Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

६ लाखसहित जिशिअ पक्राउ

शनिबार, १४ साउन २०७४

काठमाडौं १४ साउन /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई शुक्रबार भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको छ। भारतीय नम्बर प्लेटको गाडीमा घर फर्कंदै गरेका उनी चितवन, लोथरबाट ६ लाख नगदसहित पक्राउ परेका हुन्। आयोगको बर्दिबास सम्पर्क कार्यालयको टोलीले गाडीको सिट मुन्तिरबाट नगद बरामद गरेको थियो। सुवेदीले भ्रष्टाचार गरी कमाएको रकम बोकेर घर जाँदै गरेको गोप्य सूचनाका आधारमा टोलीले गाडी जाँच गरेको हो। सुवेदीलाई आवश्यक कारबाहीका लागि बर्दिबास पठाइएको प्रहरीले जनाएको छ। बिहीबार शिक्षा कार्यालयमा नगद बाँडफाँड भएको सूचना आयोगको बर्दिबास कार्यालयमा पुगेको थियो।

आयोगले दुई महिनाको अवधिमा अवैध रकम लिएको आरोपमा शिक्षा कार्यालयका तीन उपसचिवलाई पक्राउ गरी कारबाही थालेको छ। सुवेदीले भ्रष्टाचारको रकम लैजाँदै गरेको सूचना पाएर नाका रोकी जाँच गर्दा स्रोत नखुलेको ६ लाख फेला परेको आयोग स्रोतले जनाएको छ। सुवेदीले उक्त रकम तलब भत्ताबापतको भनी दाबी गरिरहेको एक अधिकारीले बताए।
जेठ ४ गते शिक्षक भर्नाबापत लिएको ४ लाख नगदसहित शिक्षा कार्यालयका उपसचिव वासु तिमल्सिना र रामहरि रिजाल लालबन्दीको एक होटलवाट पक्राउ परेका थिए। शिक्षा कार्यालयमा भ्रष्टाचार व्याप्त रहेको तीन उच्च कर्मचारीको पक्राउबाटै पुष्टि भएको छ। शिक्षाका तल्लो तहका कर्मचारीलाई समेत बिनापैसा काम नगर्ने आरोप लाग्दै आएको छ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया