काठमाडौं २३ भदौ / माध्यमिक तहको विद्यालयमा आधारभूत तहमा कार्यरत शिक्षक प्रधानाध्यापक बन्दा उत्पन्न समस्या अब तराई क्षेत्रका धेरै सामुदायिक विद्यालयबाट हट्ने भएको छ ।
धनुषा जिल्लामा विद्यार्थी शिक्षकको अनुपातका आधारमा माध्यमिक तहका शिक्षकको दरबन्दी मिलान गरिएपछि सबै विद्यालयले माध्यमिक तहको शिक्षक नै प्रधानाध्यापक पाएबाट यसखाले अवस्था आउने भएको हो । तराईका आठ जिल्लामध्ये धनुषामा पहिलोपटक माध्यमिक तहको दरबन्दी मिलान गरिएसँगै सबै माध्यमिक विद्यालयले मावि शिक्षकको दरबन्दी पाएका छन् भने मावि शिक्षक नै विद्यालयको नेतृत्व लिने अवस्थाको समेत सिर्जना भएको छ । धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले लामो प्रयासपछि जिल्लामा माध्यमिक तहका शिक्षकको दरबन्दी मिलान गरी विद्यार्थीको अनुपातका आधारमा शिक्षकलाई खटाइएको जानकारी दिनुभयो । यसक्रममा जिल्लाका ४० वटा माध्यमिक विद्यालयमा यसै महिना मात्रै माध्यमिक तहको शिक्षकलाई प्रधान अध्यापकको जिम्मेवारी दिएर खटाइएको छ ।
शिक्षा ऐनको प्रावधानअनुसार तराईमा ५० जना विद्यार्थी बराबर एक जना माध्यमिक तहको शिक्षक रहने प्रावधान छ ।
दरबन्दी मिलानका क्रममा विद्यार्थी सङ्ख्या न्यून रहेको विद्यालयबाट धेरै विद्यार्थी सङ्ख्या रहेको तर माध्यमिक शिक्षक कार्यरत नरहेको स्थानमा शिक्षकको दरबन्दी समायोजन गरिएको छ । जिशिकाअनुसार जिल्लाको सरस्वती माध्यमिक विद्यालय जनकपुरमा मावि तहका २० वटा दरबन्दी रहेकामा विद्यार्थी सङ्ख्याका आधारमा आठवटा दरबन्दी कट्टा गरी अन्यत्रका माविमा पठाइएको छ । एउटै विद्यालयबाट आठवटा दरबन्दी कटाएर अन्य विद्यालयमा पठाउँदा नयाँ आठवटा माध्यमिक विद्यालयले स्थायी मावि शिक्षकका साथै प्रअ समेत पाउने अवस्था बनेको हो । जिल्लामा ८७ वटा माध्यमिक विद्यालय छन् र झण्डै तीन सय माध्यमिक शिक्षक कार्यरत छन् ।
नेपाल शिक्षक महासङ्घ धनुषाका जिल्ला अध्यक्ष महेन्द्र महतो १५ वर्षदेखि एउटा पनि मावि तहको दरबन्दी नपाएका जिल्लाका माध्यमिक विद्यालयलाई यस निर्णयले राहत प्रदान गरेको बताउनुहुन्छ । सहरी क्षेत्रका सामुदायिक विद्यालयमा शिक्षक धेरै हुने तर विद्यार्थीको न्यून तर ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै हुने तर शिक्षक न्यून हुने समस्यालाई स्थायीरूपमा समाधान सबै तहका शिक्षकको दरबन्दी मिलान गर्नुपर्ने उहाँको भनाइ छ । हाल जिल्लामा निमावि तहमा २३७ र प्रावि तहमा एक हजार २९३ जना शिक्षक कार्यरत रहेका छन् ।
सिराहाका जिशिअ महेन्द्र महतोले धनुषामा मावि शिक्षकको दरबन्दी मिलान सम्भव भएबाट अब यसलाई आफूले सिराहामा समेत समस्या समाधान गर्न प्रयास गर्ने बताउनुभयो । दरबन्दी मिलानसँगै विद्यालयमा विषयगत आधारमा कक्षा कोठामा पठनपाठन हुँदा विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि हुन्छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला गुुणस्तर तथा शिक्षकको दरबन्दी मिलान कार्यमा स्थानीय तहकै जिम्मा भएकोले अब सोही अनुसार अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुहुन्छ । शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले स्थानीय तहमा शिक्षाका सबै अधिकार जानुभन्दा पहिले नै विद्यार्थी–शिक्षक अनुपातका आधारमा शिक्षक दरबन्दी मिलाउन जिशिअलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
गोरखापत्रमा शेषकान्त पण्डितले लेखेका छन् ।
प्रतिक्रिया