काठमाडौं २३ असार/पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस वर्षदेखि एमबीबीएस भर्नाको न्यूनतम योग्यता परिवर्तन गरेको छ । सीटीईभीटीको डिप्लोमा कोर्स सकाएका विद्यार्थीले अब एमबीबीएसको प्रवेश परीक्षा दिन ब्रिजकोर्स गर्नुपर्ने प्रावधान राखिएको छ । यसअघि स्वास्थ्य विज्ञानमा प्रवीणता प्रमाणपत्र तह (तीन वर्षे डिप्लोमा) अध्ययन गरेका विद्यार्थीले बिज्रकोर्सबिनै एमबीबीएस परीक्षामा प्रतिस्पर्धा गर्न पाउँथे ।
प्रतिष्ठानका अनुसार सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, अप्थाल्मिक साइन्स, डेन्टल साइन्स तथा फार्मेसीमा प्रवीणता प्रमाणपत्र तह गरेका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डद्वारा निर्धारण गरिएको बिज्रकोर्स गर्नुपर्नेछ । बिज्रकोर्समा भौतिक, रसायन, जीव विज्ञान विषय लिई न्यूनतम ५० प्रतिशत अंक हासिल गरी उत्तीर्ण हुनुपर्ने मापदण्ड राखिएको छ । कक्षा ११ र १२ मा विज्ञान समूह अध्ययन गरेका विद्यार्थीले भने यो झन्झट बेहोर्नुपर्ने छैन ।
नेपाल मेडिकल काउन्सिलले एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षा मापदण्डमा सबै विश्वविद्यालय र प्रतिष्ठानमा एकरूपता ल्याउने निर्णय गरेअनुसार यस्तो व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले भनेको छ, ‘काउन्सिलले तोकेको मापदण्डअनुसार नै नेपालका सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरूले पालना गर्ने गरी मापदण्ड कार्यान्वयनमा एकरूपता ल्याउने निर्णय भएअनुसार प्रतिष्ठानले अब लिने एमबीबीएसको भर्ना परीक्षाका लागि स्वास्थ्य विज्ञानमा प्रमाणपत्र तह उत्तीर्ण गरेका आवेदकहरूले ब्रिजकोर्समा न्यूनतम ५० प्रतिशत हासिल गरेर उत्तीर्ण भएको हुनुपर्ने मापदण्ड समावेश गरिएको छ ।’ यसअघि अन्य विश्वविद्यालय र मन्त्रालयको छात्रवृत्ति परीक्षामा पनि स्वास्थ्य विज्ञानमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका विद्यार्थीले ब्रिजकोर्स गरेर मात्रै एमबीबीएसको प्रवेश परीक्षा दिएको हुनुपर्ने प्रावधान थियो । पाटनमा मात्रै ब्रिजकोर्सबिना सिधै भर्ना परीक्षामा सहभागी हुन पाउने प्रावधान थियो ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया