Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

कक्षा १० मा एसईसी, १२ मा एसएलसी

शुक्रबार, ०५ कार्तिक २०७३

काठमाडौं - अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीले दिने परीक्षाको नाम सेकेण्डरी एजुकेशन सर्टिफिकेट - एसईसी (SEC) रहने भएको छ । कक्षा १२ को परीक्षालाई एसएलसी भनिने छ । नयाँ शिक्षा ऐनले विद्यालय शिक्षाको तहगत परिवर्तन गरेको अवस्थामा ऐन आएको ४ महिना पछि बल्ल शिक्षा मन्त्रालयले नाम टुङ्ग्याएको हो । शुक्रबार सरोकारवालाहरु सहित भएको छलफल पछि मन्त्रालयले दुवै तहको नाम टुङ्ग्याएको हो ।

छलफलमा शिक्षा मन्त्री धनिराम पौडेल, राज्यमन्त्री धनमायाँ विक सहित शिक्षाविद्, अभिभावक, शिक्षक संघ संगठनका प्रतिनिधि लगायत मन्त्रालयका सहसचिवहरुको सहभागिता थियो ।  

छलफलले पुरानै संरचना अनुसार रहेको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को परीक्षा सञ्चालन गर्ने र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने गरी टुङ्ग्याएको सदस्य सचिव सूर्य गौतमले बताए । ऐन आएको यतिका समय सम्म पनि परीक्षा बोर्डमा अध्यक्ष लगायतका सदस्यहरुको नियुक्ति हुन नसक्नु, बोर्डले आफ्नो कामलाई क्षेत्रीय तहमा विस्तार गर्न नसक्नु लगायतका कारण यसपटक कक्षा १० को परीक्षा पुरानै संरचना अन्र्तगत लिन लागिएको हो । गत बर्ष सम्म परीक्षा लिएको नियन्त्रण कार्यालयका क्षेत्रीय कार्यालयहरु मार्फत् नै कक्षा १० को परीक्षा लिईने छ ।

'यस बर्षका लागि ब्यवस्थापन गरिएको हो, अर्को बर्षबाट विद्यालय तहको परीक्षाको सम्पूर्ण काम बोर्डले नै गर्छ' गौतमले भने, 'आजको निर्णयले अहिले कक्षा १० मा पढ्ने विद्यार्थी र तिनका अभिभावकको अन्यौल हटाएको छ, बाँकी निर्णय हामी छिट्टै गर्छौ ।'

ऐन आएको यतिका समय सम्म निर्णय गर्न नसक्ने शिक्षा मन्त्रालयले चाँडै निर्णय गर्ला भन्ने पत्याउने आधार नभएको भन्दै आलोचना हुँदै आएको छ ।

काम गराई सुस्त भएको भन्दै शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले मन्त्रालयको आलोचना गरे ।

'ऐन आएपछि त फटाफट काम गर्नु पर्नेमा मन्त्रालय कछुवा तालमा छ' उनले भने, 'ऐन आउँदै छ भन्ने कुरा पहिल्यै थाह थ्यो, प्रभावकारी काम गर्ने हो भने पहिल्यै तयार हुनु पथ्र्यो भएन ऐन आएको यतिका समय सम्म पनि झिना मसिना कुरामै अल्मलिनु भनेको लाजमर्दो हो ।'

प्रतिक्रिया