काठमाडौं २३ साउन /साझा प्रकाशनबाट प्रकाशित कक्षा ११ को ‘सबैको नेपाली’ पुरानो पुस्तकमा कभर परिवर्तन गरी मूल्य बढाएर बेचेको पाइएको छ । साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलीन्द्रप्रसाद शर्माले सेटिङ मिलाएर ०७२ सालको पुस्तकमा मूल्य बढाएर बेच्ने गरेको कर्मचारीले आरोप लगाएका छन् ।
पुरानो पुस्तकमा बढेको मूल्य राखेर आइतबार साझा प्रकाशनमा एक ट्रक पुस्तक भित्रिएपछि हंगामा भएको छ । कर्मचारीले अध्यक्ष शर्माले सेटिङ मिलाएर पुराना पुस्तकमा नया“ कभर राखेको र आफ्नै प्रेसबाट छाप्ने गरेको दाबी गरेका छन् । ०७२ सालका पुस्तकमा १० साउन ०७३ मा बढेको मूल्य राखेर प्रिन्ट भएको कर्मचारीको दाबी छ ।
पुस्तकका विषयमा पक्ष र विपक्षमा कर्मचारी बीचमै विवाद भएको थियो । शर्माले भर्खरै नियुक्त गरेका कर्मचारी उनका पक्षमा र पुराना कर्मचारी विपक्षमा लागेपछि झडप नै भएको थियो ।
कर्मचारी संघका अध्यक्ष हरिभद्र घिमिरेले आइतबार अनधिकृत रूपमा छापिएका पुस्तक भेटिएको बताए । उनले भने, ‘लुकाउनै नसक्ने गरी अनियमितता भेटिएको छ । ०७२ सालको संस्करणमा २ सय ९९ रुपैयाँ मूल्य राखेर आएको छ । ०७३ साउनमा मात्र पुस्तकको मूल्य २ सय ४५ बाट बढेर २ सय ९९ भएको थियो ।’
मेरो संलग्नता छैन ः अध्यक्ष शर्मा
शर्माले हरेक विषयमा कर्मचारीले आफ्नो नाम जोडेर खेद्ने गरेको तर्क गर्दै मूल्यवृद्धिसम्बन्धी फाइल नभेटिएको बताए । ०७२ सालको संस्करणमा २ सय ९९ मूल्य राखेर पुस्तक आएको स्वीकार गरे पनि उनले त्यो कसरी भयो भन्ने विषयमा खोजी भइरहेको बताए । उनले भने, ‘त्यसमा मेरो संलग्नता छैन ।’ साझाले ‘सबैको नेपाली’ पुस्तक छपाईका लागि तीनवटा निजी प्रेसलाई जिम्मा दिएको थियो ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया