Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

साझाका अध्यक्षमाथि खनिए कर्मचारी

सोमबार, १६ साउन २०७४

काठमाडौं १६ साउन /साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थाका सबै काम पारदर्शी रहेको बताएका छन् । संस्थाका कर्मचारीले भने अध्यक्ष शर्माको नियत गलत रहेको दाबी गरेका छन् ।

साझामा भएका गलत कार्यबारे समाचार प्रकाशन भएपछि त्यस विषयमा स्पष्ट पार्न संस्थाले नै आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा अध्यक्ष शर्मामाथि कर्मचारी खनिए । शर्माले 'डुबिसकेको जहाजजस्तो अवस्थाको' साझालाई माथि उठाएको उल्लेख गर्दै ११ वर्षदेखिको लेखापरीक्षण गरी सबै हिसाबकिताब पारदर्शी राखेको बताए । 'आठ वर्षदेखि हुन नसकेको साधारणसभालाई चुनौतीबीच सम्पन्न गरें, ११ वर्षदेखि हुन नसकेको लेखापरीक्षण र चार वर्षदेखि नराखिएको लेखालाई दुरुस्त पारें', उनले भने, 'साझाको कामकारबाही नियमित गर्न खातामा रकम नभएको बेला म नेतृत्वमा आएँ र विभिन्न ठाउँबाट सवा करोड रकम ऋण लिएर पनि अस्तित्व बचाएँ । अख्तियारमा परेका विभिन्न उजुरीमा अहिले सफाइ पाएका छौं ।'

संस्थाका पूर्व तथा वर्तमान कर्मचारीले भने संस्थामा धेरै काम सही नभएको दाबी गर्दै अध्यक्ष तथा महाप्रबन्धकको नियत नै गलत भएको आरोप लगाए । पूर्वकर्मचारी तारा चालिसेले धेरै पुराना कर्मचारीलाई बाध्यतामा पारी अध्यक्ष शर्माले अवकाश दिन लगाएको आरोप लगाउँदै अहिले आसेपासेका ८६ जनालाई भर्ना गरेको बताइन्् । 'हामी भने पुरानो र सर्वाधिक गरिमा भएको संस्था बचाउन जागिर छोड्ने तर अरू नियमविपरीत हालिमुहाली गर्ने ? साझा कहाँबाट चलेको छ ? ', उनले प्रश्न गरिन् । संस्थाका सेयरधनी त्रिभुवनचन्द्र वाग्लेले ८६ जना कर्मचारीमा कुन सञ्चालकका कति परे भन्ने जवाफ माग्दै तुरुन्त छानबिन हुनुपर्ने धारणा व्यक्त गरे ।

कर्मचारी प्रभा रेग्मीले अध्यक्षको नियत खराब रहेको दाबी गर्दै सञ्चालक समितिले विदेश भ्रमणका साथै महाप्रबन्धक र सञ्चालक सदस्यको सुविधा बढाएको बताइन् । सात महिनाअघि स्वेच्छिक अवकाश लिएका हीराकाजी महर्जनले आफूसँगै ८० जनाले अवकाश लिएको सुनाउँदै असारभित्र दिन्छु भनेको सुविधा अझै नपाएको गुनासो गरे । उनीहरूले शर्माले आफ्नो प्रकाशनगृह अक्सफोर्डलाई अल्पाइन बनाएर प्रकाशनको जिम्मा दिएको दाबी गर्दै उनीहरूले 'सबैको नेपाली' विषयक कृति साझाभन्दा बाहिरबाट बढी बिक्री भएको बताएका थिए ।

अध्यक्ष शर्माले १ सय ३३ स्थायी, ४४ अस्थायी र करारलाई बिदा दिएको सुनाउँदै कर्मचारी व्यवस्थापन तथा सांगठनिक संरचनालाई समयानुकूल बनाउन ८६ जनालाई करार नियुक्त गरी १ सय ४४ कर्मचारी कार्यरत रहेको जानकारी गराएका थिए । 'संस्थाको मेरुदण्ड मानिने लेखापरीक्षणमा आर्थिक वर्ष २०६४÷६५ देखि २०७२÷७३ सम्मको काम हुँदै छ', उनले भने, 'यो भदौ मसान्तभित्र सार्वजनिक गर्दै छौं भने यसबीचको सबै आर्थिक गतिविधि पनि यथार्थ छानबिन हुँदै छ, त्यो पनि भदौभित्रै सार्वजनिक गर्दै छौं
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया