Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

हेडसर भए आइडल

आइतबार, २४ पुस २०७३

काठमाडौं - शिद्धबाबा उच्च माध्यमिक विद्यालय, तम्घास ९, गुल्मिका प्रधानाध्यापक डोर विक्रम श्रीस ले इन्ट्याग्रीटी आइडल २०१६ को उपाधी प्राप्त गरेका छन् । सक्षम, इमान्दार र कर्तव्यनिष्ठ एकजना राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक बर्ष प्रदान गर्ने उक्त उपाधी विद्यार्थीको सिकाइलाई व्यवहारिक र समय सापेक्ष बनाउन उदहरणीय कार्य गरेकोले प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

कक्षा १ देखिका विद्यार्थीका लागि कम्प्युटरको ब्यवस्था गर्नुका साथै आठ हजार किताब भएको पुस्तकालयको समेत व्यवस्था गर्दै  विद्यार्थीको व्यक्तित्व विकासमा निकै ठुलो योगदान दिएकोले श्रीस लाई उक्त उपाधि प्रदान गरेको आयोजकले जनाएको छ ।

भक्तपुरको बागीश्वरी उच्च माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा सहित जुम्लाका महिला तथा बालबालिका कार्यालयका महिला विकास निरीक्षक बिन्दु कुवँर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भिष्मकुमार भुषाल र धनकुटाका मौनाबुधुक स्वास्थ्य चौकीका, स्वास्थ्य सहायक तारा सुवेदी अन्तिम ५ जनामा पर्न सफल भएका थिए ।

सन् २०१४ देखि सुरु इन्ट्याग्रिटी आइडल यस वर्षको १५ फेब्रुअरी २०१६ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ६७ जिल्लाबाट ८३८ वटा मनोनयन प्राप्त भएको थियो । । यसबर्ष एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको ९६ हजार ३ सय २५ मत मध्ये कुल ९१ हजार ७ सय ७८ मत सदर भएको थियो । सो मध्ये विजयी श्रीसले सवैभन्दा बढि अर्थात् ४१  हजार ६ सय ४५  मत पाएको आयोजकले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको संयोजकत्वमा पूर्र्व सचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह रहेको निर्णायक मण्डलले  विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात विभिन्न मापदण्डका आधारमा अन्तिम पाँचको छनोट गरेको आयोजकले जनाएके छ ।

विजेता तथा पाँचै जना आइडललाई बधाई तथा शुभकामना दिदै मुख्य सचिव सोमलाल सुवेदीले नकारात्मकताको बिचमा सकारात्मक अभ्यासको थालनी गरेकोमा आयोजक संस्था एकाउन्टबिलिटी ल्याबको अभ्यासको प्रशंसा गरे । उपाधी ग्रहण गर्दै विजेता श्रीसले आफुुलाई यो सम्मानले अझ बढी थप जिम्मेवार बनाएको र भोलीका दिनहरुमा थप काम गर्ने प्रेरणा मिलेको बताए ।

जनताप्रति सरकारी अधिकारीलाई उत्तरदायी बनाउने उद्धेश्यले सन् २०१४ देखि इन्ट्याग्रिटि आइडलको शुरुवात गरिएको थियो । सन् २०१४ मा पाँचथरका तात्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालर सन् २०१५ मा गुल्मीका तात्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेलले उक्त उपाधी प्राप्त गरेका थिए ।  

नेपालबाट सुरु भएको यो अभियान तेस्रो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान र मालि लगायतका देशमा  विस्तार भैसकेको र ईन्डोनेसियामा यो कार्यक्रम सुरु हुने प्रकृयामा रहेको संस्थाका प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया