Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

वृद्ध कामीको उच्च शिक्षा अध्ययनको इच्छा

सोमबार, १६ साउन २०७४

काठमाडौं १६ साउन / सत्तरी वर्षमा एसईई परीक्षा उत्तीर्ण दुर्गे कामीलाई उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि उहाँले सरकारसँग गुहार माग्नुभएको छ ।  स्याङ्जा जिल्लाको फेदिखोला–३ का उहाँले गत २०७३ मा एसईई परीक्षा दिनुभएको थियो ।  उहाँले सोही विद्यालयबाट कक्षा तीनदेखि नियमित कक्षा लिई अध्ययन गर्दै आउनुभएको थियो ।

कालभैरव उच्च माध्यमिक विद्यालय स्याङ्जामा अध्ययन गरी उहाँले सिद्धार्थ स्याङ्जा परीक्षा केन्द्रबाट उक्त परीक्षा दिनुभएको थियो ।  उहाँले १.२ जीपीए ल्याएर एसईई उत्तीर्ण गर्नुभयो ।  
बुढेसकालमा पनि हिम्मत जुटाएर अध्ययन थाल्नुभएका दुर्गेको इच्छा थप अध्ययन गरी शिक्षक बन्ने रहेको छ ।  शिक्षाबिनाको मानिस साँच्चै नै अन्धो हुने बताउने उहाँले आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन अनुरोध गर्नुभयो ।

उहाँले परराष्ट्रमन्त्रीसँग भन्नुभयो, “मलाई ११÷१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिन आग्रह गर्दछु । ” उहाँले आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो सुनाउनुभयो ।  
जवाफमा परराष्ट्रमन्त्री महराले उहाँको शिक्षाप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्ने आश्वासन दिँदै अध्ययनका लागि आवश्यक पर्ने वातावरण मिलाउन पहल गर्ने बताउनुभयो ।  उहाँले एसइई परीक्षा उत्तीर्ण गर्नुभएकोमा बधाई दिँदै अध्ययनमा निरन्तर लाग्न प्रेरणा दिनुभयो ।

महराले ट्विटरमा लेख्नुभएको छ, “स्याङ्जाका ७० वर्षीय दुर्गे कामीको इच्छाशक्ति सुन्दा खुशी लाग्यो, उहाँको उच्च शिक्षा अध्ययन गर्ने इच्छा पूरा होस्, शुभकामना !” दुर्गे कामी चार छोरा र दुई छोरीका पिता तथा नौ जना नातिनातिनाका हजुरबुवा हुनुहुन्छ ।  उहाँकी श्रीमतीको भने १५ वर्षअघि निधन भइसकेको छ ।  उहाँका एक जना छोरा नरेन्द्र सुनार विक भने वैदेशिक रोजगारीको सिलसिलामा साउदीको जेलमा हुनुहुन्छ ।

परराष्ट्रमन्त्रीसँगको भेटमा कामीले आफ्नो छोरो साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि अनुरोध गर्नुभयो ।  उहाँले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा तीन वर्षदेखि जेलमा रहेको बताउनुभयो ।  उहाँले के कारण आफ्नो छोरो जेलमा परेको थाहा नभएको बताउनुभयो ।

परराष्ट्रमन्त्री महराले नरेद्रको वास्तविक अवस्थाका विषयमा जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया