काठमाडौं १८ साउन/अस्थायी र राहत कोटाका भरमा चलिरहेका मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन्। एकैसाथ ठूलो संख्यामा जोस–जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद् औंल्याउँछन्। तर त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफलतापूर्वक सम्पन्न हुनु अनिवार्य छ।
आयोगले वर्षौंदेखि अस्थायी रूपमा कार्यरत शिक्षकलाई स्थायी गराउन भदौ ३ मा आन्तरिक परीक्षा लिँदैछ। गत वर्ष संशोधित शिक्षा ऐनअनुसार ०४९ अघिदेखि ०७२ सम्म नियुक्ति लिएका २६ हजार अस्थायी शिक्षकको व्यवस्थापन गर्न यो परीक्षा लिन लागिएको हो। यसका लागि १९ हजार २ सय ६५ दरबन्दीमा विज्ञापन गरिएकामा १५ हजार ६ सय ९० ले परीक्षा दिँदैछन्। यीमध्ये करिब ९ हजार योग्य शिक्षक स्थायी हुनेछन्।
भदौ ३ को परीक्षालगत्तै आयोगले खुला प्रतिस्पर्धाका लागि विज्ञापन खुलाउनेछ। उक्त विज्ञापनबाट २१ हजारभन्दा बढी नयाँले स्थायी जागिरको अवसर पाउनेछन्। शिक्षक सेवा आयोग नियमावली संशोधन गरेर विज्ञापन खोल्ने आयोगले जनाएको छ। ०६१ देखि ०७२ सम्म कार्यरत अस्थायी पदको ५१ प्रतिशत र सुविधा लिएर घर जान चाहेका ९ हजारभन्दा बढी शिक्षकको कोटासहित २१ हजार हाराहारी नयाँले सामुदायिक विद्यालयमा प्रवेश पाउने आयोगका अध्यक्ष ताना गौतमले बताए। ऐनमा अस्थायी शिक्षकले परीक्षा वा सुविधा रोज्नुपर्ने व्यवस्था छ।
आयोगका अनुसार अस्थायीको परीक्षा सकिएपछि हुने विज्ञापनमा प्राविमा ११ हजार ३ सय ६८ दरबन्दीमा प्रतिस्पर्धा हुनेछ। निमाविमा २ हजार १ सय ३३ र माविमा १ हजार ३ सय ९६ दरबन्दीमा प्रतिस्पर्धा हुने अध्यक्ष गौतमले बताए। उनका अनुसार अस्थायीको आन्तरिक प्रतिस्पर्धाका तोकिएको कोटा १५ हजार ६ सय ९० मध्ये करिब ६ हजार कोटामा पनि खुला प्रतिस्पर्धा हुनेछ। ऐनअनुसार परीक्षा छाडेर घर जानेको संख्या ९ हजारभन्दा बढी छ। प्राथमिक तहमा मात्रै ०६१ अघि जागिरमा प्रवेश गरेका ७ हजार २ सय ४, निमाविमा एक हजार एक सय ९२ र माविका ८ सय ८८ जनाले सुविधा लिएर घर जान चाहेका छन्। यो दरबन्दीमा प्रतिस्पर्धाबाट छानिएका योग्य शिक्षक नियुक्त गर्न सकिन्छ। त्यस्तै, ०६१ देखि ०७२ सम्मको दरबन्दीमा ५१ प्रतिशत खुलाका लागि छुट्याउँदा प्राविमा ४ हजार १ सय ६४, निमाविमा ७ सय ५१ र माविमा ५ सय ८ जना छन्। खुलाको विज्ञापन गर्नेबित्तिकै ५ हजार ४ सय जना प्रतिस्पर्धाबाट योग्य शिक्षक छनोट हुन सक्छन्।
खुला र आन्तरिक गरी ३० हजारभन्दा बढी स्थायी शिक्षक सामुदायिक विद्यालय छिर्दा गुणस्तरमा कायापटल हुने शिक्षाविद् मनप्रसाद वाग्लेले बताए। ‘कक्षाकोठामा उत्साही र जागरिला युवा छिरेपछि विद्यालयको रूप फेर्न र गुणस्तर सुधार्न सहयोग पुग्नेछ,’ उनले भने। शिक्षक महासंघका महासचिव तिलक कुँवरले खुला प्रतिस्पर्धाबाट भर्खरै पढाइ सकेका जाँगरिला, आँटिला र जोसिला युवा प्रवेश हुँदा सामुदायिक विद्यालयको रूप नै बदल्न सकिने बताए। ‘अब प्रवेश गर्ने युवामा आईटीको ज्ञान हुन्छ। उनीहरू नयाँ शिक्षण तरिका आफैं खोजेर पढाउन सक्षम हुन्छन्,’ उनले भने।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया