काठमाडौं १८ भदौ/ चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगन गर्ने निर्णय गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को शनिबार बसेको आकस्मिक बैठकले कलेजको सम्बन्धन हाललाई स्थगन गरेको हो । स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले काठमाडौं नेसनलको शिक्षण अस्पताल वैध नभएको भनी प्रतिवेदन दिएपछि त्रिविले सम्बन्धन स्थगन गर्ने निर्णय गरेको हो । गत साउन १२ को परिषद् बैठकले काठमाडौं नेसनललाई सम्बन्धन दिएको थियो । शनिबारै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तावित कलेजको शिक्षण अस्पताल पनि बन्द गराउने निर्णय गरेका छन् ।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उपकुलपति तीर्थ खनियाँलाई बोलाएर कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिँदै नभए तत्काल बर्खास्त गर्ने चेतावनी दिएपछि खनियाँले कार्यकारी परिषद्को आकस्मिक बैठक बोलाएका थिए । बैठकबाट उनले कलेजका सम्बन्धमा छानबिन गर्न समिति गठन गरी हाललाई कलेजको सम्बन्धन स्थगन गर्ने निर्णय गराएका हुन् । त्रिविले सञ्चार माध्यमबाट आएका टीकाटिप्पणीका सम्बन्धमा ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०’ बमोजिम भए/नभएको बारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको जनाएको छ ।
प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जानुअघि नै छानबिन समिति बनाएर खारेजीको प्रक्रिया अघि बढाउन निर्देशन दिए पनि कार्यान्वयन नभएको भन्दै खनियाँसँग आक्रोश व्यक्त गरेका थिए । खनियाँले भने सर्वोच्च अदालतको आदेशको अपव्याख्या गरी सम्बन्धनको निर्णयको प्रतिरक्षा गरेका थिए ।
कान्तिपुरमा मकर श्रेष्ठ र कृष्ण ज्ञवालीले संयुक्त रुपमा लेखेको खबर ।
प्रतिक्रिया