा मेरो अनुरोध र सुझाव छ । 

प्रकाशित मिति : २०७२ चैत्र १८ गते ।

 

प्रतिक्रिया