काठमाडौं १४ साउन / काठमाडौंको एक स्कुलबाट दिनदहाडै बिहीबार एक बालक हराएका छन्। सोह्रखुट्टेस्थित सरस्वती बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय विशाल चौधरी स्कुलबाटै बेपत्ता भएका हुन्।
हराएका बालकका आफन्तले आफ्नो बच्चा अपहरणमा परेका हुन सक्ने आशंका गरेका छन् । स्कुल छुट्टीभएपछि अभिभावक कुरिरहँदा विशाल एक्कासी त्यहाँबाट बेपत्ता भएका थिए। प्रहरीका अनुसार स्कुल छुट्टी भएको पाँच मिनेटपछि विशालका बुबा विजय त्यहाँ पुगेका थिए । विजयले आफ्नो बच्चा खोज्दा नभेटेपछि विशाल हराएको थाहा भएको थियो।
'अभिभावक कुरिरहेका विशाल कतिबेला बाहिर गए भन्ने स्कुलले पत्तै पाएनछ । छुट्टी भएपछि अभिभावकले आआफ्ना बच्चा लिएर गईरहेका थिए। त्यति नै बेला विशाल त्यहाँबाट निस्किएको देखिन्छ ', घटनाको अनुसन्धान गरिरहेका प्रहरी भन्छन्।
सरस्वती बोर्डिङ स्कुलका प्रिन्सिपल सुमन मल्लले आफ्नो विधार्थी बेपत्ता भएको स्विकार गरे। 'हिजोदेखी हाम्रो विधार्थी वेपत्ता भईरहेका छन्। स्कुल छुट्टी भएपछि अभिभावकले लिन आउनु अघि नै बच्चा स्कुलबाट निस्किएको देखिन्छ', प्रिन्सिपल सुमनले भने । स्कुलभित्र सिसीटिभी जडान गरिएकाले प्रहरीले फुटेजको अध्ययन गरेर अनुसन्धान गरिरहेको छ।
अन्नपूर्ण पोष्टमा लोकेन्द्र प्रसाइँले लेखेको खबर ।
प्रतिक्रिया