Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

पाठ्यपुस्तकमा गम्भीर त्रुटि : शहीदको सूचीमा मन्त्रीको तस्बिर !

मंगलबार, २० भदौ २०७४

काठमाडौं २० भदौ - कक्षा ३ मा पढाइने सामान्य ज्ञानको किताबमा शहीदको सूचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्बिर हुनुपर्नेमा वर्तमान न्याय, कानुन तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्बिर राखिएको छ । काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को मास्टरमाइन्ड जेनरल नलेज एन्ड आईक्यू टेस्ट (सामान्य ज्ञान) किताबको पृष्ठ ११ मा मन्त्री थापाको नाम र तस्बिर राखिएको छ । किताबको अभ्यास नम्बर १० मा ‘हाम्रा शहीदहरू’ शीर्षकमा विभिन्न शहीदको तस्बिर राखेर विद्यार्थीलाई चिनेर नाम लेख्न भनिएको छ ।

सूचीको ९ नम्बरमा मन्त्री थापाको ढाका टोपी र गलबन्दी लगाइएको तस्बिर छ । पानाको अन्तिममा उत्तरस्वरूप शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, लखन थापा, रामनाथ दाहाल, थीर बम मल्ल, भीमदत्त पन्त र यज्ञबहादुर थापाको नाम राखिएको छ । ओखलढुंगाका शहीद क्याप्टेन यज्ञबहादुर थापाको नाम र तस्बिर राख्न खोजिएको भए पनि प्रकाशकको असावधानीका कारण कास्की गृहजिल्ला भएका मन्त्री थापाको नाम र तस्बिर पुस्तकमा समावेश भएको हो । किताबका लेखक सुरेशचन्द्र राई र एकराज कटवाल हुन् । किताबको संशोधन मेघविलास भट्ट र होमनाथ आचार्यले गरेका छन् ।

गुरुकुल विद्याश्रममा कक्षा ३ मा आफ्ना छोरा पढाइरहेका प्रकाश बाँस्तोलाले उक्त गल्ती विद्यालयलाई बताउँदा पनि वास्ता नगरेको बताए । प्रालिका प्रबन्ध निर्देशक शान्त गौतमले शहीद क्याप्टेन यज्ञबहादुर थापाकै भनेर उक्त तस्बिर राखिएको बताए । उनले भने, ‘हामीले अनलाइनबाट खोजेर विगतदेखि नै त्यही फोटो राख्दै आएका छौं ।’  मन्त्री थापाले उक्त किताबबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘म जिउँदै छु, कसरी शहीद हुन सक्छु र ?’ उनले प्रश्न गरे । उनले उक्त गल्ती गम्भीर भएको भन्दै यसबारे बुझेर प्रकाशकसँग आपत्ति प्रकट गर्ने बताए ।

ओखलढुंगाका क्याप्टेन यज्ञबहादुर थापा २०३१ पुस १ मा भएको टिम्बुरबोटे काण्डमा मारिने १३ स्वतन्त्र सेनानीमध्येका कमान्डर थिए । तत्कालीन कांग्रेसको राजनीतिमा सक्रिय क्या. थापा पञ्चायतको विरोध गर्दा मारिएका थिए । घटनाको ४१ वर्षपछि उनलाई ०७२ फागुन १९ मा सरकारले शहीद घोषणा गरेको थियो ।

कान्तिपुरमा  दीपक परियारले लेखेका छन् ।

प्रतिक्रिया