काठमाडौं २१ भदौ / २ असोजमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन रौतहटका शिक्षकले धमाधम सरकारी जागिर त्याग्न थालेका छन् । अहिलेसम्म रौतहटका ९ जनाले सरकारी जागिर त्यागिसकेका छन् ।
स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न रौतहटका ९ जना भन्दा बढी शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ । शिक्षकहरूको राजीनामा आउने क्रम जारी रहेको जिल्ला शिक्षा कार्यालय रौतहटका प्रशासन फाटका प्रमुख उपेन्द्र सिंहले बताए । सोमबार मात्रै दुई जना शिक्षकले राजीनामा दिएका छन् ।
गरुडाका एक शिक्षकले गरुडा नगरपालिकाको नगर प्रमुखमा टिकट पाएपछि राजीनामा दिएका छन् । प्रावि बलुवामा अध्यापन गराउने शिक्षक मो. कलिमुल्ललाहलाई नेकपा एमालले टिकट दिएको हो । आफूलाई पार्टीले र जनताले चाहेको कारणले गर्दा पनि जागिर त्यागेर निर्वाचनमा होमिएको कलिमुल्लाहले बताए । जनमत राम्रो भएको कारणले पनि आफूले गरुडा नगरमा चुनाव जितेर नै देखाउने दाबी गरे ।
यस्तै श्री जनता सत्यनारायण मावि वसतपुरका शिक्षक धीरेन्द्रकुमार सिंह पनि शिक्षकबाट राजीनामा दिएर राजदेवी नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने तयारीमा छन् । प्रावि तहका शिक्षक सिंहलाई कांग्रेसले राजदेवी नगरपालिकाको नगर प्रमुखका रूपमा उठाउने निर्णय गरेपछि शिक्षणबाट राजीनामा दिएका हुन् ।
स्थानीय अभिभावकहरूको आग्रहले नै शिक्षकबाट राजीनामा दिएर नगर प्रमुखको पदमा उम्मेदवारी दिने निर्णय गरेको सिंहले बताए । यस्तै राष्ट्रिय जनता पार्टीले वडा अध्यक्षको टिकट दिने भएपछि शिक्षकबाट राजीनामा दिएका अर्का शिक्षक राजेशकुमार सिंहले बताए ।
गौरको रत्न कन्या माविका प्रावि तहका शिक्षक सिंहले निर्वाचनमा भाग लिएर सामाजिक काम गर्ने बताए । सिंहलाई राजपाले गौर नगरपालिकाको वडा अध्यक्षमा टिकट दिने भएको हो । निर्वाचनमा भाग लिन शिक्षकबाट राजीनामा दिनेहरूमा शिवशंकरप्रसाद यादव, मो. महताव आलम, रामचन्द्र गिरी, देवेन्द्रप्रसाद यादव, शिव दयालराय यादव, मो. सकिल अख्तरलगायत छन् । केही शिक्षकको उम्मेदवार टुंगो लागेको भए पनि अझै शिक्षकबाट राजीनामा दिएका छैनन् ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया