Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेज गर्न माग

शनिबार, ३१ असार २०७४

काठमाडौं ३१ असार / चिकित्सकहरूका १० वटा संघ–संस्थाले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेजी प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । माग पूरा नगरिए आन्दोलनको चेतावनीसमेत उनीहरूले दिएका छन् । मन्त्रिपरिषदको असार २२ गतेको निर्देशनात्मक आदेशअनुसार युनिभर्सल मेडिकल कलेजको सम्बन्धन खारेजी प्रक्रिया अगाडि बढाउन उनीहरूले माग गरेका हुन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले चिकित्साशास्त्रको स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन गरेर त्रिविको विभिन्न सम्बन्धन प्राप्त निजी कलेजमा मेरिटका आधारमा विद्यार्थी भर्नाको सिफारिस गरे पनि युनिभर्सल मेडिकल कलेजले विभिन्न कारण देखाई भर्ना अस्विकार गरेको थियो ।

सर्वोच्च अदालतले समेत विभिन्न मितिमा मेरिटका विद्यार्थीको भर्नाको आदेश दिएको थियो । चिकित्सकको संघसंस्थाहरूले विज्ञप्ति जारी गर्दै सबै राज्यको प्रणालीले आदेश र निर्देशन दिँदा पनि युनिभर्सल कलेज अफ मेडिकल साइन्सले मेरिटका विद्यार्थीलाई तोकेको शुल्कमा भर्ना गर्न अस्विकार गरेर विभिन्न शीर्षकमा थप शुल्क लिन सक्ने व्यहोराको कागजमा सही गराउने प्रयास गरेको जनाएको छ । 
विज्ञप्ति जारी गर्नेहरूमा डक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, रेजिडेन्ट एसोसिएसन अफ नेपाल, नेशनल रेजिडेन्ट एसोसिएसन, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, नेपाल मेडिकल स्टुडेन्टस सोसाइटी, डाक्टर्स फर चेन्ज, सेभ मेडिकल फयाटर्निटी र सोलिडरिटी फर डा. केसी अलायन्स छन् ।

कान्तिपुरका प्रकाशित खबर ।

प्रतिक्रिया