Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

सम्बन्धन विधिसम्मत रहेको दाबी

विहीबार, १५ भदौ २०७४

काठमाडौं १५ भदौ / मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विधिसम्मत रूपमै निजी क्याम्पसहरूलाई सम्बन्धन दिएको बताएको छ ।

विश्वविद्यालयले विधिसम्मत रूपमै निजी क्याम्पसहरूलाई सम्बन्धन दिएको स्पष्ट पारेको हो । सम्बन्धनको विषयलाई लिएर विभिन्न टिप्पणी भइरहेका बेला विश्वविद्यालयले सम्बन्धन विधिविपरीत छ भन्ने मिथ्या हल्लामात्रै भएको दाबी गरेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७, संगठन तथा शैक्षिक प्रशासनिक नियमावली २०६९, प्राज्ञिक परिषद्को निर्णय, पाँचौ साधारणसभाको निर्णय, सम्बन्धनसम्बन्धी नीति २०७३ र कार्यविधि २०७४ अनुकूल नै सम्बन्धन दिइएको विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले बताए ।

“मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को परिच्छेद ७ दफा १९ र २० ले सम्बन्धन प्रदान गरी सञ्चालित हुन चाहने कुनै पनि क्याम्पसलाई सम्बन्धन प्रदान गर्न सकिने व्यवस्था छ,” पत्रकार भेटघाटमा उपकुलपति उपेन्द्रकुमार कोइरालाले भने, “यसका साथै संगठन तथा शैक्षिक प्रशासनिक नियमावली २०६९ मा पनि सम्बन्धन प्राप्त गर्ने सम्बन्धी व्यवस्था छ ।” सरकारको उच्च शिक्षा नीति २०७२ मा उच्च शिक्षाको विकासका लागि सार्वजनिक, सामुदायिक, निजी र साझेदारी कार्यलाई प्रोत्साहन गर्ने रहेकाले निजी क्याम्पसहरूलाई सम्बन्धन दिनु कुनै नीतिविपरित नभएको उपकुलपति कोइरालाको तर्क छ ।

व्यवस्थापन र इन्जिनियरिङ संकायतर्फको सम्बन्धनका लागि विश्वविद्यालयले गत जेठमा  सूचना प्रकाशित गरी सम्बन्धनको प्रक्रिया आरम्भ गरेको थियो । सम्बन्धन प्रक्रिया सुरु गरेदेखि नै विभिन्न विद्यार्थी संगठन, प्राध्यापक र राजनीतिक दल सम्बन्धन दिने र दिनु हुँदैन भन्ने पक्ष विपक्षमा थिए ।

कारोबारमा प्रकाशित खबर ।

प्रतिक्रिया