काठमाडौं ७ भदौ / जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुले विद्यार्थीसँग चर्को शुल्क उठाउन थालेको रहस्य खुलेको छ । विद्यालयहरुले विद्यार्थीसँग शुल्क उठाउन नपाउने नियम भए पनि तनहुँका केही सामुदायिक विद्यालयहरुले आफु खुशी शुल्क उठाएको पाइएको हो ।
माध्यामिक शिक्षा परिषद (एसइइ) को चारित्रिक प्रमाणपत्र दिँदा विद्यार्थीहरुसँग ८ देखि १० हजार रुपैयाँसम्म उठाउने गरेको श्रोतहरुबाट खुल्न आएको छ । विद्यालयले यसरी चर्को शुल्क उठाइदिँदा विद्यार्थीहरु मर्कामा परेका छन् । विद्यालयले त्यसरी विद्यार्थीसँग मनोमानी ढुंगले चर्को शुल्क उठाउन थालेपछी सर्वत्र विरोध हुन थालेको छ । राज्यले विभिन्न शीर्षकमा बजेट विनियोजन गरि जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालयहरुलाई पठाउदै आएपनि विद्यालयहरुले विभिन्न बहानामा शुल्क उठाउनु गलत पवृत्ति भएको शिक्षाविद्को भनाइ छ ।
केही विद्यालयहरुले त्यसरी चर्को शुल्क उठाइरहेको गुनासो आएको र तनहुँको क्षेत्र नम्बर ३ को वडा नम्बर ९ स्थित तालवेशी मा विले त्यसरी नै मनोमानी ढंगबाट चर्को शुल्क लिएको जानकारी आएपछि फिर्ता गर्न लगाइएको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए । विद्यार्थीसँग विद्यालयले एसइइको चारित्रिक प्रमाणपत्र लिन आउँदा ५ हजार रुपैयाँसम्म उठाउने गरेको भेटिएको छ । ‘उक्त रकम सम्बन्धित ब्यक्तिलाई नै फिर्ता गर्न भनेको छु’ जिसिअ भण्डारीले भने ।
कुनै पनि बहानामा सामुदायिक विद्यालयले शुल्क लिएको पाइए कानुन बमोजिम कारबाही चलाउने र गलत काम गर्ने त्यस्ता विद्यालयहरुको अनुगमन गरी नियम बिपरित त्यस्तो गरेको पाइए कार्यालयले नछाड्ने उनले बताए । बिद्यालय निरीक्षकहरुको बैठक बस्दा श्रोत केन्द्रमा नै छलफल गराइ त्यस्ता खालका गतिविधि गर्ने बिद्यालयलाई नै हानी हुनुका साथै गलत प्रबृति हटाउन बिद्यालय निरीक्षक र श्रोत व्यक्तिलाई परिचालन गरी अनुगमन गर्ने जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया