Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

विश्वविद्यालयका गतिविधि ठप्प

मंगलबार, २० भदौ २०७४

काठमाडौं २० भदौ / स्थापनाकालदेखि नै विद्यार्थी र प्राध्यापकका छुट्टाछुट्टै आन्दोलन र तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ । कहिले प्राध्यापकहरूको आन्दोलन त कहिले विद्यार्थीको तालाबन्दीले यहाँको पठनपाठन ठप्प भएको हो । यसले भौतिक संरचना विस्तारलगायत कार्यक्रम पनि रोकिएका छन् ।

७ महिनाअघि इन्जिनियरिङ विभागका विद्यार्थीले कक्षाकोठा, प्रयोगशाला र विषयगत प्राध्यापकको माग राख्दै ताला लगाए । ताला लगाएको करिब १ सातासम्म मागको सुनवाइ नभएपछि उनीहरू रिले अनशनमै बसे । एकातिर अनशन त अर्कातिर उपकुलपति र रजिस्ट्रारको पुत्ला जलाउनेदेखि विभिन्न आन्दोलनहरू चलिरहे । विश्वविद्यालयको कामकाज ३ सातासम्म ठप्प भयो । 

यसपटक पनि विभिन्न माग राख्दै नेविसंघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा साउन २४ देखि तालाबन्दी गरेको छ । उक्त तालाबन्दीले दैनिक प्रशासनिक काम ठप्प भएको छ । प्रक्रिया नपुर्‍याईकन कर्मचारी भर्ना गरेको भन्दै उक्त कार्य सच्याइनुपर्ने, विश्वविद्यालय ऐन पूर्ण गराउन पहल गरिनुपर्ने, वरिष्ठता र योग्यताका आधारमा पदाधिकारी नियुक्त गरिनुपर्ने र दोहोरो प्राध्यापन बन्द गरिनुपर्ने लगायत ९ बुँदे मागहरू राख्दै तालाबन्दी गरिएको हो ।

ताला खुलाउने विषयमा हालसम्म कुनै पहल नभएको नेविसंघका विश्वविद्यालय संयोजक कैलाश चन्दले बताए । ‘उपकुलपति र रजिस्ट्रारले हाम्रा मागका सम्बन्धमा कुनै पहल गरेका छैनन्,’ उनले भने, ‘अहिलेसम्म छलफलसमेत गरिएको छैन ।’ उपकुलपति र रजिस्ट्रार प्राय: काठमाडांैमै बस्ने र  समस्या परेका बेलासमेत सम्पर्कमा नआउने गरेको विद्यार्थीको आरोप छ । बेला–बेला हुने आन्दोलन तथा तालाबन्दीका विषयमा समेत उनीहरू जिम्मेवार नहुने गरेको विद्यार्थीको दाबी छ ।

उपकुलपति भूषण श्रेष्ठ भने आफूले ताला खुलाउने विषयमा सक्दो पहल गरेको र विद्यार्थीहरूको अडानका कारण नसकिएको बताउँछिन् । ‘पहिले माग पूरा हुनुपर्‍यो त्यसपछि मात्रै ताला खोल्छौं भन्छन्,’ उनले भनिन्, ‘कर्मचारी भर्ना गर्ने, पदाधिकारी नियुक्त गर्ने सबै ऐनमा व्यवस्था छ, त्यसबाहेक कोही पनि बाहिर जान सक्दैन, अब विद्यार्थीले भनेअनुसार कसरी कर्मचारी भर्ना गर्नु ?’ उनले महिनादिनदेखि लागेको तालाकै कारण निवास र कार्यालयबाहिर बसेर काम गर्नुपरेको बताइन् ।

जहिल्यै तालाबन्दी

यहाँका बासिन्दाको लामो प्रयासपछि स्थापना भएको विश्वविद्यालय यतिबेला तालाबन्दीको मारमा परेको छ । सामान्यदेखि राजनीतिक समस्याका लागि पनि विद्यार्थी संगठनले ताला लगाउँदा पठनपाठनसँगै विश्वविद्यालयको अन्य कामकाज प्रभावित हुने गरेको छ ।

२०६७ मा स्थापना भएको विश्वविद्यालयमा हालसम्म पटक–पटक गरी दुई/अढाई सय दिनभन्दा बढी समय ताला लागेको कर्मचारी बताउँछन् । कर्मचारी भर्ना, विद्यार्थी भर्ना, टेन्डर आह्वानदेखि प्राध्यापक भर्नाका विषयमा ताला लाग्ने गरेको छ । ‘यहाँ जहिल्यै पनि तालाकै कारण काम प्रभावित हुन थालेको छ,’ उपकुलपति श्रेष्ठले भनिन्, ‘मंसिरमा दीक्षान्तसभाको तयारी चलिरहेको छ तर एक महिनादेखिको तालाकै कारण तयारी गर्न सकिएको छैन ।’

यस वर्ष स्नातक र स्नातकोत्तरका १/१ ब्याचका विद्यार्थी पासआउट भएका छन् तर हालसम्म शैक्षिक क्यालेन्डरसमेत बनेको छैन । देशभरिमै पहिलोपटक सेमेस्टर प्रणालीमा पढाइ सुरु गरे पनि विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आंगिक क्याम्पसमा भर्ना हुनेभन्दा कम विद्यार्थी छन् । पटक–पटक हुने आन्दोलन तथा पढाइको स्तर खस्कँदै गएका कारण यहाँका विद्यार्थीसमेत अन्यत्र जान थालेका हुन् ।

कान्तिपुरमा भवानी भट्टलले कञ्चनपुरबाट लेखेको खबर ।

प्रतिक्रिया