Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

व्यवस्थापन समितिबिना विद्यालय सञ्चालन

मंगलबार, २७ भदौ २०७४

काठमाडौं २७ भदौ / विद्यालय व्यवस्थापन समिति गठन नै नगरी विद्यालय सञ्चालन गर्ने क्रम तराईका सार्वजनिक विद्यालयमा अझै रोकिएको छैन ।

समिति गठनमा स्थानीय अभिभावकले चासो नलिने, प्रधानाध्यापक स्वतन्त्र ढङ्गले चल्न चाहने र जिल्ला शिक्षा कार्यालयले पनि आवश्यक निगरानी गर्न नसक्दा धनुषाका आधाभन्दा बढी विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति नै गठन हुन सकेको छैन ।

जिल्लामा २१७ प्रावि, ६२ वटा निमावि र ८७ वटा माध्यमिक विद्यालय छन् । यसबाहेक जिल्लामा उच्च मावि, मदरसा र प्राविधिक विद्यालयसमेत सञ्चालनमा छन् । तर ती विद्यालयसमेत व्यवस्थापन समितिविहीन छन् ।
धनुषाको फुलगामास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पाँच वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन गरिएको छैन । विद्यालयका प्रधानाध्यापक रामनारायण पंजिकारका अनुसार पाँच वर्षअघि विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हुकमलाल राउतको निधन भएपछि नयाँ व्यवस्थापन समिति गठन नै गरिएको छैन ।

प्रअ पंजिकार भन्नुहुन्छ, ‘व्यवस्थापन समिति गठनमा जिशिकाले तोकेता गरेको छैन, अभिभावकले चासो राख्दैनन्, के गर्ने त विद्यालय चलाउनै प¥यो, मैलै चलाएको छु । ’ यो विद्यालय एउटा उदाहरण मात्र हो । जिल्लाकै राष्ट्रिय निमावि देवीडाँडामा मात्र होइन सहरी क्षेत्रकै सरस्वती मावि जनकपुरमा समेत व्यवस्थापन समिति छैन ।

झण्डै एक वर्षअघि शिक्षा नियमावलीमा संशोधनपछि शिक्षा विभागले सबै विद्यालयमा नयाँ प्रावधानअनुसारको व्यवस्थापन समिति गठन गर्न निर्देश गरेको थियो । तर सो कार्यसमेत हुन सकेन । जिल्लाका अधिकारीहरू नै यस क्षेत्रमा काम गर्न नसकेको कुरा स्वीकार गर्छन् ।

‘जिल्लाका धेरै सामुदायिक विद्यालयमा व्यवस्थापन समिति छैन, विद्यालयका प्रधानाध्यापक पनि आफू खुशी विद्यालय सञ्चालन गर्न चाहन्छन् यो अवस्थामा सुधार ल्याउन निकै मिहनेत गर्नुपर्ने अवस्था छ’ धनुषाका उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादव भन्नुहुन्छ ।

अब छिट्टै नै विद्यालयमा व्यवस्थापन समितिको गठन गर्न लगाउनुपर्ने अवस्था रहेको चर्चा गर्दै उहाँले यस विषयमा जिल्ला शिक्षा कार्यालयले खासै काम गर्न नसकेको बताउनुभयो । सामुदायिक विद्यालयका अभिभावक जागरुक नभएका कारण पनि विद्यालय व्यवस्थापन समिति गठन कार्यले गति लिन नसकेको उहाँको भनाइ छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, धनुषाका अध्यक्ष तथा आदर्श राष्ट्रिय मावि लालगढका प्रधानाध्यापक हरि काफ्ले शिक्षा कार्यालयले ताकेता गर्न नसकेको र प्रधानाध्यापकले आफू अनुकूलको व्यवस्थापन समिति खोज्ने प्रवृत्ति बढेका कारण नै व्यवस्थापन समिति गठन नहुने मुख्य कारण रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति गठनमा अनावश्यक राजनीतिक हस्तक्षेपका साथै मुठभेड हुने त्रासका कारण पनि व्यवस्थापन समिति गठनमा प्रधानाध्यापक पछि हट्ने गरेको उहाँले स्पष्ट गर्नुभयो ।
धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले सार्वजनिक विद्यालयको सुधारका लागि धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । जिल्लाका धेरै फर्जी विद्यालय त खारेज गरियो तर विद्यालय व्यवस्थापन समिति गठनमा धेरै काम हुन नसकेको उहाँले बताउनुभयो ।

यसैबीच, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सार्वजनिक विद्यालयको अवस्थामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया