Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

अस्थायी शिक्षकले आन्दोलन गर्ने

बुधबार, १८ साउन २०७४

काठमाडौं १८ साउन/ शिक्षक सेवा आयोगले थालेको अस्थायी शिक्षकलाई स्थायी गराउने प्रक्रियाको विरोध गर्दै अस्थायी शिक्षकहरूले भने बुधबारदेखि आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले शिक्षा ऐनमा व्यवस्था भएअनुसार परीक्षा वा सुविधा रोज्न अवसर दिँदा पनि ०६१ पछि नियुक्ति पाएका शिक्षकले दुवै अवसर दिनुपर्ने माग राखेर अनशन बस्ने घोषणा गरेका छन्। शिक्षामन्त्री गोपालमान श्रेष्ठले असार ९ मा ती शिक्षकहरूसँग दुवै सुविधा उपलब्ध गराउन एक वर्षअघि संशोधन भएको ऐन पुन: संशोधन गर्ने, परीक्षा सहज बनाउनेलगायत चारबुँदे सम्झौता गरेका थिए।

उक्त सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै अस्थायी शिक्षकहरू आन्दोलनमा छन्। उनीहरूले भदौ ३ मा तोकिएको परीक्षा सार्नुपर्ने माग गरेका छन्। शिक्षकहरूको छाता संगठन शिक्षक महासंघले भदौ ३ मै परीक्षा हुनुपर्ने निर्णय गरेको छ भने शिक्षा मन्त्रालय शिक्षक सेवा आयोगलाई दबाब दिइरहेको छ। लामो समयदेखि अस्थायी शिक्षकका रूपमा कार्यरत करिब १५ हजार शिक्षक परीक्षा दिने तयारी अवस्थामा रहेकाले जसरी पनि परीक्षा हुनुपर्ने महासचिव कुँवरले बताए। ‘शिक्षा मन्त्रालय कहिल्यै शिक्षक हकहितका पक्षमा रहेन। अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने व्यवस्था पनि बाध्यताले स्विकारेको हो। अझै रोक्न सकिन्छ कि भन्ने कसरतमा छ,’ कुँवरले भने, ‘मुलुक संघीयतामा गइसकेको अवस्थामा नयाँ शिक्षा ऐन संशोधन प्रक्रिया लम्बिने हुँदा अधिकांश शिक्षकले पेन्सन उमेर ६० वर्ष काटिसक्नेछन्। आन्दोलनरत शिक्षक साथीहरू पनि साँच्चै परीक्षाबाट स्थायी हुने हो भने तोकिएकै मितिमा परीक्षा हुनुपर्छ।’

भदौ ३ को परीक्षा सार्दा तयारीमा जुटेका १५ हजार शिक्षक आन्दोलनमा आउने महासंघको ठम्याइ छ। उक्त आन्दोलनमा अध्यापन अनुमति लिएका लाखौं युवाहरू पनि सामेल हुन सक्ने भएकाले प्राप्त उपलब्धि गुम्न दिनु नहुने कुँवरले बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।
 

प्रतिक्रिया