Edukhabar
मंगलबार, ०१ जेठ २०८१
विचार / विमर्श

लय समात्न नसकेको शिक्षक नियुक्ति प्रक्रिया, शिक्षक विद्यार्थीमाथि नै अन्याय

बुधबार, १८ फागुन २०७३

शिक्षणले ज्ञान तथा सिपको हस्तान्तरण भन्ने बुझाउँछ । हस्तान्तरण एकबाट अर्कोमा गरिन्छ । तसर्थ यो कार्य आफैमा जटिल तथा संवेदनशील छ । यसैले सकेसम्म मानिसहरु यो पेशा रोज्न चाहँदैनन् । यदि रोजिहाले भने पनि उनीहरुको मन अन्यत्र ताकिएको हुन्छ, सक्नेहरु बाटो लाग्छन्, नसक्नेहरु त्यही भुल्छन्, आजको परिवेशमा ।

अर्कोतिर सीमित सुविधाका कारणले पनि शिक्षा क्षेत्रमा मानिसहरुको आकर्षण बढ्न सकेको छैन । हिजो परिस्थिति फरक थियो, आवश्यकताहरु सीमित थिए, पेशा सम्मानित थियो, गाउँठाउँमा रोजगारी उपलब्ध हुन्थ्यो, त्यसैले धेरैको यो रोजाइको क्षेत्र वा विषय थियो । आज परिवेश फरक छ, आवश्यकताहरु असीमित छन्, शक्तिशाली प्रशासनिक पदमात्र आकर्षक बनेका छन्, सुविधा र आम्दानीका वैध अवैध बाटाहरु अन्य क्षेत्रमा ज्यादा छन् । शिक्षण रोजाइमा पर्ने कुरै भएन ।

तथापि शिक्षा मानिसहरुको आधारभूत र नभइ नहुने आवश्यकता हो । यो कुरा आज सबैतिर स्थापित छ । धनी, गरिब, सबल, फरक क्षमता, मातृभाषी, विमातृभाषी आदिआदि  सबैलाई शिक्षा दिनुपर्छ भन्ने कुरामा परिवार, समाज, राष्ट्र र अन्ततः विश्व नै प्रयत्नशील छ । हरेक अभिभावक आफ्ना सन्ततिलाई राम्रो शिक्षा दिन चाहन्छन् । राम्रो र गुणस्तरीय शिक्षाका लागि भनेर सरकारी र निजी विद्यालयहरु स्थापित छन् ।

अभिभावकहरु राम्रो शिक्षाका भौतारिएका त छन् तर शिक्षा दिने व्यक्तिहरुका बारेमा भने चासो राख्न सक्दैन । अभिभावकहरुको चासो शिक्षा दिने व्यक्तिहरुका बारेमा पनि उत्तिकै हुनु आवश्यक छ । शिक्षा दिने कार्य सामूहिक कार्य पनि हो । अभिभावक र शिक्षकहरुको सामूहिक प्रयत्नबाट मात्रै त्यसमा सफलता हासिल हुन सक्छ ।

संसार साँगुरिएको छ भन्नुको अर्थ आजको विद्यार्थी भोलि संसारको जुनसुकै क्षेत्र र काममा प्रतिष्पर्धा गर्न सक्षम हुनुपर्ने भएको छ । राष्ट्रियता जीविकोपार्जनको सक्षमताको सापेक्षतामा परिभाषित हुन थालेको छ । देशमै गरिरहेका राम्रा भनिएका पेशा, व्यवासाय छाडेर कैयौं युवाहरु विदेशिनु त्यसैको उदाहरण हुनुपर्छ । राजनीतिको दाउपेच र झेची खेललाई अबका युवाहरु अनुसरण गरेर पत्याएर बस्नेवाला पनि छैनन् । सुखको खोजीमा उनीहरुले आफ्नो यात्रा सुरु गरिसकेका मात्रै छैन, धेरैलाई पछाडि छोडिसकेका छन् । आफूले दुःख पाए पनि आफ्ना सन्ततीले सुख पाउन भन्ने चाहना युवाहरुको देखिन्छ । त्यहीकारण नयाँ संघर्षको यात्रामा उनीहरु प्रयत्नशील भएको देखिन्छ ।   

सामुदायिक विद्यालयका केही सीमित दरबन्दीमा मात्र सरकारले स्थायी नियुक्ति गर्दछ । निजी विद्यालय, सरकारीकै पनि राहत, अनुदान, पीसिएफ, स्थानीय वा निजी स्रोतका शिक्षकहरु बडा कष्टका साथ शिक्षण गरिरहेको पाइन्छ । सीमित दरबन्दी शिक्षक सिफारिस गर्ने शिक्षक सेवा आयोगले पनि आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न सकिरहेको छैन । शिक्षा क्षेत्रमा जनशक्ति व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण छ । एउटा शिक्षकको काम अर्को शिक्षकलाई खप्टाइदिएर गर्न सकिने किसिमको हुँदैन । विद्यार्थीलाई सम्बन्धित विषयकै शिक्षक दिनुपर्ने हुन्छ । आज शिक्षक अवकाश निस्कियो भने भोलि नै उसका ठाउँमा नयाँ शिक्षक पठाउनुपर्ने हुन्छ ।

तसर्थ शिक्षा क्षेत्रमा शिक्षक नियुक्ति प्रक्रियाले लय समात्न सकेको छैन । जबसम्म शिक्षक नियुक्तिसम्बन्धी यो चुनौतीको हल गर्न सकिदैन तबसम्म शिक्षाको गुणस्तर सुधारको अपेक्षा गर्नु जायज हुँदैन । सँगसँगै विकासको कुरा पनि छ । संघीयता सहितको संविधान लागू छ तर शिक्षक पदपूर्ति तरिका केन्द्रिकृत छ । केन्द्रीय वा क्षेत्रीय स्तरमा विज्ञापन गर्दा योग्य शिक्षकहरु त छनौट भए तर छनौट भएका सबै शिक्षक कार्यस्थलमा छन् त ? जवाफ त्यति सकारात्मक आउँदैन । तसर्थ लाखौं शिक्षक नियुक्ति गर्ने शिक्षक सेवा आयोग स्वतन्त्रता, स्वायत्ततता र संवैधानिकता जति जरुरी छ, त्यति नै जरुरी छ, यसको नियमितता र विकेन्द्रिकरणको !

पढेर जान्नु र परेर जान्नु फरक फरक कुरा हुन् । बुढापाकाहरु पढ्नुमा भन्दा पर्नुमा आज पनि धेरै विश्वास गर्छन् । परेको कुरा जीवनपर्यन्त बन्न पुग्छ, पढेको कुरा पुर्नताजकी गरिरहनुपर्छ । तर आज शिक्षक बन्ने मापदण्ड केवल पढाइलाई मात्र बनाइएको छ । शिक्षक बन्नका लागि शिक्षा विषय पढ्नुपर्ने अपरिहार्यतालाई सैद्धान्तिक रुपमा मात्र स्वीकारिएको छ । तर व्यवाहरिक हिसाबले त्यसको प्रयोग छैन । कतिपय विषयमा केवल लाइसेन्स लिए मात्रै पुग्छ, शिक्षा पनि पढ्नु पर्दैन ।

नियुक्तिका भोलिपल्ट बिना तालिम शिक्षकलाई कक्षाकोठामा पठाइन्छ । काम सुरु गरेको महिनौंपछि हप्ते तालिमका लागि बोलाइन्छ । परीक्षामा अब्बल देखिएको व्यक्तिले कार्यक्षेत्रमा पनि राम्रो प्रर्दशन नै गर्न सक्छ भन्ने छैन । उदाहरणका लागि लोक सेवा आयोगलाई हेरे पुग्छ, उसले सबैभन्दा योग्य र उत्कृष्ट व्यक्तिलाई कर्मचारीका रुपमा सिफारिस गर्छ भन्ने आम विश्वास छ तर ती उत्कृष्ट कर्मचारीहरुको इमान्दारिता अनुभव बढ्दै जाँदा दिनप्रतिदिन खिया लाग्दै गएको महसुस स्वयं आयोगले गरेको छ । त्यहीकारण उसले इमान्दारिता परीक्षण गर्ने प्रविधिको चर्चा गर्न थालेको छ । तसर्थ परीक्षा र कार्यक्षेत्र दुवैमा उत्कृष्ट हुनुपर्ने आवश्यकता छ ।

कार्यक्षेत्रमा उत्कृष्टताका लागि त तालिमको जरुरत पर्दछ । पढनु र पर्नु आफैमा धेरै भिन्न कुरा हुन् । शिक्षक त अझ सिर्जनशील सोचको व्यक्ति हुनुपर्ने देखिन्छ । जुनसुकै विषयको भए पनि इतिहास, भूगोल, संस्कृति, समाज आदिआदि व्यवाहरिक ज्ञान अत्यावश्यक देखिन्छ । विद्यार्थी मनोविज्ञानलाई बुझ्दै नबुझेको शिक्षकले कसरी कक्षाकोठालाई सिकाइको उत्कृष्ट थलो बनाउला ?

शिक्षक र विद्यार्थीका मनोविज्ञानका बिच तालमेल मिल्न नसक्दा अप्रिय घटनाहरु भएका समाचारहरु पनि सुनिन्छन् । टिनएजरको मनोविज्ञानलाई सन्तुलन राख्न शिक्षकलाई विशेष तालिमकै आवश्यकता पर्दछ । तर यति महत्वपूर्ण विषयलाई पनि राज्यले सम्बोधन गर्न सकेको छैन ।

शिक्षणले ज्ञान, सिप प्रविधिको हस्तान्तरणका अतिरिक्त बानीमा परिवर्तनमा ल्याउँछ भन्ने मान्यता छ । विद्यार्थीको बानीमा परिवर्तन ल्याउन विशेष सिप वा क्षमता आवश्यक हुन्छ । एक हप्ते तालिमको विदु्रप अनुहारले मात्र कार्यक्षेत्रमा उत्कृष्टता दिलाउँदैन । तालिमकै अभावले गर्दा पनि शिक्षण एकातिर आम मानिसहरुको रोजाइमा पर्न सकेको छैन भने अर्कोतिर शिक्षक र विद्यार्थीले दुबै अनावश्यक झमेला र दुःख पाइरहेका छन् ।

तसर्थ नियुक्तिको कागज हातमा थमादिएर शिक्षकलाई कक्षाकोठामा पठाइनु गलत मात्रै होइन, स्वयं शिक्षक र विद्यार्थीप्रति अन्याय पनि हो । 

प्रतिक्रिया