Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

त्रिविमा रिले अनशन

सोमबार, १६ साउन २०७४

काठमाडौं १६ साउन/प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई माग पूरा गरिदिने आश्वासन दिएका छन्। त्रिवि आंशिक प्राध्यापक संघको अगुवाइमा ६ दिनदेखि कीर्तिपुरस्थित विश्वविद्यालयअगाडि रिले अनशनरत आंशिक शिक्षकका माग बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका हुन्।

‘हाम्रा माग प्रधानमन्त्रीलाई पेस गरेका छौं,’ ज्ञापनपत्र बुझाउने टोलीमा संलग्न शिक्षक योगेश जोशीले भने, ‘प्रधानमन्त्रीज्यूले शिक्षामन्त्रीसँग सल्लाह गर्छु, तत्काल के सक्छु, गर्छु भन्नुभएको छ।’ प्रधानमन्त्रीबाट सकारात्मक संकेत पाए पनि शिक्षकहरूको अनशन भने जारी छ। ‘त्रिवि उपकुलपति तीर्थ खनियाँ देशबाहिर रहनुभएकाले तत्कालै अघि बढ्न सकेको छैन,’ अर्का शिक्षक घमराज लुइँटेलले भने, ‘उहाँ फर्कनुभएपछि शिक्षामन्त्रीसहित बसेर समस्या समाधान गर्ने आशा राखेका छौं।’ आंशिक प्राध्यापकको दाबीअनुसार त्रिविका ६० आंगिक र केन्द्रीय क्याम्पसका गरी १ हजार २ सयजति आंशिक शिक्षक छन्।
आंशिक शिक्षकहरूले ‘हालसम्म त्रिविअन्तर्गत आंगिक क्याम्पसहरूमा प्राध्यापनरत सम्पूर्ण आंशिक प्राध्यापकहरूलाई बिनासर्त तत्काल करार गरियोस् र आंशिक प्रथाको अन्त्य गरियोस्’ भन्ने एकबुँदे माग अघि सारेर अनशन थालेका हुन्। उक्त माग लिएर संघको टोलीले विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

‘त्रिविका स्थायी प्राध्यापकहरूले वर्षौं लामो बिदा लिँदा आंशिक शिक्षकबाट काम चलाउने तर हामीलाई पाउनुपर्ने समान ज्याला पनि नदिइने अवस्थाले आन्दोलनमा उत्रिनुपरेको हो,’ लुइँटेलले भने, ‘१२–१५ वर्षदेखि पढाउँदै आएकाहरूको उमेर हद नाघिसकेको छ। सेवा आयोग खुल्दैन। हामीले स्वत: स्थायी गर्न भनेका छैनौं। हामी सक्षम छौं, प्रतिस्पर्धा गर्न देऊ मात्र भनेका हौं। मासिक ज्यालादारीमा राख, शोषण नगर भन्दै आएका छौं।’ त्रिविको नियमानुसार दैनिक दुई पिरियड पढाउनेलाई पूर्णकालीन शिक्षक भनिन्छ। आन्दोलनरत शिक्षक आंशिक शिक्षक राख्ने चलनै हटाउनुपर्ने पक्षमा छन्।

त्रिविकी शिक्षाध्यक्ष प्रा. सुधा त्रिपाठीले कार्यकारी परिषद्ले चार महिनाअघि नै १ हजार ४ सय २० जनाको दरबन्दी पारित गरेर पदपूर्तिका लागि अगाडि बढाइएको भन्दै अनशनका माग त्रिविको काबुमा नरहेको बताइन्।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया