Edukhabar
आइतबार, ०८ चैत्र २०८२
अन्तैवाट

विश्वविद्यालय बन्ने ताकमा : करफोक विद्यामन्दिर

शुक्रबार, १६ असार २०७४

काठमाडौं १६ असार/  करफोक नेपालको पूर्वी भेगको एउटा प्रसिद्ध शैक्षिक केन्द्र हो, जहाँ प्रसिद्ध करफोक विद्यामन्दिर माविलगायत शिक्षालय छन् । करफोक विद्यामन्दिर मावि फरक पहिचान बोकेका विद्यालयहरूमा पर्छ । एउटै विद्यालयमा साधारण धार र प्राविधिक धारको शिक्षा दिइन्छ भने यहीं सुस्तश्रवण (बहिरा) विद्यार्थीलाई आवासीय सुविधासहित अध्यापन गराइन्छ । कक्षा ११ र १२ को पढाइ यसैमा हुन्छ । यही विद्यालय हाताभित्र करफोक बहुमुखी क्याम्पस सुचारु छ । यस सामुदायिक क्याम्पसमा मानविकी, शिक्षाशास्त्र र वाणिज्य संकाय स्नातक तहको पठनपाठन हुन्छ । ‘हाम्रो लक्ष्य स्नातकोत्तर डिग्रीदेखि विद्यावारिधिसम्म उपाधि दिलाउने विश्वविद्यालय बनाउने छ,’ क्याम्पस प्रमुख जहरसिंह राई भन्छन्, ‘यही विद्यालयमा पढेर उच्च शिक्षा हासिल गरेर विद्यावारिधि र प्राध्यापक बन्न सफल भएका धेरै छन् ।

दक्ष र विज्ञ अगुवाहरू गाउँ नफर्की बिदेसिएकाले चाहेजस्तो भएको छैन । प्रयास जारी छ ।’ संविधानले माध्यमिक तहसम्म स्थानीय सरकारलाई सञ्चालन गर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थालाई टेकेर सूर्योदय नगरपालिकाले करफोक माविलाई ‘शैक्षिक तथा खेलकुदको केन्द्र’ बनाउने नीति अघि सारेको नगरपालिकाका कार्यकारी प्रमुख राजेन्द्र भट्टराई बताउँछन् । पर्वतीय जैविक मार्ग पनि करफोक क्षेत्रमै परेको छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा रहेको यो थलो हरपल बादलले छोपिइरहन्छ । कन्याम चिया बगानदेखि करिब सात किमि पश्चिमतर्फ रहेको करफोक विद्यालय हातावरिपरि जंगलले घेरेको छ । मेची राजमार्गसँग जोडिएको करफोक शिक्षालय ४ सय ९८ रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त विद्यालयका नाममा झापामा २६ बिघाभन्दा बढी जग्गा छ । कक्षा १ देखि १२ सम्म विद्यालय तह सुचारु छ । विद्यालय व्यवस्थापनमा आन्तरिक निर्णयले ५० रोपनी जग्गामा क्याम्पस स्थापना गरिएको छ, पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा । यो शिक्षालय भौतिक पूर्वाधार सम्पन्न छ । क्याम्पसको आफ्नै भवन छ । भारतीय दूतावासको १ करोड ४६ लाख रुपैयाँ बराबरको सहयोगबाट तीनतले २८ कोठाको विद्यालय भवन बनेको छ । क्याम्पसका तीनटा भवन छन् । स्नातकोत्तर तह व्यवस्थापनका निम्ति नगरपालिका, विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतसित परामर्श भइरहेको क्याम्पस प्रमुख राई बताउँछन् । ‘कक्षा १ देखि डिग्रीसम्म यही कर्फोक विद्यामन्दिरको छाता संस्थाअन्तर्गत उच्च शिक्षालयको विकास गर्ने प्रयास जारी छ,’ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रत्नकुमार ढुंगाना भन्छन्, ‘विश्वविद्यालय अनुदान आयोगले विद्यालयभन्दा छुट्टै स्वामित्वको जग्गा हुनुपर्छ भनेकाले नीतिगत समस्या आएको छ ।’

करफोक विद्यामन्दिरलाई मानित विश्वविद्यालय (डिम्ड युभर्सिटी) का रूपमा विकास गर्ने अवधारणाअनुसार तयारी भइरहेको शिक्षक सुवास राईले जनाए । समुदायको चासो कम प्रधानाध्यापक केदारप्रसाद चिमोरियाका अनुसार कक्षा १ देखि ५ सम्म पढ्ने विद्यार्थी १५ जना मात्र छन् । कक्षा ६ देखि १० सम्म दुई सय विद्यार्थी छन् । पूर्वप्रधानाध्यापक प्रेम सापकोटा विद्यालय सेवा क्षेत्रमा अधिक विद्यालय भएकाले साना कक्षामा विद्यार्थी न्यून रहेको बताउँछन् । ‘धेरै विद्यालय हुनु र समुदायको चासो कम भएकाले तल्ला कक्षामा बालबालिका घटेका हुन्,’ उनी भन्छन् । करफोक मावि सूर्योदय नगपालिका–१२ मा छ । यही वडामा आसपासमा गणेश मावि, पञ्चकन्या आधारभूत, त्रिभुवन आधारभूत, पाथीभरा आधार विद्यालय छन् । त्यसैगरी वडा नं. ११ मा वीरेन्द्र मावि, अगस्टाइन मावि, पिसल्यान्ड एकेडेमी, भवानी आधारभूत, कृष्ण आधारभूत र पाँच कक्षासम्म पढाइने रोजमेरी स्कुल छन् । करफोक माविमा साधारण धारतर्फ कक्षा ९ मा ७५ र कक्षा १० मा ४८ विद्यार्थी छन् । त्यसैगरी गत वर्षबाट प्राविधिकतर्फ बाली विज्ञान विषयको पठनपाठन सुचारु छ । प्राविधिक कोटा ४८ जनाको छ । दस कक्षामा ४२ जना छन् । योपटक कक्षा ९ मा ३३ जना भर्ना भएका छन् । कक्षा ११ र १२ मा गरी १ सय ९० विद्यार्थी पढ्छन् । विद्यालय तहमा पढाउने शिक्षक २५ जना छन् भने कक्षा ११ र १२ का निम्ति थप तीन जना छन् । ‘प्राविधिक धारतर्फ चाहिँ शिक्षकको अभाव छ, भएकालाई टिकाउनै मुस्किल छ,’ प्रधानाध्यापक चिमोरियाले भने । क्याम्पस प्रमुख राईका अनुसार स्नातक तहमा १ सय ८० जना अध्ययनरत छन्, मानविकीमा ३५, वाणिज्यमा ८५ र शिक्षाशास्त्रमा ६० । क्याम्पसतर्फ १८ शिक्षक र दुई कर्मचारी छन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया