Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

त्रिवि उपकुलपति खनियाँलाई बर्खास्त गर्न माग

सोमबार, ०५ भदौ २०७४

काठमाडौं ५ साउन / प्रा.डा.गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयले सम्झौताविपरीत गुपचुप तरिकाले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काल रद्द गर्न माग राखेका छन् । तत्काल रद्द नगरे पुन: सत्याग्रह थाल्ने चेतावनीसमेत उनले दिएका छन् । ‘सहमति, सम्झौता उल्लंघन गर्दै यसरी सम्बन्धन दिने हो भने म सत्याग्रहका लागि तम्तयार छु,’ डा. केसीले भने ।

आफूले उठाएका मागविपरीत सम्बन्धन दिइएको उनले बताए । ‘म जुन माग लिएर अनशन बसेको थिएँ, त्यही मागविपरीत काम गरियो, त्यो पनि गुप्त तरिकाले,’ डा. केसीले भने । बाढीपहिरो पीडितको उद्धार र राहतमा आफ्ना कारण गतिरोध नआओस् भनेर आफूले २३ औं दिन अनशन स्थगित गरेको तर त्यसको गलत फाइदा उठाइएको उनले बताए । ‘विपत्तिको सामना गर्न अवरोध नहोस् भनेर अनशन स्थगित गरेको थिएँ, त्यसको दुई/चार दिनमै यसरी सम्बन्धन दिने काम गरियो,’ उनले कान्तिपुरसँग भने ।

आफू ११ औं पटक सत्याग्रहमा बसेकै बेला त्रिवि कार्यकारी परिषद्का पदाधिकारीले चिकित्साशास्त्र अध्ययन संस्थानसँग खोसेर लिएको अधिकार दुरुपयोग गरेर राजधानीमा जालझेलपूर्वक मेडिकल कलेजलाई सम्बन्धन दिनुले आफूलाई स्तब्ध पारेको उनले बताए । ‘त्रिवि उपकुलपति तीर्थ खनियाँलाई तुरुन्त बर्खास्त गर्नुपर्छ, ११ औं अनशनमा पनि हामीले यो माग राखेका थियौं,’ केसीले भने, ‘जनहितविपरीत माफियाको स्वार्थमा चलखेल गर्नेलाई पदमा राखिराख्दा यस्तो दुरवस्था आएको हो ।’

पछिल्लो अनशनको मुख्य माग त्रिविले खोसेर लगेका अधिकार चिकित्साशास्त्र अध्ययन संस्थानलाई फिर्ता दिनुपर्ने थियो । चिकित्सा शिक्षा ऐन नआएसम्म नयाँ मेडिकल कलेज नखोल्नेजस्ता यसअघि थुप्रै पटक भएको सहमति विपरीत त्रिविले सम्बन्धन दिएको केसीले बताए ।

अतुल मिश्रले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया