Edukhabar
मंगलबार, १० भदौ २०८२
अन्तैवाट

सस्तोमा उत्कृष्ट पढाइ

शुक्रबार, २३ भदौ २०७४

काठमाडौं २३ भदौ / बेनीघाट रोराङ गाउँपालिकाका अभिषेक कँडेलले पुलचोक इन्जिनियरिङ कलेजमा यस वर्ष आर्किटेक्चरल इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाए । कक्षा १२ मा विज्ञानमा ७८ प्रतिशत अंक ल्याएकाले उनले यो अवसर पाए । यो नतिजा कुनै निजी विद्यालय पढेर ल्याएका होइनन् ।

अभिषेकले आफ्नै बुबा प्रधानाध्यापक भएको त्रिपुरेश्वरको विश्वनिकेतन माविमा पढेका हुन् । उनले कक्षा ११ मा ८० प्रतिशत अंक ल्याएका थिए । १२ कक्षामा ७६ प्रतिशत ल्याए । सामुदायिक विद्यालयमै पढेर पुलचोक इन्जिनियरिङ कलेजको छात्रवृत्तिको पहिलो लिस्टमै उनले नाम निकाल्न सके ।

उक्त माविबाट गत वर्ष विज्ञान समूहमा १ सय २४ जनाले परीक्षा दिएकामा १ सय २२ जना अर्थात् ९८.३८ प्रतिशत विद्यार्थी पास भए । व्यवस्थापन समूहमा पनि ७० प्रतिशत विद्यार्थी पास भए । मानविकी र शिक्षामा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भए, सिल्ड, ध्वजा, प्रमाणपत्र प्राप्त गर्नेछ ।

विश्वनिकेतनको यो सफलतामा शिक्षकहरूको मेहनत उत्तिकै छ । विद्यालयमा शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि नियमित कक्षा हुन्छ । कक्षा ११ र १२ पढाउन सरकारले यहाँ तीन शिक्षकका लागि मात्रै तलब दिने गरेको छ । अन्य शिक्षकका लागि तलबभत्ता विश्वनिकेतनले विद्यार्थी शुल्कबाट व्यवस्थापन गर्दै आइरहेको छ । ‘हामीकहाँ त्रिविका विज्ञ शिक्षकहरूले पढाउनुहुन्छ,’ प्रधानाध्यापक कँडेलले भने, ‘कमजोर विद्यार्थीलाई उपचारात्मक विधिबाट पढाउने गरेका छौं । पढाइ सुरु भएको एक महिनापछि कुन विद्यार्थीको पढाइ कस्तो छ, थाहा भइहाल्छ । दोस्रो महिनादेखि नै कमजोर विद्यार्थीका लागि एक्स्ट्रा कक्षा चलाउने गर्छौं ।’

एक्स्ट्रा कक्षा लिएबापत विद्यार्थीले मासिक न्यून तिर्नुपर्ने हुन्छ । मासिक शुल्क पनि महँगो छैन । प्रधानाध्यापक कँडेलका अनुसार विज्ञान समूह अध्ययन गर्नेले भर्ना शुल्क १३ हजार र मासिक २ हजार तिरे पुग्छ । त्यस्तै व्यवस्थापनमा भर्ना ९ हजार र मासिक शुल्क ९ सय, मानविकी र शिक्षामा भर्ना शुल्क ८ हजार र मासिक शुल्क ७ सय रुपैयाँ मात्रै तिरे पुग्छ ।

विद्यालयले विद्यार्थीको सिकाइ स्तर सुधार गर्न अनेक उपाय अपनाएको छ । अन्तिम परीक्षाको एक साताअघिसम्म कक्षा चलाउने गरेको छ । ‘रिभिजन गराउँछौं, प्रश्न बैंक हल गराउँछौं,’ कँडेलले भने, ‘प्रविधिको भरपूर प्रयोग गर्ने गरेका छौं । स्मार्टबोर्डबाट पठनपाठन गराउँछौं । विषयगत प्रयोगशाला छ ।’

विद्यार्थी र शिक्षकको निगरानी गर्न कक्षाकोठामा सीसी क्यामरा जडान गरिएका छन् । कक्षाकोठामा के भइरहेको छ, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र अनुशासन इन्चार्जले मोबाइलबाटै हेर्न सकिने व्यवस्था छ । ‘म घरमै बसेर विद्यालयको गतिविधि नियाल्न सक्छु,’ कँडेलले भने ।

विद्यालयको नतिजा राम्रो हुनुमा उनी शिक्षकको ‘टिमवर्क’ लाई जस दिन्छन् । विद्यालयमा शिक्षक नभएकै कारण कुनै पनि कक्षा खाली हुँदैन । हरेक शिक्षकले बिदा बस्नुअघि बिदा स्वीकृत गराउनुपर्ने हुन्छ । शिक्षक नभएमा कोर्ससँग सम्बन्धित ‘भिजुअल’ (नाटक, फिल्म) देखाउने गरेको उनले बताए ।

उनका अनुसार सैद्धान्तिकभन्दा पनि व्यावहारिक सिकाइमा जोड दिने गरिएको छ । व्यवस्थापनका विद्यार्थीलाई भर्ना अभियानमा मार्केटिङ गर्न पठाउने गरिएको छ । विद्यार्थीलाई अनुशासनमा कडाइ गरिएको छ । मोबाइल प्रतिबन्ध छ । छात्राले लिपिस्टिक र नङपालिस लगाउन पाउँदैनन् । छात्रले अनिवार्य रूपमा आर्मी कट कपाल काट्नैपर्ने हुन्छ । शिक्षकका छोराछोरी विद्यालयमै पढाएको कारण नतिजा राम्रो भएको उनले बताए । विद्यालयमा अध्ययन गराउने शिक्षकका छोराछोरीले यहीँ पढाएर एमबीबीएस, इन्जिनियरिङ र अन्य विषयमा छात्रवृत्ति पाएका छन् ।

प्रधानाध्यापक कँडेलकी छोरी अनुराधा कँडेलले पनि यहीँबाट १२ कक्षा सकेकी थिइन् । गतवर्ष बीएससी एमएलटी पहिलो वर्षमा उनले त्रिवि टप गरिन् । यही विद्यालयमा अध्ययन गरेका मनोहर थापाले गत वर्ष १२ कक्षामा व्यवस्थापनतर्फ ८७ प्रतिशत ल्याए । उनी मीनभवन क्याम्पसमा बीबीए पढिरहेका छन् ।

विश्वनिकेतनमा विद्यार्थीचाप निकै छ । कक्षा ११ मा ६ सय ४७ जना भर्ना भएका छन् । १२ कक्षामा ५ सय ९६ जना अध्ययनरत छन् । व्यवस्थापनमा सात सेक्सन र विज्ञानमा चार सेक्सन छुट्याएर पढाइरहेको प्रधानाध्यापक कँडेलले बताए । विज्ञानमा कमजोर विद्यार्थीलाई उपचारात्मक विधिबाट पढाएजस्तै व्यस्थापनमा पनि अर्थशास्त्र, अंग्रेजी र लेखा विषयमा एक्स्ट्रा कक्षा चलाउने गरिएको छ । मानविकी र शिक्षामा अंग्रेजीका विशेष कक्षा चलाउने गरेको उनले बताए ।

विद्यालयमा १२ कक्षासम्म २ हजार ३ सय ३५ विद्यार्थी छन् । ९ कक्षासम्म मात्रै यस वर्ष २ सय ९४ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

मकर श्रेष्ठले कान्तिपुरका लेखेको खबर ।

प्रतिक्रिया