काठमाडौ - गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली सुदृढीकरणका लागि सरोकारवालाहरुको साझा प्रतिवद्धता विकास गर्ने उद्देश्यले छलफल श्रृंखला आयोजना गरिएको छ । शिक्षा, स्वास्थ्य र संस्कृतिका क्षेत्रमा कार्यरत दया फाउण्डेसनले काठमाडौ महानगरपालिका वडा नम्बर २२ को सहयोगमा गरेको छलफल श्रृंखलाका मुख्य वक्ता शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षा सुधारका लागि सामाजिक सहकार्य र साझा स्वामित्व जरुरी रहेको उल्लेख गरे । सार्वजनिक शिक्षा प्रणाली कमजोर हुँदा समाजमा असमानता बढ्ने उल्लेख गर्दै उनले सामुदायिक विद्यालयहरुको सुधार विना असमानताको खाडल पुर्न असम्भव रहेको बताए । तर, राज्यले नै सार्वजनिक शिक्षा प्रणालीलाई बलियो बनाउने तर्फ चासो नदिदाँ सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी कमजोर बन्दै गएको र यसले समग्र राज्यको प्रणालीलाई नै हानी गरिरहेको उनको निष्कर्श छ ।
हलिउड फिल्म 'ईनेमी एट दी गेट'को सन्दर्भलाई उल्लेख गर्दै उनले नेपालको सार्वजनिक शिक्षा बेलैमा सुधार नगर्ने हो भने 'ढोकैमा आईपुगेको असमानताको शत्रु' ले ठूलै हानी निम्त्याउन सक्ने आशंका व्यक्त गरे ।
'सार्वजनिक शिक्षा क्षेत्रमा अर्थपूर्ण र दिगो परिवर्तन ल्याउन शिक्षक, शैक्षिक नेतृत्व, सरकार तथा नीति निर्माताहरूको साझा स्वामित्व आवश्यक छ' उनले भने 'शिक्षालाई आगामी २०–३० वर्षको दीर्घकालीन दृष्टि सहित कल्पना गरी त्यस अनुसार आजैदेखि काम सुरु गर्नु पर्छ ।'
उनको सम्बोधन पछि शुरु भएको गुणस्तरीय सार्वजनिक शिक्षाका लागि साझा दायित्व शिर्षकको प्यानल छलफलमा पनि सरोकारवालाबीचको सुदृढ विश्वास नै सार्वजनिक शिक्षा सुधारको आधार भएको बारेमा चर्चा भएको थियो ।
शिक्षाकर्मी टीका भट्टराई, टिच फर नेपालकी निर्देशक स्वस्तिका श्रेष्ठ, विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल र काठमाडौ महानगरपलिकाका शिक्षा समितिका संयोजक एवं वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन सहभागी उक्त छलफलमा सार्वजनिक शिक्षा सुदृढिकरणका लागि सरकार, विद्यालय, नागरिक समाज, स्थानीय समुदाय सबैको उत्तरदायित्व स्पष्ट हुनुपर्ने र सहकार्यलाई संस्थागत रूप दिनुपर्ने बारेमा चर्चा भयो । जिम्मेवारीको प्रश्न उठाइरहनु भन्दा अनुगमन, मूल्याङ्कन र प्रोत्साहन गर्ने प्रणाली निर्माण गर्नुपर्नेमा प्यानलिष्टहरुले जोड दिएका थिए । यो प्यानलको सहजीकरण एडुखबरका सम्पादक श्रीधर पौडेलले गरेका थिए ।

यस अघि भएको सार्वजनिक शिक्षामा देखिएको सिकाइ अन्तर कम गर्ने उपायमा केन्द्रित पहिलो छलफलमा सामाजिक–आर्थिक अवस्था, भाषिक अवरोध, अभिभावकीय सहभागिताको कमी र श्रम तथा जीविकोपार्जनको जिम्मेवारीको अवस्थाले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पारेको बारेमा चर्चा गरिएको थियो ।
सरस्वति निकेतनकी प्रधानाध्यापक रबिना महर्जन, टंगाल माविका प्रधानाध्यापक राजेन्द्र अधिकारी, आनन्द कुटीका निर्देशक सगेन्द्र श्रेष्ठ, र काठमाडौ महानगरका पूर्व शिक्षा अधिकृत राम प्रसाद सुवेदी सहभागी उक्त छलफलमा सिकाइ अन्तर कम गर्न शिक्षक, प्रधानाध्यापक, अभिभावक र समुदाय सबैको साझा जिम्मेवारी भएको निष्कर्ष निकालियो । विद्यालय नेतृत्वको भूमिकालाई अत्यन्त महत्वपूर्ण ठहर गर्दै, प्रधानाध्यापकको दूरदृष्टि, नवप्रवर्तनशील सोच र उद्यमशील नेतृत्वले सीमित स्रोत साधनका बीच पनि प्रभावकारी शैक्षिक परिणाम ल्याउन सक्ने प्यानलिष्टहरुको धारणा थियो । यो प्यानलको सहजीकरण शिक्षा पत्रकार रोश्ना सुब्बाले गरेकी थिईन् ।

यस अघि फाउण्डेशनकी अध्यक्ष मीखा माथेमाले सामाजिक न्याय र आर्थिक रूपान्तरणको आधार सार्वजनिक शिक्षा भएको बताउँदै राज्यको संरचनागत असमानताको चक्र तोड्ने सबै भन्दा शक्तिशाली माध्यम शिक्षा भएकोले सार्वजनिक शिक्षाका क्षेत्रमा फाउण्डेशनले कार्य गरेको उल्लेख गरिन् ।
'परिवारलाई गरिबीबाट माथि उठाउने र संरचनागत असमानताको चक्र तोड्ने सबैभन्दा शक्तिशाली माध्यम शिक्षा नै हो' उनले भनिन् 'यही विश्वासका साथ फाउण्डेसनले प्यानल छलफल मार्फत सरकार, विद्यालय, शिक्षक, परिवार, नागरिक समाज र विकास साझेदारहरूलाई एकै ठाउँमा ल्याई नेपालका प्रत्येक बालबालिकाका लागि थप न्यायपूर्ण, सान्दर्भिक र गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली निर्माण गर्ने साझा प्रतिबद्धता सुदृढ गर्न चाहेको हो ।'
उक्त छलफलले सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, सान्दर्भिक र विश्वास योग्य बनाउन साझा कार्ययोजना, प्रमाणमा आधारित संवाद, स्थानीय वास्तविकतामा आधारित नीति, शिक्षक सशक्तीकरण, विद्यालय नेतृत्व विकास, समुदायको विश्वास पुनःस्थापना तथा बहु–सरोकारवालाबीच दीर्घकालीन सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा उठेका सुझाव र निष्कर्षहरूलाई समेटेर आगामी दिनमा सिफारिस तथा सहकार्यका पहलहरू अघि बढाइने संस्थाले जनाएको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत नमराज ढकाल, शिक्षकका सम्पादक राजेन्द्र दाहाल, फाउण्डेसनका बोर्ड सदस्यहरू सहित विभिन्न विद्यालयका शिक्षक, शिक्षाका क्षेत्रमा कृयाशिल व्यक्ति र विभिन्न सामाजिक एवं शैक्षिक संस्थाका प्रतिनिधि सहभागी थिए ।

फाउण्डेशनकी कार्यक्रम व्यवस्थापक विञ्जु शाक्यले दयारामभक्त माथेमाको नाममा १७ बर्ष अघि स्थापना गरिएको फाउण्डेशनले शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा गरिरहेका कामका बारेमा प्रकाश पारेकी थिईन् । फाउण्डेशनले काठमाडौका ६, चितवनको एक र काभ्रेको एक सामुदायिक विद्यालयमा काम गर्दै आएको उनले जानकारी दिईन् ।
प्रतिक्रिया