काठमाडौं १८ भदौ /अनौपचारिक शिक्षा केन्द्र सानोठिमी, भक्तपुरले ७५ जिल्लालाई पूर्णसाक्षर बनाउने घोषणा गरे पनि अधुरो भएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले हालसम्म ३८ जिल्ला मात्रै पूर्णसाक्षर जिल्ला घोषणा भएको बताए । जिल्लामा ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्णसाक्षर जिल्ला घोषणा हुने प्रावधान छ । अझै ३७ जिल्ला पूर्णसाक्षर घोषणा हुन बाँकी छ ।
‘निर्वाचन आचारसंहिता लागू भएका कारण पूर्णसाक्षर घोषणा हुन तयारी अवस्थामा रहेका खोटाङ, डडेलधुरा, पर्वत, म्याग्दी, संखुवासभा, सुनसरी र तेह्रथुम जिल्ला घोषणा हुन सकेका छैनन्,’ निर्देशक पौडेलले भने । निर्वाचन सकिएपछि यस वर्ष सबै बाँकी जिल्लालाई पूर्णसाक्षर घोषणा गरिने उनले बताए ।
यसैबीच, केन्द्रले यस वर्ष साताव्यापी रूपमा ३८औं राष्ट्रिय शिक्षा दिवस र ५१औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने भएको छ । पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले आइतबारदेखि दिवस मनाइने उल्लेख गरे । केन्द्रले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित राष्ट्रिय शिक्षा दिवस र प्रविधि युगसापेक्ष साक्षरता भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन लागेको हो ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया