काठमाडौं २६ असार / नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भएका छन् ।
चिकित्सा शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरी एमडी/एमएस/एमडीएसको विषयमा तीनवर्षे विशेषज्ञता हासिल गरेका २ सय ३७ मध्ये करिब ७० प्रतिशतले आफ्नो क्षमता सिद्घ गर्न सकेनन् । अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ३० प्रतिशत फेल भएका थिए ।
‘यस पटकका अधिकांश पहिले पनि अनुत्तीर्ण भएकाहरू हुन्,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने, ‘२ सय ३७ परीक्षार्थीमध्ये ७१ जना मात्र पास भएका छन् ।’
काउन्सिल स्रोतका अनुसार यस पटकको परीक्षामा चीनबाट विशेषज्ञ चिकित्सक पढेर आएका एक सय ३२ जना सामेल भएकामा एक सय ११ जना फेल भए । बेलारुस, किर्गिस्तान र रुसबाट पढेर आएका क्रमश: २, ६ र १० जनाले परीक्षा दिएकामा सबै फेल भए । नेपालमै पढेका १८ जनामध्ये ८ जना फेल भए । फिलिपिन्समा पढेका ४० मध्ये २१ जना फेल भए । बंगलादेशमा पढेर आएका १३ मध्ये ४ जना फेल भए । यस्तै, भारतमा पढेका ५ र पाकिस्तान पढेका ६ मध्ये एक–एक जना फेल भए ।
यस पटक रेडियोलोजीको परीक्षामा सहभागी ६१ जनामा ५ जना मात्र पास भएका छन् । गत वर्ष पनि रेडियोलोजी विषयको विशेषज्ञ परीक्षा दिने ७३ जनामा १३ जना मात्र पास भएका थिए । अघिल्ला परीक्षामा फेल हुनेहरूमा धेरैजसो चीन, फिलिपिन्स, बेलारुस, रुस, कजाकिस्तान, बंगलादेश, नेपालमा पढेकाहरू बढी थिए, यस पटक पनि तिनै देशमा पढेका बढी फेल भए ।
काउन्सिलले पहिले वर्षमा दुई पटक विशेषज्ञ चिकित्सक दर्ता परीक्षा लिने गरे पनि यस वर्षदेखि तीन पटक लिन थालेको छ । एमडी/एमएस/एमडीएसको विशेषज्ञता हासिल गरेर मुलुकमा आएको एक वर्षसम्म दर्ता परीक्षामा नबसे पनि विशेषज्ञका रूपमा काम गर्न पाइन्छ । विशेषज्ञता प्राप्त गरेको एक वर्षभित्र दर्ता परीक्षा पास नगरे विज्ञका रूपमा काम गर्न नपाइने कानुनी व्यवस्था छ ।
रजिस्ट्रार शर्माले विशेषज्ञ चिकित्सक दर्ता परीक्षा पास नभई विशेषज्ञका रूपमा काम गर्नेहरूविरुद्घ उजुरी परे कानुनअनुसार कारबाही हुने जानकारी दिए । ‘हाल परिमार्जन गर्न लागिएको काउन्सिलको ऐन, आचारसंहितामा परीक्षा पास नभई काम गरे दर्ता खारेज गर्नेसम्मको प्रावधान छ ।’
कान्तिपुरमा अतुल मिश्रले लेखेको खबर
प्रतिक्रिया