काठमाडौं २३ भदौ / शिक्षा मन्त्रालयले शिक्षा दिवसको अवसरमा शुक्रबार विद्यालयलाई प्रदान गर्न लागेको पुरस्कार वितरण स्थगित गरेको छ । उच्च अदालत पाटनको बुधबार विद्यालयलाई पुरस्कृत गर्ने कार्य नगरी यथास्थितिमा राख्नू भन्ने आदेशअनुसार मन्त्रालयले विद्यालय पुरस्कृत गर्ने कार्यक्रम स्थगित गरेको हो । ‘अदालतको अन्तिम फैसलापश्चात् स्थगन गरिएको कार्यक्रम अर्को सूचना प्रकाशित गरी सञ्चालन गरिने सबैका लागि अनुरोध छ,’ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले शिक्षा दिवसमा राष्ट्रिय, प्रादेशिक र उत्कृष्ट माध्यमिक विद्यालयलाई नगदसहित पुरस्कृत गर्ने कार्यक्रम थियो । ललितपुरको प्रसादी एकाडेमीले छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै रिट दायर गरेको थियो । रिटको सुनुवाइ गर्दै अदालतले विद्यालय पुरस्कृत गर्ने कार्य नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो । मन्त्रालयले निजी विद्यालयतर्फ कक्षा १२ को नतिजाका आधारमा बागबजारको काठमाडौं मोडेल माध्यमिक विद्यालयलाई उत्कृष्ट छनोट गरेको थियो । छनोटको आधार गलत हुँदा आफ्नो विद्यालय पुरस्कृत हुनबाट वञ्चित भएको भन्दै प्रसादी असन्तुष्ट हँुदै अदालत गएको हो ।
कान्तिपुरमा प्रकाशित खबर
प्रतिक्रिया