काठमाडौं २४ साउन / प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा पहिरोका कारण घर जोखिममा परेपछि स्थानीयहरू विद्यालयमा आश्रय लिन पुगेका छन् । गत १७ असारमा स्थानीय १७ वर्षीया जयकली घर्तीको ज्यान लिने गरी घर भत्किएपछि त्रासमा स्थानीयहरू विद्यालयमा बसेका हुन् ।
रजवाराका विद्यालय, घर, झोलुंगे पुल, मिल, लद्यु जलविद्युत्मा समेत क्षति पुगेको छ । ‘तिखाचुली प्रावि आफैँ जोखिममा छ,’ स्थानीय तथा तिखाचुली प्राविका प्रअ भुवन घर्तीले भने, ‘जोखिमयुक्त ठाउँ भए पनि बाँचिन्छ कि भन्ने आशाले धेरै घरपरिवार विद्यालयमा बस्ने गरेका छन् ।’
कक्षा ३ सम्म अध्यापन हुने उक्त विद्यालयमा ७२ जना विद्यार्थी भर्ना भएका छन् । कोठा नपुगेपछि कार्यालय रहेको कोठामा समेत विद्यार्थी बस्न बाध्य छन् । पहिरोमा त्रासमा स्थानीय विद्यालयमा बस्न थालेपछि थप समस्या भएको छ । जोखिममै रहेको ज्ञानोदय निमावि लामिवगर पनि स्थानीयको आश्रयस्थल बन्न पुगेको छ । त्यस्तै, ने.रा. निमावि रजावारा नेटामा पनि स्थानीयहरू पानी परेको दिन १०–१५ घर परिवार विद्यालयमै बस्ने गरेका छन् । गत वर्ष पहिरोमा परी एकै परिवारका पाँचजनाको मृत्यु भएको थियो । यस वर्ष पनि एकजनाको मृत्यु भएपछि स्थानीय त्रासमा छन् ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया